किन टुङ्गिएन रास्वपा सांसद श्रेष्ठको कारबाही?

किन टुङ्गिएन रास्वपा सांसद श्रेष्ठको कारबाही?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको हल्ला मात्रै चलाएको देखिएको छ। प्रक्रिया नपुर्‍याई संसद् सचिवालयमा स्वतन्त्र पार्टीले पठाएको पत्रमा कुनै कारण उल्लेख नगर्दा सचिवालय नै अलमलमा परेको छ।

सचिवालयमा संसदीय दलबाट जानुपर्ने पत्र पार्टी केन्द्रीय समितिबाट पुगेको छ। जुन पत्रमा सांसद श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने कारण नै खुलाइएको छैन। पार्टीले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको ब्यहोरा उल्लेख गरेको छ।

सचिवालयले यस्तो ब्यहोराको पत्रमा आवश्यक कागजात नभएकाले उपलब्ध गराउन भनेको छ। स्वतन्त्र पार्टी संसदीय दलका सचेतक सन्तोष परियारले कानुन अनुसार आवश्यक कागजात सचिवालयबाट माग भएको बताए। ‘सचिवालयबाट फोन गरेर आवश्यक कागजात माग भएको छ,’सचेतक परियारले पहिचानसँग भने,‘कानुनी प्रक्रिया त पुरा गर्नु पर्‍यो नि,सचिवालयबाट माग भएपछि हामी उपलब्ध गराउँछौ’

राजनीतिक स्टण्डका लागि मात्रै श्रेष्ठलाई पदमुक्त गर्ने पत्र आएको सचिवालय स्रोतले बताएको छ। ‘स्वतन्त्र पार्टीले पठाएको पत्र अध्ययन गर्दा पद मुक्त गर्नुपर्ने कारण खुलाइएको छैन,’सचिवालय स्रोतले पहिचानसँग भन्यो,‘उहाँहरू (स्वतन्त्र पार्टी) ले सपोर्ट डकुमेन्ट दिनु भएको छैन।’

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

सचिवालयले तत्कालीन माओवादीका सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरी शङ्करलाई पदमुक्त गर्ने निर्णयको कागजात, ह्विप उल्लङ्घनमा सरिता गिरीलाई तत्कालीन सद्भावना पार्टीले गरेको कारबाही र एमाले छोडेर नयाँ दल एकीकृत समाजवादी पार्टी गठन गरेका तत्कालीन १४ सांसदको पत्र अध्ययन गरिरहेको जनाएको छ।

नेकपा माओवादी केन्द्रले भट्ट, रायमाझी, शाह र गौरी शङ्करलाई पद मुक्त गर्ने पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को आदेशलाई उल्लेख गरेको थियो। उनीहरू पदमुक्त भएका थिए। सद्भावनाकी गिरीलाई पद मुक्त गर्नुपर्नाको कारणमा संसदीय दलको ह्विप उल्लङ्घन गरेको लगायत खुलाइएको थियो। उनी पनि पद मुक्त भएकी थिइन।

एमालेले १४ भाइलाई पद मुक्त गर्न सचिवालयमा पत्र पठाए पनि तत्कालीन सभामुख अग्नि सापकोटाले रोकेका थिए। १४ जना सांसदमै बहाल रहेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ पनि पद मुक्त हुने÷नहुने अध्ययन गरिरहेको सचिवालयले जनाएको छ। ७० करोड अडियो काण्डमा परेका गोकुल बास्कोटाको पद कायम रहेको थियो। उनलाई कारबाही भएन। ‘ढाकाकुमारको केस पनि त्यस्तै देखिन्छ,वैशाख १० को उपनिर्वाचनसम्म लिंगरिङ गर्ने स्वतन्त्र पार्टीको मखसद देखिन्छ,’सचिवालय स्रोतले भन्यो,‘पद मुक्त गर्न सर्पोटेट डकुमेन्ट केही आएको छैन,ठाडो पत्र आएको छ, त्यसमा पनि कारण खुलाइएको छैन।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सचिवालयले विगतको नजिर सहित स्वतन्त्र पार्टीको पत्र सहित महासचिव भरतराज गौतमलाई फाइल फरवार्ड गरेको छ।

के छ कानुनी व्यवस्था?


संविधानको धारा ८९ को (क) मा सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा सांसद पद रिक्त हुने व्यवस्था छ। धारा ८७ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको सांसदको पनि पद रिक्त हुनेछ। प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा, जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले सङ्घीय कानुन बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा र निजको मृत्यु भएमा पद रिक्त हुनेछ।

नागरिकता विवादमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पद मुक्त भएका थिए। लामिछानेको पद रिक्त भएपछि चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ। ढाकाकुमार श्रेष्ठ भने समानुपातिक सांसद हुन्। पार्टीले बुझाएको समानुपातिकको बन्दसूची अनुसार विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय स्वतन्त्र पार्टीले गरेको सार्वजनिक भएको छ। न सांसद श्रेष्ठ पद मुक्त भएका छन् न कंसाकारले संसद् सदस्यको शपथ लिएकी छन्। संसद् सचिवालयले अहिले अध्ययनकै क्रममा रहेको जनाएको छ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैँ संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने लेखिएको छ।

दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई निष्कासन गर्न सक्ने र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिने राजनीतिक दल सम्बन्धी ऐनमा उल्लेख छ।

निष्कासन गर्नु अघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ। जुन मौका स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले पाएका छन्। स्पष्टीकरणमा चित्त नबुझेर राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी सदनलाई दिनुपर्नेछ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा सङ्घीय संसद् वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐन बमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनु पर्नेछ। सङ्घीय संसद् सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेस गर्नेछ।

सूचना प्राप्त भएपछि सङ्घीय संसद् सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेस गर्नेछ।

दफा ३४ बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिन भित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनेछ।

सूचना सदनलाई दिएपछि वा सम्बन्धित सचिवालयको सूचना पार्टीमा टाँस भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिनेछ। जुन प्रक्रियाका लागि बल्ल स्वतन्त्र पार्टीले पत्र सचिवालयमा पठाएको छ। सपोर्टेट डकुमेन्ट उपलब्ध गराएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading