‘९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर’

‘९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर’

काठमाडौं : मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन्। स्वास्थ्य विज्ञहरूले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई स्वास्थ्य सेवा दिने उद्देश्यले पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको जानकारी दिइन।

त्रिभुवन विश्व विद्यालयका प्रोफेसर. डा. सरोज प्रसाद ओझा (मनोचिकित्सक) ले नेपालसहित विदेशमा रहेका नेपाली मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रूपमा रहेको बताए।

उनले सबै मिलेर मानसिक स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने उल्लेख गरे। ‘मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् करिब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैनन् किनकि उनीहरूले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्,’उनले भने,‘मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन।’

उनका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको छ। २५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्तमध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताए। मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्या केही हदसम्म समाधान हुने उनको भनाई थियो।

‘डिप्रेसनको कारण ठ्याक्कै एउटै हुँदैन’

महिलाहरूमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै हाल दक्षिण अफ्रिकामा रहेका डा पुष्पराज भट्टराईले सहजै निदान गर्न सक्ने भए पनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताए।

विश्वभर, प्रत्येक ८ महिलामा १ जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत् रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। ‘सजिलै निदान गर्न सकिने र उपचार हुने भए पनि चेतना अभाव वा भनौँ व्यक्ति जागरूक नहुँदा यो क्यान्सर घातक बन्दै गइरहेको छ,’उनले भने,‘समयमै उपचार पाए यो समस्या ९० प्रतिशतसम्म कम गर्न सकिन्छ।’

विकसित राष्ट्रमा पनि स्तन क्यान्सरको समस्या बढ्दो क्रममा रहेको भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा बृहत् रूपमा सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताए। सन् २०२० मा जारी एक अध्ययन प्रतिवेदन अनुसार विश्वभर सबैभन्दा २२ लाख भन्दा बढीमा स्तन क्यान्सर पत्ता लागेको थियो।

बेलायतका डा अमृत पोखरेलले पछिल्लो समय महिलाको योनी, पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताए। क्यान्सर जस्तो घातक रोगको बारेमा जनचेतना अभावमा कयौँको ज्यान जाने गरेकोले त्यस सम्बन्धमा व्यापक जनचेतना र सरकार र सरोकारवालासँगको समन्वयमा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने डा पोखरेलले सुझाव दिए।

कार्यदलकी सहअध्यक्ष एवं जनस्वास्थ्य स्कलर एलिजा केसी भण्डारीले स्वास्थ्य बिमालाई सही तरिकाले प्रयोग गर्न सके सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकिने बताइन। संसारका कोही पनि मानिसले कुनै पनि हालतमा स्वास्थ्य सुविधा पाउनुपर्ने भन्दै समान पहुँचका लागि स्वास्थ्य बिमा फलदायी हुनसक्ने उनको भनाई थियो।

साउथ अफ्रिकामा रहेकी कार्यदलकी सचिव सरिता पाण्डे भट्टराईले स्वदेश र विदेशमा पनि मानसिक र शारीरिक स्वास्थ्य आवश्यक रहेको भन्दै विश्वभर नेपालीको घनत्व रहेका स्थानमा स्वास्थ्य सेवाको पहुँच स्थापना गर्न आवश्यक रहेको बताइन।

कार्यक्रम संयोजक एनआरएनए आइसिसी महिला सचिव डा एलिनी पोखरेलले आगामी दिनमा नेपालका सातै प्रदेशदेखि विश्वभरका सातै क्षेत्रमा कार्यक्रम पुर्‍याउने लक्ष्य रहेको बताइन। कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रबिना थापा, अध्यक्ष डा बद्री केसी, अध्यक्ष कुल आचार्य, महिला उपाध्यक्ष यास्मिन बेगन, पूर्व महिला संयोजक रजनी प्रधान लगायतले कार्यक्रमलाई नेपालसहित नेपाली भएका सबै देशमा पुर्‍याउन सुझाव दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.