निर्वाचन आचारसंहिता

लोकतन्त्रको सौन्दर्य : नेतालाई जे गरे नि छुट

लोकतन्त्रको सौन्दर्य : नेतालाई जे गरे नि छुट

काठमाडौं : मङ्सिर ४ को चुनावमा मतदान गर्ने दिन आउन ३२ दिन मात्रै बाँकी छ। चुनावमा उम्मेदवार बनेकाहरूले मतदातालाई घाटीसम्म आउने गरी आश्वासनको पोको सुनाइरहेका छन्।
निर्वाचन आचारसंहिताविपरित उम्मेदवारहरूका तस्बिर अङ्कित प्रचार सामग्रीले निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल रङ्गिन हुन थालेका छन्।
दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्था आचारसंहितामा रहे पनि दल र उम्मेदवारहरूले अटेरी गरिरहेका छन्। आचारसंहिता पालनामा उम्मेदवारहरूको अटेरी कायम रहेपछि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन नै जारी गरेको छ।
आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई स्पष्टीकरण सोध्ने प्रक्रियालाई तीव्र पनि पारेको छ। आयोगले प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनेर दिएको अभिव्यक्तिबारे उम्मेदवार श्रेष्ठसँग आयोगले स्पष्टीकरण मागेको हो। स्वदेशमा रोजगारी सिर्जना गर्न उद्योग कलकारखानाको विकास हुन सकेको छैन। नेताहरू देशमा रोजगारीका अवसर नहुँदा खाडी मुलुक पुग्नु पर्ने बाध्यतामा रहेका मतदातालाई फ्रि भिसा, फ्रि टिकटको आश्वासन दिइरहेका छन्।
सिद्धान्त र बिचारविहीन दलहरू एक अर्काको चिन्हमा भोट माग्न व्यस्त
आयोगले श्रेष्ठसँग स्पष्टीकरण सोधेकै दिन सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई फ्रि भिसा र फ्रि टिकट दिने आश्वासन दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरुजु राणाले डडेलधुराका मतदातालाई खाडी मुलुक पठाउन बालुवाटारको ढोका सधैँ खुल्ला रहेको बताएर शक्तिको दम्भ प्रदर्शन गरेको आरोप लागेको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने नेताहरूको नारा नारामै सीमित भइरहेको छ।
पार्टीमा लागेका इमानदार कार्यकर्ता पटक पटक एउटै व्यक्ति बोक्नु पर्दा दिक्क बनेका छन्। पार्टीमा लागेका इमानदार कार्यकर्ताका लागि सिन्को समेत नभाँच्ने नेताहरू आफ्ना लागि त्याग र बलिदान दिन उक्साइरहेका छन्। नेताले जे गरे पनि हुने तर कार्यकर्ता इमानदार बनिदिनु पर्ने लोकतन्त्रको सौन्दर्य जस्तै बनेको छ।
देश सङ्घीयतामा गइसके पछिको दोस्रो चुनावमा पनि नेताहरू गफ दिनमै व्यस्त छन्। उनीहरू गफले मात्रै केही नहुने बताउन पनि छोड्दैनन्। काँग्रेसका नेता प्रकाशमान सिंह गफ मात्रै गरेर केही नहुने बताउँछन्।
एजेन्डा पुरानै
जनतामुखी एजेन्डा लिएर मतदाता कहाँ पुग्ने र त्यसैलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएर निर्वाचित हुने चुनावको नियम नै हो। तर चुनाव आउन एक महिना मात्रै बाँकी छदाँसम्म दलहरूले चुनावी घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन्।
सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले घोषणापत्र निर्माणको तयारीमै छन्। साना दलका नेतासमेत आफ्नै चुनाव प्रचारप्रसारमा व्यक्त हुँदा घोषणापत्रले अन्तिम रूप पाउन सकेको छैन भने कतिपयको छपाइका लागि प्रेसमा पुगेर थन्किएको छ।
सत्ता साझेदार दल एकीकृत समाजवादीबाट घोषणा पत्र बनाउने जिम्मेवारीमा रहेका प्रकाश ज्वाला चुनावी प्रतिस्पर्धामा भएकाले अर्कैको जिम्मा छोडेर आफू निर्वाचन क्षेत्रमा खटिएको बताउँछन्।
कतिपय दलले विज्ञलाई राखेर आकाशका तारा झारिदिनेसम्मका सपनाको पोको जस्तै घोषणा पत्र ल्याउने तयारी गरे पनि कतिपय दल भने पुरानै एजेन्डा लिएर जनतामाझ जाने भएका छन्। रातारात सत्ता गठबन्धनमा सहभागी भएको लोसपाका नेता केशव झा तिहार पछि सार्वजनिक गर्ने घोषणापत्रमा आफूहरूका मुद्दा ज्यूका त्यू रहेको बताउँछन्।
सत्ता गठबन्धनबाट एक्कासि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग अँगालो हाल्न पुगेको जसपाका प्रवक्ता मनिस सुमन पनि एक सातामा आफूहरूको घोषणा पत्र आउने बताउँछन्। मधेसवादी दलका मात्र होइन राप्रपा र राप्रपा नेपालका एजेन्डा पनि फरक छैनन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले तिहार अगाडी सार्वजनिक गर्ने तयारी रहेको घोषणा पत्रमा पुरानै एजेन्डा हिन्दु राष्ट्र कायम गर्ने रहेको बताउँछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.