आगामी सरकार

गठबन्धनको खाका : देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

गठबन्धनको खाका : देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

काठमाडौं : सत्ता गठबन्धन दलले चुनावपछिको राष्ट्रपति र प्रधानमन्त्रीको सम्भावित खाका तयार गरेको छ। मङ्सिर ४ को चुनावमा मतदान गर्न ६ दिन मात्रै बाँकी रहँदासम्म गठबन्धन दलले राष्ट्रपति र प्रधानमन्त्रीको नाम सार्वजनिक भने गरेको छैन।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुने सांसद प्रधानमन्त्री, सभामुख, उपसभामुख र मन्त्री बन्नेछन्। आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने दाबी गरेको वर्तमान सत्ता गठबन्धन दलले बनाएको सम्भावित खाका गोप्य राखिएको छ। चुनावी प्रचारमा दौडिरहेका दलका नेताहरूले प्रधानमन्त्रीको नाममा आआफ्नै दाबी सुनाइरहेका छन्। चुनावमा बहुमत ल्याए नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने घोषणा नै गरेको छ।

चुनावमा गठबन्धनको बहुमत आए प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै कायम रहने काँग्रेसले दाबी गरेको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्री देउवा नै हुने र गठबन्धन पाँच वर्षसम्म नै कायम रहने दाबी गरे। ‘काँग्रेस नेतृत्वको गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ,काँग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने छ भन्ने कुरामा दुईमत छैन,’महतले भने,‘भोलि जनताको म्यान्डेटबाट बहुमत सहित निर्वाचित भएर आउँदा पूर्ण पाँच वर्ष हामीले पुरा गर्नेछौ।’

प्रधानमन्त्रीको नाममा रस्साकस्सी

काँग्रेसमा देउवासहित रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले चुनावमा विजयी भएर प्रधानमन्त्री बन्न संसदीय दलको नेता चुनिने बताएका छन्। १७ पटक प्रधानमन्त्री पदमा पराजित पौडेलले प्रधानमन्त्रीमा दाबी नगरे पनि थापाले संसदीय दलको नेता लड्ने बताएका छन्।

काँग्रेस भित्रै प्रधानमन्त्रीको नाममा रस्साकस्सी चलिरहँदा गठबन्धनको अर्को दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामचन्द्र पौडेललाई भोट माग्दै आफूहरू भित्रकै व्यक्ति प्रधानमन्त्री बन्ने बताएका छन्। ‘उस्तै पर्‍यो भने भोलि सरकारको नेतृत्व पनि यही वरिपरि हुने सम्भावना छ,’पौडेललाई भोट माग्दै प्रचण्डले भने,‘त्यसो भएपछि यो क्षेत्रको बृहत्तर विकासका लागि हामी सोच्नेछौ,मैले लामो व्याख्या नगरी यो भन्दैछु तपाइहरूलाई,तपाईँहरूको ध्यान जाओस्।’

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनबाट प्रधानमन्त्री बन्ने को हो? भनेर प्रश्न गरिरहेका छन्। गठबन्धन दलले चुनाव जिते ६ महिनासम्म सरकार नै नबन्ने दाबी गरेको ओलीले बने पनि नटिक्ने बताएका छन्। गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका काँग्रेसका दिनेश कोइरालालाई चितवनमा पुगेर भोट मागेका ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नै नबन्ने र बने पनि टिक्दै नटिक्ने बताएका हुन्। ‘किनकि त्यहाँ खान गएकाहरू छन्,उनीहरूको घोषणा पत्र आफ्नो आफ्नो छ,कुनै समान नीति छैन,’ओलीले भने,‘अनेक दिशामा मुख फर्किएका छन्,एउटै कुरामा ध्यान छ, चिउँडो चाहिँ चलाइरहने।’

गठबन्धनको खाका

गठबन्धन दलहरूले चुनावपछिको राष्ट्रपति र प्रधानमन्त्रीको नाममा सम्भावित खाता तयार गरेको स्रोतले बताएको छ। चुनावमा गठबन्धन दलको भोट क्रस हुन नदिने गरी राष्ट्रपति र प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी गठबन्धन दलले गरेका छन्।

गठबन्धनको सम्भावित खाका अनुसार चुनावपछि काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेछन्। पाँच वर्षको पहिलो साढे २ वर्षको कार्यकाल प्रचण्डले सम्हाल्ने र प्रचण्ड नेतृत्वको सरकारमा देउवा पत्नी आरजु राणाले काँग्रेसबाट मन्त्रीपरिषद्को लिड गर्ने खाका बनेको स्रोतले पहिचान अनलाइनलाई बताएको छ।

प्रधानमन्त्रीमा आलोपालो गर्ने सम्भावित खाका बनाएको गठबन्धनबाट पाँच वर्षमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्नेछन्। त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेसबाट रामचन्द्र पौडेल या गगन थापाले लिने खाका बनेको स्रोतले दाबी गरेको छ। तनहुँबाट चुनाव लडेका पौडेलको प्रधानमन्त्री बन्ने चाहना पुरा गर्ने गरी सम्भावित खाका तयार भएको स्रोतले बताएको छ।

सत्ता गठबन्धन दलले चुनावमा कार्यकर्ताको भोट क्रस हुन सक्ने देखिए तत्कालका लागि राष्ट्रपतिमा देउवा र प्रधानमन्त्रीमा प्रचण्डको नाम घोषणा गर्न सक्ने गठबन्धन दलका एक नेताले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading