प्राध्यापक इन्दिराको स्मरणमा दुर्गा प्रकाश र त्यो कार्पेट काण्ड

प्राध्यापक इन्दिराको स्मरणमा दुर्गा प्रकाश र त्यो कार्पेट काण्ड

सङ्गीत शिक्षा दिने काममा साढे ३२ वर्ष बिताइन इन्दिरा पाण्डेयले। काठमाडौँको न्यूरोडमा ८६ वर्ष अगाडि जन्मेकी इन्दिराले भारतमा सङ्गीत शिक्षा अध्ययन गरिन्। २०१७ सालदेखि हालको पद्म कन्या क्याम्पसमा सङ्गीत शिक्षा दिन थालेकी इन्दिराले सरकारी सेवाको अन्त्य पनि पद्म कन्याबाटै गरिन्।

उनले बाल्यकाल देशको राजधानी काठमाडौँको न्यूरोडसँगै भारतको इलाहवाद र बडोदरामा बिताइन। बडोदराबाट अध्ययन सकेर काठमाडौँ फर्केकी इन्दिराले क्याम्पस पढाउन थालेको एक वर्षमा विवाह गरिन्। सम्बन्ध न लेखेर आएको हुन्छ, न कसैको करकापमा नै जोडिन्छ, सम्बन्ध त मन मिले पछि जोडिन्छ।

इन्दिराले विवाह अगाडि मन मिलाउन त परको कुरा भेटेर दुई शब्द उच्चारण गर्न पनि पाइनन्। संयोग नै भन्नुपर्छ इन्दिराका लागि क्याम्पसमा सङ्गीत कक्षा दिन थालेको र दुर्गा प्रकाशले पर्यटन विकास समितिमा सेक्सन अफिसरको जागिर खान थालेको एक वर्षमा विवाहको कुरो चल्यो। २८ वर्षका दुर्गा प्रकाश र २४ वर्षकी इन्दिराबिच २०१८ साल असारमा विवाह भयो।

विवाह अगाडि भेट भनेको स्वयंवरको दिन मात्रै हो। रक्तकाली थियो दुर्गाप्रकाशको घर। बडागुरुज्यू र चिफ सेक्रेटरी परिवारको विवाह धूमधामका साथ भयो। बग्गीमा जन्ती गए। विवाह पछि पनि उनले क्याम्पसमा पढाउने कामलाई भने निरन्तरता दिइन।

दुर्गाप्रकाशको भने पर्यटन विकास समिति हुँदै मन्त्रिपरिषद् सचिवालय, भन्सार विभाग, महावाणिज्य दूतावास कोलकता, वीरगन्ज चिनी कारखाना, आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालय सहित नेपालका संस्थानहरूमा सेवा गरे। पञ्चायती व्यवस्थाको सुरुमै जागिरे भएका दुवैले बहुदलीय व्यवस्थाको पनि अनुभव हासिल गरे।

कलेज जान साथी

माइतीबाट पद्मकन्यासम्म एक्लै आउँथिन इन्दिरा। कोही साथी चाहिँदैनथ्यो। दुर्गा प्रकाशको घरमा भित्रिएपछि भने उनलाई क्याम्पससम्म जान र क्याम्पसबाट घर फर्किन एक जना साथी खटाइन्थ्यो। विवाह भएको दुई महिनासम्म त उनले क्याम्पस जान र फर्कन साथी पाइन। ‘त्यतिवेला बुहारी एक्लै हिँड्नु हुँदैन भनेर होला,’उनले भनिन्,‘एक जनालाई साथै पठाइन्थ्यो।’ दुर्गा प्रकाशले नै दुई महिनापछि साथी पठाउन बन्द गरे।

पर्यटन विकास समितिमा हुँदा दुर्गा प्रकाशले डकोटा प्लेनभित्र जिप राखेर पोखरा पुर्‍याएका थिए। घरमा दुर्गा प्रकाशले डकोटाभित्र जिप र जिपभित्र आफू बसेर गएको अविस्मरणीय क्षण सुनाएको सम्झिन्छिन् इन्दिरा। पोखरासम्म गाडी लैजाने बाटो बनेको थिएन त्यतिवेला। पर्यटन प्रवर्द्धनका लागि पोखरा त्यो पनि प्लेनभित्र जिप र जिप भित्र आफू बसेर। दुर्गा प्रकाशले एक रुपैयाँमा एक डोको सुन्तला किनेको सुनाएका थिए इन्दिरालाई। एक रुपैयाँमा एक डोको सुन्तला कति धेरै दिएका दुर्गा प्रकाश सुनाउँथे।

दुर्गा प्रकाश मोटरसाइकलमा अफिस जान्थे। इन्दिरालाई पनि उनले मोटरसाइकलमै क्याम्पस छोड्ने गर्थे। फर्कँदा भने इन्दिरा एक्लै हुन्थिन। उनको क्याम्पस चाडै सकिन्थ्यो, दुर्गा प्रकाशको अबेरसम्म चल्थ्यो। मोटरसाइकलमा क्याम्पस जाँदाको दुई घटना पनि इन्दिराले सम्झिरहेकी छन्। एक पटक भर्‍याङबाट झर्दै गर्दा छोडेर मोटरसाइकल कुदाएको र एक पटक क्याम्पसमा आफूलाई छोडेर सिंहदरबार फर्कँदा लडेर घाइते भएको।

अनुहारमा हाँसो निकाल्दै इन्दिरा भन्छिन्,‘एक पटक त बुढाले मोटरसाइकलमा बसी होला भनेर दौडाएछन्, क्याम्पस पुग्ने बेला आज त चाडै आयौ होइन त मन (इन्दिरा) भनेर हेर्छु त छैन, फर्केर लिन आएका थिए।’ कहिल्यै मुख बाझाबाझ समेत भएन दुवैको। रिसाए भने बोल्दैनथे दुर्गा प्रकाश। घरबाट फुत्त निस्केर हराउँथे। ‘उहाँ बाहिर निस्केर हराएपछि रिसाउनु भएछ भन्ने हुन्थ्यो,’उनले भनिन्,‘कुनै दिन झगडा भएन।’

सरकारी गाडी चढ्न नदिने

दुर्गा प्रकाशले सरकारी गाडी कहिल्यै निजी काममा प्रयोग गरेनन्। छोराछोरीलाई पनि सरकारी गाडी चढ्न दिएनन्। एक दिन कान्छो छोरा दिप प्रकाशलाई विद्यालयबाट हिँडेर आएको भेटेपछि गाडीमा राखेर ल्याएको मात्रै सम्झना छ इन्दिरालाई। ‘नत्र अहँ सरकारी गाडी अफिसको काम बाहेकमा आफू पनि प्रयोग नगर्ने र अरूलाई त के छोराछोरीलाई पनि चढ्न नदिने,’इन्दिराले पहिचानसँग भनिन्,‘उहाँ सरकारी गाडी तिमिहरूले प्रयोग गर्ने होइन भन्नुहुन्थ्यो।’

कोलकतामा महावाणिज्य दूत भएर बस्दा पनि निजी कामका लागि निस्कनु पर्दा ट्याक्सी प्रयोग गर्थ्यो पाण्डेय परिवार। नीति नियम, कानुन र अनुशासनमा बस्ने दुर्गा प्रकाशको महत्त्वपूर्ण कडी थियो। ‘अरूलाई पनि अनुशासन राख्ने उहाँको मुलमन्त्र थियो,’इन्दिरा भन्छिन्,‘इमानको पर्याय हुनुहुन्थ्यो उहाँ।’

दुर्गा सरकारी कामको अनुभवका लागि विदेश यात्रा गरिरहन्थे। तर, उनले परिवारका सदस्यलाई विदेश यात्रामा सँगै कहिल्यै लगेनन्। श्रीमतीको खर्च हालिदिन्छौ, लिएर जानु भन्नेहरू नआएका होइनन्, तर दुर्गाले सेवा अवधिभर त्यसो गरेनन्। नीति नियम कडाइका साथ पालना गरे, अरूलाई पनि अनुशासनमा बस्न बाध्य बनाए।

इन्दिराका बुबा पनि कडा अनुशासनमा रहनु पर्ने, दुर्गाप्रकाश त्यस्तै। उनका नाति नातिनाले समेत दुर्गा प्रकाशको अनुशासनलाई नैतिक शिक्षाको रूपमा ग्रहण गरेका छन्।

गलत काम फिटिक्कै मन नपराउने दुर्गा प्रकाश। अम्मल केही थिएन उनको। एक टुक्रा सुपारी भए पुग्ने। उनलाई खाजासँगै सुपारीका लागि पनि घरबाट छुट्टै पैसा दिइन्थ्यो। चिटिक्क परेर अफिस जान्थे दुर्गा प्रकाश। ‘टिपटप बन्नु पर्ने उहाँलाई, विवाह अघि नन्द, सुसारेहरुले मिलाइदिनुहुँदो रैछ कपडा, म गएपछि मैले नै सबै मिलाइदिन्थे’उनले भनिन्।

पर्यटन विकास समितिमा हुँदा नै दुर्गा प्रकाश सरकारी सेवा प्रवेशको पहिलो विदेश भ्रमणका लागि अमेरिका गए। उनी अमेरिकामा हुँदै इन्दिरा डेलिभरी भइन। हालको प्रसूति गृहमा उनले छोरा जन्माइन।

छोराको नाम के राख्ने इन्दिराले सोच्न नभ्याउँदै दुर्गा प्रकाशले उतैबाट छोराको नाम ज्योति राख्न भने। ‘उहाँले अमेरिकामै हुँदा राति सपनामा झलमल्ल बत्ती बलेको देखे, छोरोका नाम ज्योति राख्नु है भन्नु भयो’इन्दिराले सुनाइन। छोराछोरीको स्कुल भर्ना देखिकै सबै जिम्मा थियो इन्दिराको।

रिटायर्ड भए पछि सँगै घुम्न जान थालेका थिए उनीहरू। २०४९ सालमा रिटायर्ड भइन इन्दिरा। ३२ वर्षे नोकरी अथवा ५८ वर्षे उमेर हद लागू भएपछि साढे ३२ वर्ष पद्म कन्या क्याम्पसमा पढाएकी इन्दिरा त्यहीबाट रिटायर्ड भइन।

कार्पेट काण्डमा क्लिनचिट

नीति नियममा बस्नेहरू नै राजनीतिक दाउपेचमा परेको इन्दिराले नर्बिसने मध्येको एक घटना हो। भन्सारमा नौ वर्ष काम गर्दा दुर्गा प्रकाश कार्पेट काण्डमा परे। एक वर्ष अख्तियार धाए। ‘राम्रो काम गर्दा गर्दै काण्ड लाग्यो। नगरेको काम राजनीतिक दाउपेचमा काण्ड लाग्यो। कार्पेट काण्ड पछि उहाँलाई धेरै राम्रो काम गर्दा गर्दै पनि भनेर तोड पर्‍यो,’इन्दिराले भनिन्,‘त्यो बेलादेखि उहाँलाई सुगर रोग लाग्यो, त्यो भन्दा अघि उहाँलाई सुगरको रोग लागेको थाहा थिएन।’

तुलसी गिरी, डा. हर्क गुरुङ, भेषबहादुर थापा सहित सबै इमान्दार कर्मचारीहरु समेत कार्पेट काण्डमा परे। अख्तियारबाट क्लिन चिट पाए पछि सबैको नियुक्ति राम्रो ठाउँमा भएको थियो।

कार्पेट काण्डमा निर्दोष ठहर भएपछि दुर्गा प्रकाश कलकत्ता पोस्टिङ भए। महावाणिज्य दूत भएर उनी कलकत्ता पुगे। राम्रो काम गरेको भनेर उनले तक्मा पनि पाए। चार वर्षका लागि गएका उनको अवधि दुई वर्ष थप भयो। कलकत्ताबाट फर्केपछि वीरगन्ज चिनी कारखानामा गए। वीरगन्जमा इन्दिरा पनि साथै गइन। कलकत्ता जाँदा अध्ययन बिदामा गएकी उनी वीरगन्जमा काजमा खटिइन।

चिनी कारखानाको अध्यक्ष बनेर गएका उनलाई स्थानीय पत्रकारले ‘यहाँ टिक्ने भए सहयोग गर्नु पर्‍यो’ भनेको दुर्गा प्रकाशले आफ्नो पुस्तकमै लेखेका छन्। पैसा नदिँदा गलत समाचार लेखेको र बार्गेनिङ गर्न पत्रिका बोकेर आएको उनले सरकारी सेवाको अनुभव पुस्तकमा लेखेका छन्।

नीति विपरीत कुनै काम नगर्ने। राजा या प्रधानमन्त्री, मन्त्री जसले भने पनि नियम विपरीत नजाने। जबरजस्ती गर्न खोजे राजीनामा नै बुझाउने। नबिराउनु नडराउनु भन्थे उनी। आफू नियम कानुनमा बसेको भएर डराएनन् उनी।

दुर्गाप्रकाशको शब्दमा कार्पेट काण्ड

हाम्रो कार्यकालमा ठुलो होहल्लासाथ कार्पेट काण्डको घटना भयो। कार्पेट निकासीको रकमको ४० र ६० प्रतिशत गरी दुई तरिकाले डलर साट्न पाउने बोनस व्यवस्था सरकारले गरेको थियो। बोनस बढी लिने उद्देश्य लिएर आफ्नो मालको निकासी गर्दा ओभर इनभ्वाइस गरी राष्ट्र बैङ्कमा बढी विदेशी मुद्रा जम्मा गर्ने कार्य केही व्यापारीबाट हुन थाल्यो।

केही डलर राष्ट्र बैङ्कमा जम्मा भयो, यसबाट सरकारलाई फाइदा भए पनि व्यापारमा नैतिकता नभएकाले बन्द गर्नुपर्छ भन्ने र यस्तै चल्न दिनुपर्छ भन्ने बहस उच्चस्तरमा चलेको थियो। त्यतिवेलासम्म एकको ५/६ गुणासम्म ओभर इन्भ्वासिङ चलेको थियो। त्यसरी दुई समूह बनेपछि हुन्छ र हुँदैन भन्नेहरूका बिचमा हुने गरेका तर्क/वितर्कलाई एउटा टुङ्गोमा पुर्‍याउन वीरेन्द्र राजालाई ब्रिफिङ गरियो। त्यस्ता कुनै पनि महत्त्वपूर्ण कामको जानकारी गराउनुपर्दा ब्रिफिङ र डिब्रिफिङ गरी फिडब्याकसमेतको व्यवस्था गर्ने गरिएको थियो।

त्यो मिटिङमा राजाको उपस्थिति सुरुदेखि नै थियो, बोल्न पाउनेहरूले राजालाई ब्रिफिङ गरी सुनाए। त्यहाँ पनि हुन्छ र हुँदैन भन्ने दुइटै विचार राजासामु प्रस्तुत गरिएका थिए। वाणिज्य मन्त्री रहेका डा. हर्क गुरुङले डलर आएर राम्रो भइरहे पनि व्यापारमा विश्वास भएन, यो हुनुहुँदैन, हाम्रो विश्वास घटेर जान्छ भनेका थिए।

अन्त्यमा राजा वीरेन्द्रले ‘हाम्रो व्यापार भइरहेको र डलर आइरहेको छ, अरू कुरामा किन’ भनी मिटिङ सकियो। सबै आ आफ्नो सुरमा चल्दै थिए, मेरो आत्माले मानेन। देशले यस्तो काम गर्नु र गराउनु हुँदैन, यो रोकिनुपर्छ भनी टिप्पणी लेखी, अहिले एकको पाँचका हिसाबले ओभर इन्भ्वाइसिङ भइरहेको छ, यस्तो प्रकारले बोनस बाँडेर नहुने कुरासमेत उल्लेख गरी निर्देशन र निर्णयका लागि फायल मन्त्रालयमा पठाइदिए।

हाम्रो नैतिकतामा प्रश्न चिन्ह लागेपछि, अरू कुराले त्यसको मूल्य चुकाउन सकिँदैन, समयमै विचार पुर्‍याएर उचित निर्णय हुन आवश्यक छ, भनी पठाएको फायल सहसचिवमार्फत माथि गयो। यत्तिकैमा केही दिन बितिहाले, उता कामधन्दामा कमी आएको थिएन। त्यहीबिचमा नेपाल राष्ट्र बैङ्कका गभर्नर कुलशेखर शर्माको बोनस रोक्ने आदेशको चिठी आयो, बोनस रोकियो।

कार्पेट काण्ड छताछुल्ल भयो, कारबाही हुने भयो। नीति, नियम र कानुनभन्दा माथिका मान्छेका मुडमा चल्ने शासनले बेहोर्नुपर्ने जे हो, त्यो भयो। हिजो प्रोत्साहनका कुरा गर्नेले नै आज कारबाही गर्नुपर्ने भयो। को को पर्ने को को नपर्ने, कसलाई कार्पेट काण्डमा पार्नु नहुने र कसलाई पार्नै पर्ने खासखुस हुन थालेको थियो। प्रत्यक्ष सम्पर्कमा रहेकाहरू कारबाहीमा नपरी छुट्ने कुरै भएन।

अन्ततः कार्पेट काण्ड सुरु भयो। प्रधानमन्त्री र अरू दुई जना मन्त्री कार्पेट काण्डमा पारिएका थिए। प्रधानमन्त्री डा. तुलसी गिरीले राजीनामा दिए, मन्त्रिमण्डल विघटन भयो। डा. भेषबहादुर थापा अर्थमन्त्री, डा. हर्क गुरुङ वाणिज्य मन्त्री, नरकान्त अधिकारी कामु अर्थ सचिव, वाणिज्यका सचिव ईश्वरी लाल, गभर्नर कुलशेखर शर्मा, भन्सार विभागका डाइरेक्टर म समेत ३२ जना अरू उच्च कर्मचारी र सयभन्दा बढी व्यापारी कारबाहीमा पारिए। सबैलाई मुद्दा लाग्यो। २०३४ सालमा स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैले तारिख धाउनुपर्ने भयो।

अख्तियारका हाकिम अनिरुद्र प्रसाद सिंह थिए। विषयवस्तु धेरै जेलिएको थियो। कानुनमाथिका मान्छेको आशय बुझेर उनले पनि काम गर्नुपर्ने थियो। समय प्रशस्तै लियो, धेरै कुराको पूर्व तयारी गरेपछि अख्तियारले बयान लिन सुरु गर्‍यो। बयान दिने क्रममा पूर्वअर्थमन्त्री भेषबहादुर थापाले ‘मेरो मन्त्रालयअन्तर्गत भएका कामको जिम्मा मेरो हो, सबैको जिम्मा म लिन्छु, मलाई कारबाही गरे हुन्छ’ भनेका थिए।

पूर्ववाणिज्य मन्त्री डा. हर्क गुरुङले आफ्नो बयान दिने क्रममा यो काम प्रधानमन्त्रीले पनि गरे÷गराएको होइन, प्रधानमन्त्रीभन्दा माथिकालाई पनि जानकारी भएको हो। अब त्यो माथि को हो त्यो पनि म भन्न तयार छु भनेर के भनेका थिए बयान सुनिरहेका मुख्य न्यायाधीश (किताबमा भट्ट मात्रै उल्लेख) ले रोके, गुरुङलाई बोल्न दिएनन्। हुकुमको तामेली गर्ने परम्परामा न्यायाधीशले पनि आफ्नो जागिर बचाए।

मलाई बोल्नु भने। मैले भने,‘कार्पेटको त्यस्तो व्यापार रोक्नुपर्छ भनेर भन्सार विभागले पेस गरेको टिप्पणी नै मेरो बयान हो। अहिले मलाई केही भन्नु छैन।’ मेरो आत्माले भने बमोजिमको टिप्पणी उठाएर माथि पठाएको फायल, त्यही फायलमा उल्लेख भएका कुरालाई आफ्नो बयान भनिदिएको थिए।

एक वर्षपछि अख्तियारले तीन लाइनको फैसला लेखेर मलाई सफाइ दियो। त्यही पहिले मैले मेरो आत्माको पुकारलाई सुनेर उठाएको टिप्पणीलाई उल्लेख गरिएको र त्यसमा पनि कानुन, नीति, नियम र चरित्रका कुरा उल्लेख थियो, जुन मैले टिप्पणीमा लेखेको थिए।

कार्पेट काण्डको झन्झट र एक वर्षको ब्रेकले मेरो करिअरमा जुन तनाव भोग्नुपर्‍यो र मेरो प्रमोसन पनि पछि पर्‍यो, मेरो कामको स्पिडमा पनि केही कम गराइदियो र सबै कुरालाई नीति, नियमको अभावले उब्जाएको व्यवधानका रूपमा नै मैले लिएको छु।

यो कार्पेट काण्डको विषयमा राजादेखि रङ्कसम्म सबैलाई राम्रै थाहा भएको थियो। प्रधानमन्त्रीदेखि इमानदारीमा नाम कमाएका प्रायः सबैजसो राष्ट्रवादी कर्मचारी कसरी यो फन्दामा परेर यो कामबाट सरकारलाई नोक्सान भएको होइन र कुनै पदाधिकारीले फाइदा उठाएको पुष्टि हुने ठाउँ थिएन, सबैजसो कर्मचारीले फैसलापछि राम्रै ठाउँमा काम पाए।

यो काण्डलाई कसले उठायो? किन उठायो? कसरी उठायो? कहाँबाट उठायो, कसको निर्देशनमा उठायो भन्ने कुरा रहस्यमा नै रही ‘हात्ती आयो, हात्ती आयो फुस्सा’मा परिणत भएको थियो। राष्ट्रिय चिन्तनको अभावमा यो सबै भएको हो भन्ने मेरो ठहर छ।

सरकारी सेवाको अनुभव पुस्तक लेखेका दुर्गा प्रकाशको एक वर्ष अगाडि स्वर्गारोहण भयो।

पहिलो पटक सम्पादन : इन्दिरासँगको कुराकानीमा आधारित समाचारमा यसअघि राखिएका तस्बिर हटाइएकोमा माफी चाहन्छौँ।

सम्पादक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading