प्रधानमन्त्री ताकेका पौडेल बने राष्ट्रपति, यस्तो छ राजनीतिक यात्रा…

प्रधानमन्त्री ताकेका पौडेल बने राष्ट्रपति, यस्तो छ राजनीतिक यात्रा…

काठमाडौं : नेपालको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। चौथो कार्यकालका लागि राष्ट्रपतिमा नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचित भएका हुन्।

पौडेलले सङ्घीय सांसदका २१४ र प्रदेश सभाका ३५२ सांसदको मत पाए। उनको मतभार ३३ हजार ८०२ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रपतिका अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले सङ्घीय सांसद ९६ र प्रदेश सभाका १६२ सांसदको मत प्राप्त गरे। मतभार १५ हजार ५१८ पाएका नेम्वाङ राष्ट्रपतिमा निर्वाचित हुन सकेनन्।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ जना मतदानमा सहभागिता भएनन्। मतदान सुरु भइसक्दा समेत जोखना हेरेर बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले पौडेललाई मत दिने निर्णय गरेको थियो।
राष्ट्रपतिमा निर्वाचित पौडेलले बिहीबार नै प्रमाणपत्र लिएका छन्। राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने निर्वाचन आयोगले जनाएको छ।

पौडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। शपथ ग्रहणको कार्यक्रम फागुन २८ गते सोमबारका लागि तय गरिएको छ। व्यक्तिका रूपमा देशले तेस्रो राष्ट्रपति पाए पनि कार्यकालको हिसाबले पौडेल चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्।


राष्ट्रपतिमा विजयी पौडेलसँग दलका नेताहरूले खुसी साटासाट गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अँगालो हालेर शुभकामना दिएका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल‚ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी नेपालका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी नेपालकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरूले पौडेललाई जितको बधाई दिए।

को हुन पौडेल?

काँग्रेसमा कोइराला क्याम्प परिवर्तन गरेर शेरबहादुर देउवा क्याम्पमा लागेका पौडेल अन्ततः राष्ट्रपति बन्न सफल भए। प्रधानमन्त्री बन्न १७ औँ पटकसम्म प्रतिस्पर्धा गरेका पौडेल राष्ट्रपति बने। उनको प्रधानमन्त्री बन्ने इच्छा भने पुरा हुन सकेन।

पौडेल २००१ असोज २९ गते शनिवार तनहुँ जिल्ला साबिक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ मा जन्मिएका हुन्। मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको हाल काठमाडौं महानगरपालिका १६ बोहोराटार, बालाजुमा बसोबास छ।

पौडेलले संस्कृति साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन्। पौडेल २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री बिपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए।

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी सङ्घको सङ्गठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनमा गिरफ्तार भएका थिए पौडेल। त्यसपछि २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार भएका पौडेले २०२३ सालमा गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष थिए। २०२३ सालमै सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित भएका थिए।

२०३७ सालमा नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बनेका पौडेल २०४० सालमा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख थिए। २०६२ मा उनी नेपाली काँग्रेस केन्द्रीय महामन्त्री, र संसदीय दलको नेता समेत बने।

२०७२ मा उनी नेपाली काँग्रेस केन्द्रीय कार्यवाहक सभापति भए। कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेलले नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ को पद पाइरहेका थिए।

पौडेलको जेल

पौडेलले भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं. २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलो पटक करिब एक महिना हिरासतको सजाय पाएका थिए।

२०२१ सालमा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार भएर एक वर्ष हिरासतमा बन्दी बनेका पौडेलको २०२३ सालमा डिआइजी काण्डमा गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग भेट भएको थियो।

रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी बनेका थिए पौडेल। नेपाली काँग्रेसको पटना सम्मेलनमा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तारमा परेर १० महिना हिरासतमा बसेका थिए।

जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तारमा परी पौडेल ६ महिना हिरासतमा परेका थिए। पञ्चायती व्यवस्था अन्तर्गत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली काँग्रेसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ परेर ६ महिना हिरासतमा परेका पौडेल पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली काँग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार भएर ९ महिना हिरासतमा परेका थिए।

२०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा पौडेल ३ महिना हिरासतमा परे। २०५९ सालमा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि पौडेल करिब एक वर्ष नजरबन्द र हिरासतमा परेका थिए।

२०४८ सालदेखि सांसद बनेका पौडेल पहिलो पटक स्थानीय विकास मन्त्री नियुक्त भएका थिए। उनी कृषि मन्त्री हुँदै २०५१ सालमा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए। २०५६ सालमा उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री बनेका पौडेल गृहमन्त्री सम्म बने। २०६३/२०६४ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका पौडेलले नेपालका सबै जिल्ला भ्रमण गरेका छन्।

उनले भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, मालदिभ्स, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको पनि भ्रमण गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading