उपराष्ट्रपतिमा दुई दलको टकराब, सकसमा गठबन्धन

उपराष्ट्रपतिमा दुई दलको टकराब, सकसमा गठबन्धन

काठमाडौं : उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी कायम भएको छ। उपराष्ट्रपतिमा जसपाबाट प्रमीलाकुमारी यादव र राम सहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम भएको हो।

राष्ट्रपति चुनावमा एकमत देखिएको आठ दलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने गडबड हुने देखिएको छ। सत्ता गठबन्धन दललाई तीन जनाको उम्मेदवारी कायम भएपछि निर्णय गर्न सकस परेको छ।

मधेसका मुद्दा उठाएर लामो समय सत्तामा रहेका उपेन्द्र यादव र भर्खरै उदाएका सिके रावतबिचको टकराब उपराष्ट्रपतिको पदलाई लिएर चुलिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी २ बाट यादवलाई पराजित गरेर सङ्घीय सांसद बनेका राउतले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपतिमा रोक्न नयाँ उम्मेदवार खडा गरेर चुनौती दिएका छन्।

पाँच दलीय सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउने लिखित सहमति भएको भन्दै जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर निर्वाचन आयोगले महिला उम्मेदवार हुनुपर्छ भनेपछि राउतको जनमत पार्टीले ममता झालाई अहिलेको दश दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा अघि सारिएको तर्क गरेको छ।

उपराष्ट्रपति चुनाव : सांसद बन्न उपेन्द्रको छटपटी, अप्ठ्यारो पार्ने सिके राउतको रणनीति

जसपाका प्रवक्ता मनिस सुमन भने गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद नै भएको दाबी गर्छन्। प्रमीलाकुमारी र ममताले एक दुई दिनभित्रमा चुनाव नलड्ने घोषणा गर्ने दाबी समेत उनले गरेका छन्।

समय अभावका कारण प्रमीलाकुमारीको उम्मेदवारी फिर्ता हुन नसकेको उनले बताए। ‘गठबन्धनमा पछि थपिएका दलले पनि उम्मेदवारी दिएको सुन्नमा आएको छ,’प्रवक्ता सुमनले भने,‘उहाँहरूले पनि आज समयको चटारोका कारण फिर्ता लिन सक्नु भएन,जनमत पार्टीले पनि विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता लिनेछ।’

रामसहायप्रसाद बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनलाई उपराष्ट्रपति बनाएर यादव उपनिर्वाचनबाट संसदमा आउनुपर्ने आवश्यकता रहेको जसपाका नेताहरू बताउँछन्। तर यादवलाई सांसद बन्न नदिने रणनीति जनमत पार्टीको छ।

जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह आफूहरूलाई सत्ता गठबन्धनका लोसपा, नागरिक उन्मुक्ति र समाजवादी पार्टीको पनि साथ रहेको र काँग्रेस माओवादीले पनि भोट हाल्ने आश्वासन दिएकाले पछि नहट्ने बताउँछन्। ‘हामीले पनि सहमतिमै उम्मेदवारी दिएको हो,’उनले भने,‘उम्मेदवारी फिर्ता हुँदैन, मित्रवत् हिसाबले प्रतिस्पर्धा गर्छौ।’

राष्ट्रपतिको चुनावमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपतिको चुनावमा के गर्ने भन्ने निर्णय गरिसकेको छैन। अहिले गठबन्धनमा देखिएको गडबडले उपराष्ट्रपतिमा एमालेलाई फाइदा पुग्ने कतिपयको आकलन छ। त्यसैले उपराष्ट्रपतिमा पार्टीको मत निर्णायक बन्ने भए मात्रै खुलेर लाग्ने नीति राप्रपाले अख्तियार गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने बताए। उपराष्ट्रपति चयनबारे छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे पनि निर्णयमा नपुगेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading