उपराष्ट्रपति चुनाव : सांसद बन्न उपेन्द्रको छटपटी, अप्ठ्यारो पार्ने सिके राउतको रणनीति

उपराष्ट्रपति चुनाव : सांसद बन्न उपेन्द्रको छटपटी, अप्ठ्यारो पार्ने सिके राउतको रणनीति

काठमाडौं : नयाँ उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। नयाँ उपराष्ट्रपति पदका लागि १० दलीय गठबन्धनबाट तीन जना र प्रतिपक्षी दल नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको हो।

गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाबाटै दुई जनाको उम्मेदवारी दर्ता भएको छ। रामसहायप्रसाद यादव र प्रमीलाकुमारी यादवले पार्टीको निर्णय अनुसार नै उम्मेदवारी दर्ता गराएको बताएका छन्। सत्ता गठबन्धनकै जनमत पार्टीले पनि उपराष्ट्रपतिमै उम्मेदवारी दर्ता गराएको छ।

साझा प्रकाशनकी पूर्वअध्यक्ष ममता झा उपराष्ट्रपतिकी उम्मेदवार बनेकी हुन्। झाविरुद्ध २०७० साल वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। भ्रष्टाचार मुद्दा लागेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था भए पनि झाले संविधानको मर्मलाई बुझेर नै उम्मेदवार दिएको बताएकी छन्।

झाको उम्मेदवारी दर्तासँगै गठबन्धनमा गडबड नहुने जनमत पार्टीले दाबी गरेको छ। गठबन्धनको निर्णय अनुसार नै जनमत पार्टीबाट झाको उम्मेदवारी दर्ता गराएका अध्यक्ष सिके राउतले बताएका छन्। राउतले लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गर्ने सहमति समेत गरेर जसपालाई अप्ठ्यारो पार्ने रणनीति अपनाएका छन्।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने व्यवस्था छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपाले संविधानको व्यवस्था अनुसार यादवको उम्मेदवारी खारेज भए महिला उपराष्ट्रपति बनाउन पार्टीबाटै दुई जनालाई उम्मेदवार बनाएको हो।

सांसद बन्ने उपेन्द्रको दाउ

उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमीलाकुमारी राष्ट्रिय सभाकी सांसद हुन्। संविधानको व्यवस्था अनुसार यादवको उम्मेदवारी खारेज भए प्रमीलाकुमारीको उम्मेदवारी कायम गराउन जसपाले महिला पुरुष दुवै जनाको उम्मेदवारी दर्ता गरेको हो। यादवको उम्मेदवारी खारेज गर्न नेकपा एमाले र जनमत पार्टीले उजुरी नै दर्ता गरेका छन्।

सिके राउतसँग चुनाव हारेका उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य बन्न नसकेपछि छटपटिएका छन्। उपेन्द्र राष्ट्रिय सभाको सदस्य बन्न भए पनि प्रमीलाकुमारीलाई उपराष्ट्रपति बनाउने तयारीमा लागेका हुन्। उपराष्ट्रपतिकी उम्मेदवार प्रमीला कुमारीले पनि उम्मेदवारी फिर्ता लिने समयसम्म हेर्ने बताएकी छन्।

सांसद बन्ने चाहना सार्वजनिक नगरेका यादवलाई पार्टीभित्रबाटै सांसद बन्नुपर्ने दबाब आएको जसपाका सांसद प्रदीप यादवले बताएका छन्। संसद्मा उपेन्द्रको उपस्थिति आवश्यक देखिएको उनले बताए।

राष्ट्रपतिमा १० दलीय गठबन्धनसँग भिड्दा अफलता पाएको एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङ पराजित भएका थिए।

उपराष्ट्रपतिमा एमालेबाट उम्मेदवार बनेकी शाक्यले आफू जित्नेमा ढुक्क रहेको बताएकी छन्। राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति चुनावमा पनि एमाले एक्लै भिड्ने देखिएको छ।

निर्वाचन आयोगले उजुरी जाँचबुझ, नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको काम आइतबार नै गर्ने जनाएको छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि राष्ट्रपतिमा जस्तै सङ्घीय सांसद र प्रदेशसभा सदस्यले मतदान गर्नेछन्।

चैत ३ गते शुक्रवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। उपराष्ट्रपतिमा कुल खसेको मतको पचास प्रतिशत मत कटाउन नसके बढी मत ल्याउने दुई जनाबिच पुन प्रतिस्पर्धा हुनेछ। दुई भन्दा बढी उम्मेदवारबिचको प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारको पचास प्रतिशत मत नआए धेरै मत ल्याउने दुई उम्मेदवारबिच प्रतिस्पर्धा हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पौडेल माल लगाउन व्यस्त

देशले पाँच वर्षका लागि नयाँ राष्ट्रपति पाइसकेको छ। राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल नेताका सालिकमा फुल माला चढाउन व्यस्त भएका छन्।

कार्यभार सम्हाल्नु अगाडि नै पौडेल राष्ट्रपतिकै शानमा सडकमा निस्केर सालिकमा फुल माला चढाउन पुगेका हुन्। शनिवार कृष्णप्रसाद भट्टराईको आश्रमदेखि पुष्पलालको सालिकमा माल्यार्पण गरेका पौडेल शपथ ग्रहण गर्ने साइत कुरेर बसेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गरे। आश्रममा रहेको नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा पौडेलले माल्यार्पण गरे।

प्रधानमन्त्री ताकेका पौडेल बने राष्ट्रपति, यस्तो छ राजनीतिक यात्रा…

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली काँग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरे।

यस्तै पौडेलले शनिवार नै कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान गएर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन्। राष्ट्रपति पौडेललाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरेका थिए।

माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षर गरेका छन्। पुस्तिकामा पौडेलले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन्। आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबिच समसामयिक विषयमा कुराकानी भएको थियो।

पौडेलले सोमबार मात्रै शपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने छन्। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारदेखि सकिँदै छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading