सर्लाहीमा १४ वटा रेडियो स्टेसन छन्, तीमध्ये २ वटा बन्द छन्। सर्लाहीमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक गरी ६७ वटा पत्रपत्रिका दर्ता भएका छन्। दर्ता भएका पत्रिकामध्ये कतिपय निष्क्रिय छन्। दर्जनभन्दा बढी अनलाइन छन्।
यी सबै मिडियामा महिलाको सङ्ख्या कम छ। न्यूनतम पारिश्रमिक नपाएकै कारण पत्रकारिता छाड्ने महिलाको सङ्ख्या सर्लाहीमा धेरै छ। पछिल्लो समय बढेको महँगीअनुसार यातायात भाडा आउने जाने ४०/४० रुपैयाँ, खाजा खर्च ४० सहित दैनिक ज्याला ५०० गरी महिनाको १८ हजार ६०० रुपैयाँ समेत पाउँदैनन् सर्लाहीका पत्रकारले।
अहिले धेरैजसो मिडियामा फूल टाइम कर्मचारीलाई ठिक यसको आधा मात्रै दिने गरेको गुनासो मिडिया हाउसमा कार्यरत पत्रकारहरूको छ। सङ्ख्यात्मक हिसाबले महिला पत्रकार कमै होलान् तर गुणात्मक हिसाबले महिलाले पनि मिडिया हाउस सञ्चालन गरिरहेका छन्। सर्लाहीको मलंगवा नगरपालिका निवासी वन्दना झा सर्लाही अपडेटकी सम्पादक हुन्।
महिला पत्रकारहरूलाई यो पेसामा अड्याउन अहिलेसम्म पत्रकार महासङ्घबाट कुनै त्यस्ता कार्यक्रम सञ्चालन नभएको पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्रीको भनाइ छ। क्षेत्रीका अनुसार सर्लाहीको सवालमा अहिलेसम्म पारिश्रमिककै लागि भने धर्ना बस्ने, ज्ञापनपत्र बुझाउने आदि काम भएको छैन।
जिल्लामा सञ्चालित अनलाइन, पत्रिका र एफ रेडियोमा महिला पत्रकारको सङ्ख्या नगण्य छ। जिल्लामा प्रसारण भएका रेडियो टिकाइराख्न महिला पत्रकारको महत्त्वपूर्ण भूमिका छ। दिउँसोको समयमा कार्यक्रम उत्पादन, प्राविधिक र कार्यक्रम सञ्चालन महिला पत्रकारले गर्ने गरेको पाइन्छ। दिउँसोको रेडियो सञ्चालनका लागि जिम्मेवारी पनि महिलालाई नै दिइन्छ। इमानदारी साथ रेडियो सञ्चालन पनि गरेको पाइएकाले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको योगदानलाई कसैले नकार्न सक्दैन।
सर्लाहीमा व्यावसायिक रूपमा सञ्चार क्षेत्रमा टिकिरहन महिलालाई अत्यन्त कठिन भएको छ। सुरु सुरुमा नाम र दाम दुवै हुन्छ भनेर महिला उत्साहित हुँदै पत्रकारिता गर्दछन्। केही समयपछि भने हतोत्साहित हुँदै यो पेसाबाटै पलायन हुने गरेका छन्।
सर्लाहीका सन्दर्भमा सञ्चार गृहले महिला पत्रकारलाई सुरुको समयमा ३ महिनासम्म परीक्षणमा राख्ने र त्यसपछि थोरै पारिश्रमिक दिने गरेका छन्। त्यो पनि समयमा उपलब्ध गराउँदैनन्। आफूले गरेको श्रम अनुसारको सेवा र पारिश्रमिक नपाएपछि पेसाबाटै पलायन हुन महिला पत्रकार बाध्य छन्। जसले गर्दा अहिले सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या निराशाजनक छ।
अहिले पनि छोरी मान्छेले घर छाडेर बाहिर काम गरेको खासै मन पराइँदैन। त्यसमा पनि पत्रकारिता पेसामा अझ स्वीकृति दिइँदैन। सुझबुझ भएका परिवारमा महिला पत्रकारलाई केही सहज भए पनि कामअनुसारको दाम नपाउने र समयमा पारिश्रमिक नपाउने समस्या छ। घर व्यवहार चलाउन समेत नसक्ने भएकाले आर्थिक अभावका कारण अर्कै पेसा अँगाल्ने गरेका महिला पत्रकारको कम छैनन्।
अन्याय सहन बाध्य
रेडियो ढुकढुकीमा ४ वर्ष काम गरेकी लालबन्दी वडा नम्बर ७ की लक्ष्मी गुरुङले आर्थिक, भौतिक पारिवारिक तथा सामाजिक कारण देखाउँदै पत्रकारिता पेसाबाट विश्राम लिएकी छन्। महिला पत्रकारहरूलाई जुनसुकै वेला रिपोर्टिङ गर्न जाँदा हुने अप्ठेरा र समस्या त छँदै छन्। उनी रिपोर्टिङमा अबेर हुँदा साथीभाइको साथमा फर्किने वेला समाजले महिला भएकै कारण हेर्ने दृष्टिकोणमा विभेद झेलेको स्मरण सुनाउँछिन्।
त्यति मात्र नभएर आफूले काम गर्ने सञ्चार गृहमा पर्याप्त जनशक्तिको अभावमा महिलाका लागि आएको अवसरबाट वञ्चित हुनुपरेको गुरुङको भोगाइ छ। ‘महिनावारी भएका वेला कसैलाई पीडा नहुन सक्छ तर कोहीलाई हुन्छ, त्यस्तो वेला सामान्यतया आरामको समेत व्यवस्था हुँदैन’, उनले भनिन्, ‘टिक्न कोसिस नगरेको हैन, महिलाहरूलाई अवसर नै कम हुन्छ।’
कार्य क्षमताअनुसार पुरुषले पाउने र महिलाले पाउने पारिश्रमिकमा पनि विभेद रहेको उनले बताइन्। उनी बढ्दो महँगीमा त्यति पारिश्रमिकले निरन्तरता दिन नसकिएको बताउँछिन्। त्यसमाथि विवाह गरेपछि कतिपय परिवारका कारण पेसा छाड्न मन नहुँदा नहुँदै पनि बाध्यकारी अवस्था आएपछि पेसा नै परिवर्तन गर्ने सोचमा पुगेको गुरुङले सुनाइन्।
सामुदायिक रेडियो मुक्तेश्वर बरहथवाकी पत्रकार सलिना गुर्मछानको अनुभव पनि गुरुङसँग मिल्दोजुल्दो छ। ‘पत्रकारिता गर्ने रहर र मन भएर के गर्नु, बाँच्न पैसा चाहिन्छ। स्टेसनबाट समयमा पैसा पाइन्न’, गुर्मछान भन्छिन्, ‘नाम त छ नि, दाम छैन।’
गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा रिपोर्टिङ गर्न जाँदा आफू महिला भएकै कारण धम्की समेत सहनु परेको उनले दुखेसो गरिन्। ‘कहिलेकाहीँ त ज्यानै जोखिममा पर्ने हो कि भन्ने डर पनि लाग्ने गर्दछ। परिवारबाट राम्रै साथ र समर्थन भए पनि पत्रकारिता गर्न अहिलेको अवस्थाले जोस जाँगर नै चल्दैन’, उनले भनिन्, ‘पत्रकारिता पेसामा सुरक्षा, सेवा र सुविधा नहुँदासम्म महिला पत्रकारको सङ्ख्यामा कमी हुँदै जाने र कुनै समय महिला पत्रकार नै नहुने हुन सक्छ।’
नेपाल समाचारपत्र दैनिककी सर्लाही संवाददाता, पत्रकार महासङ्घ सर्लाही शाखाकी उपाध्यक्ष समेत रहेकी पुस्तिका केसी श्रमको आधारमा पारिश्रमिक नपाउँदा लामो समयसम्म महिला पत्रकारहरू यो पेसामा टिक्न नसकेको सुनाउँछिन्।
जसले गर्दा पत्रकारिता क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राम्रो अवसर पाउनासाथ महिला पत्रकार यस पेसालाई चटक्क छाडेर जाने गरेको इतिहास सर्लाहीका महिला पत्रकारको रहेको उनले सुनाइन्। ‘सोचेजस्तो वातावरण नपाउने घरायसी वा व्यक्तिगत कारण मुख्य गरी आर्थिक कारणले गर्दा सर्लाहीमा सञ्चार क्षेत्रमा महिला पत्रकारको अभाव खड्केको छ,’उनले भनिन्, ‘पत्रकारिता पेसालाई नै निरन्तरता दिऊँ की नदिऊँ भन्ने अन्योल महिला पत्रकारमा बढ्दै गइरहेको पाइन्छ।’
समाजमा अन्यायमा परेकाहरूको समाचार लेख्ने महिला आफैँ अन्याय सहन बाध्य छन्। आमनागरिकको पीडा महिलाका समस्या तथा बेथिति उजागर गर्ने महिला पत्रकारहरूले आफैँ चुनौतीको सामना गरिरहेका छन्। महिला पत्रकारहरूको सङ्ख्या वृद्धि गर्न नेपाल पत्रकार महासङ्घ लगायत सम्बन्धित निकायको भूमिका बदलिनु पर्ने हो कि?
(पत्रकार रिना आलेको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)
न्यायिक निकायको विश्वसनीयतामा शङ्का
महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.