काठमाडौं : मङ्सिर ४ मा हुने मतदानबाट प्रतिनिधि सभामा २७५ र प्रदेश सभामा ३३० सदस्य निर्वाचित हुनेछन्। पाँच वर्षका लागि चुनिने सदस्यको काम सरकारको निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने र संसदीय सुनुवाइ गर्ने हो।
संविधान कार्यान्वयनपछि दोस्रो चुनावमा निर्वाचित हुन राजनीतिक दल र उम्मेदवारले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, पुल, पुलेसा, स्वदेशमै रोजगारीदेखि नेपालको आफ्नै अन्तरिक्ष क्षेत्रमा आफ्नै भू उपग्रहको पहल गर्नेसम्म एजेन्डा सुनाएर प्रचारप्रसार सकाएका छन्।
निर्वाचन आयोगले बिहीबार रातिदेखि स्थिर समयमा प्रचारप्रसार गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको दल र उम्मेदवारलाई स्मरण गराएको छ। स्थिर समय सुरु हुन अगाडि दल र उम्मेदवारहरूले बढिबढी भन्ने होड गरेर चुनावी प्रचार गरेका छन्।
दल र उम्मेदवारहरूका अधिकांश कुरा अव्यवहारिक छन्। व्यवहार कुशल देखिँदैनन्। आर्थिक, राजनीतिक, सामाजिक सबै पक्षबाट उम्मेदवारका कुरा व्यवहारिक छन् छैनन् जागरूक मतदाताले छुट्ट्याउनु पर्ने संसद्का पूर्वमहासचिव मनोहर भट्टराईले बताए। ‘मतको सदुपयोग गर्नलाई योग्य र उपयुक्त उम्मेदवारलाई नै मत दिनुपर्छ,’भट्टराईले पहिचानसँग भने,‘दल नहेर्नुहोस्,उम्मेदवारको योग्यता क्षमता र कार्यक्रमहरू बढो जागरूक ढङ्गले जाँची बुझी अनि मात्र मतदान गर्नुहोस् भन्ने मेरो सुझाव छ।’
उनले व्यवहारिक कुरा गर्ने उम्मेदवार चुन्नुपर्ने बताए। व्यक्तिगत र नितान्त निजी प्रयोजनका लागि आफन्त गुट, समूहहरूको स्वार्थमा हाबी हुने र त्यही पूर्ति गर्नका लागि हुने नहुने सबै चिज गर्न उद्धत हुने उम्मेदवारलाई सुरुमै पछार्नु पर्ने उनले बताए।
संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा पनि दल र उम्मेदवारले जुन कुरा गरिरहेका छन् त्यो उपयुक्त हुँदै नभएको बताउँछन्। ‘यसको लजिकको रूपमा १६/१७ वर्षसम्म हामीसँग स्थानीय निकाय भएन। स्थानीय निकाय नभएको बेलामा सांसदहरू नै विकास निर्माणको एजेन्टको रूपमा अगाडि आए। आम जनताले पनि त्यही कुरा चाहे,’उनले पहिचानसँग भने,‘नभएको ठाउँमा कोही न कोहीले त गर्दिनै पर्यो।’
विधि निर्माण मुख्य
सांसदहरूको मुख्य काम विधि निर्माण रहेको पूर्वमहासचिव भट्टराईले बताए। ‘विधि नै गलत बनाउनु भयो भने बाँकी कुराहरू राम्रो हुँदैन,’उनले भने,‘विधि निर्माण र सरकारको स्वेच्छाचारितालाई अङ्कुश लगाउने, सन्तुलन र नियन्त्रणका लागि उहाँहरूले काम गर्नुपर्छ।’ ती कुराहरू गर्न कति तयार हुनुभयो भएन त्यो सबै मतदाताले हेर्नुपर्ने भट्टराईले बताए।
‘उहाँहरू स्वयंले पनि यो कुरा बुझ्नु पर्छ। उहाँहरूको जिम्मेवारी के हो? जिम्मेवारी अनुसार नै काम सम्पन्न गरेको छु भन्ने कुराको मूल्याङ्कन स्वयं आफूले पनि गर्नुपर्छ र त्यसको सबैभन्दा ठुलो मूल्याङ्कन गर्ने मतदाता नै हुन्,’उनले भने,‘त्यसको समय अहिले आएको छ।’ निर्वाचन उम्मेदवारको परीक्षण र जाँचबुझ गर्ने सबै भन्दा ठुलो समय हो।’
नीति र विधि निर्माण गर्ने भूमिका दल र उम्मेदवारहरूले बिर्सिएका छन्। संसद्को काम भनेको नीति निर्माण गर्ने र विधि निर्माण गर्ने हो। ‘अहिले देखिएका समस्या समाधान गर्न भएका नीतिहरू उपयुक्त छन् कि छैनन्। त्यसमा के परिमार्जन गर्नुपर्छ। भएका कानुनमा उपयुक्तता छ कि छैन र त्यसमा पुन नपुग या परिमार्जन या नयाँ ऐन के चाहिन्छ। त्यो रूपमा उहाँहरूको आफ्नो भूमिका रहन्छ,’पूर्वसचिव शर्माले भने,‘अब अहिले बाटो, पुल, खानेपानी दिन्छु भन्या छ।’
खारेज गर्नुपर्ने माग भइरहेको संसद् विकास कोषको रकमले केही काम गर्न नसकिने भने होइन। तर दल र उम्मेदवारहरू दिएको आश्वासन पुरा गर्ने अवस्थामा रहँदैनन्। त्यसले गर्दा जनतामा निराशा आउने बताउँछन् शर्मा। ‘जनतामा निराशा आइसकेपछि व्यवस्था प्रतिकै निराशा बढ्छ,’उनले भने,‘त्यतातिर उहाँहरूले ध्यान दिनु भएको छैन।’
सरकार, नागरिक समाज, राजनीतिक दल, दलका भातृ सङ्गठनहरूले आम जनतालाई सांसदको भूमिकाबारे बुझाउन सकेनन्। ‘सांसदको काम, कर्तव्य अधिकार के हो? प्रतिनिधि सभाका सदस्यहरूको काम कर्तव्य अधिकार के हो? उनीहरूको भूमिका के हो?’पूर्वसचिव शर्माले भने,‘विकास निर्माण, पुल पुलेसा, खानेपानी चाहिँ होइन है,उहाँहरूले विधि निर्माण गर्ने हो। नीति निर्माण गर्ने हो। सरकारलाई खबरदारी गर्ने हो। सरकारलाई सचेत बनाउने हो भन्नुपर्थ्यो। त्यो सन्दर्भमा हामी सबै चुक्यौ।’
निर्वाचित उम्मेदवारले नेपालमा देखेका समस्या सटआउट गर्नका लागि आवश्यक नीति र विधि बनाउने हुन्। ‘उहाँहरूले के गर्नु भयो भन्दा हामी नेपाली जनताले जे चाहेका छन् त्यसैलाई प्रस्फुटित गराउनु भयो। सांसदहरूको काम यो हुँदै होइन,’उनले भने,‘यो चाही गलत काम हो।’
भोलिको संसद्
संसद् हिजो जस्तो थियो त्यो भन्दा फरक आउने देखिएन। नयाँ जोस जाँगरका साथ आएका उम्मेदवारहरूले पनि त्यहीँ कुरा बोलेका छन्। विगतको भन्दा ठुलो अन्तर हुने र विगतको भन्दा धेरै गुणात्मक रूपमा अगाडि आउने कुरामा संसद्का पूर्वमहासचिव भट्टराईलाई विश्वास छैन। ‘विगतमा जे जस्तो तरिकाले चल्यो सोही बमोजिम नै यो आगामी पटक पनि चल्ने नै हो,’उनले भने,‘यो भन्दा धेरै सुधार हुने लक्षण म देख्दिन।’
उनले उम्मेदवारको योग्यता, चरित्र, विगतको इतिहास र वर्तमानमा गर्न सक्ने क्षमता राम्रोसँग जाँची बुझी मतदान गर्न सुझाव दिए। अहिलेको नीतिमा भएका ल्याप्सेसबारे मतदातालाई दल र उम्मेदवारले बुझाउन सकेका छैनन्।
संसद्का पूर्वसचिव शर्माले भने,‘अब हामी अमेरिका, बेलायत, जर्मन, जापान अत्यन्त विकसित मुलुकलाई हेरेर विधि निर्माण गर्ने भयौ। नेपालको अहिलेको ग्राउन्ड रियालिटी के हो? त्यतातिर ध्यानै नदिई त्यसलाई कपी गरेर ऐन नियम बनाउन थाल्यौ। जसले गर्दा भोलि जनतामा राम्रो सन्देश जाँदैन।’
दल र उम्मेदवारले घोषणा गरेका प्रतिबद्धता जनताको सोच अनुसार मिल्दै नमिल्ने उनले बताए। ‘हाम्रो समस्यालाई त्यसले एड्रेस गर्न सक्दैन। भाषणमा पनि गाली गलौच भन्दा केही छैन,’उनले भने,‘भोलिको संसद् पनि हिजोको भन्दा फरक देखिने ट्रेन्ड छैन।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.