तथ्याङ्क कार्यालयको लापरबाही, जनगणनामै छुटे ७ लाख ७० हजार

तथ्याङ्क कार्यालयको लापरबाही, जनगणनामै छुटे ७ लाख ७० हजार

काठमाडौं : देशको जनगणनामा गम्भीर लापरबाही भएको पाइएको छ। जनगणना २०७८ सार्वजनिक गरेको केन्द्रीय तथ्याङ्क कार्यालयले नै त्रुटि भएको स्वीकार गरेको छ।

देशको नीति नियम, योजना राष्ट्रिय जनगणना अनुसार नै बन्ने भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको कार्यालयले ७ लाख ७० हजार जना गणनामा छुटेको पुष्टि गरेको हो।

गणनामा छुटेको पुष्टि भए पनि यसअघि सार्वजनिक तथ्याङ्कमा थप नहुने तथ्याङ्क कार्यालयले बताएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनामा छुटेको जनसङ्ख्या नजोडिने बताए। ‘नेपालको जनगणना यति पुग्यो भनेर भन्न सकिने अवस्था हुँदैन, छुटेको हिसाब गर्ने चलन छैन,’लामिछानेले भने,‘हाम्रो जनगणना भनेको २ करोड ९१ लाख नै हो, त्यही कायम हुन्छ, जनगणनामा छुटेको जनसङ्ख्या अहिले हामी जोड्दैनौ।’

छुटेकाहरूलाई जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ हुन्छ। तर, लामिछाने विगतमा पनि इरर आउने गरेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। विगतको तुलनामा गन्न छुटेको सङ्ख्यामा सुधार भएको दाबी समेत लामिछानेले गरेका छन्।

उनले २०४८ सालमा ११, २०५८ सालमा ५, २०६८ सालमा ३ दशमलव ६ र ७८ को जनगणनामा हाल २ दशमलव ६ प्रतिशत जनगणनामा छुटेको बताए। ‘२०४८ सालदेखि क्रमिक रूपमा गणना जाँच सर्वेक्षण (पीईएस) गर्न थालिएको हो,’उनले भने,‘क्रमिक रूपमा जनगणना रिजल्ट हेर्ने हो भने सुधार देखिन्छ।’ यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ।

‘अन्य’ लिङ्गीको जनसङ्ख्या सार्वजनिक : प्रधानमन्त्रीले भने, मौलिक हक कार्यान्वयन गर्न सहज हुन्छ

उनले सहरमा बस्ने नागरिकको जनगणनाका लागि रुचि नभएको पाइएको निर्देशक लामिछानेले बताए। ‘अलि सहरका मानिस गणनामा छुटेका छन्, व्यस्तता, सहभागिताका कारण छुटेको हुनुपर्छ,’उनले भने,‘ग्रामीण क्षेत्रका मानिसको जनगणनामा उत्साहजनक सहभागिता देखिन्छ।’ अब आउने जनगणनामा सबैको सहभागीताका लागि राज्यले नै प्रोत्साहनको नीति ल्याउनुपर्ने उनले माग गरे।

नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुने गरेको छ। १० वर्ष लगाएर गरिएको गणनामै तथ्याङ्क कार्यालयले लापरबाही गर्दा यसले सरकारको योजना निर्माणमा समेत प्रभाव पार्ने गर्छ।

तर, तथ्याङ्क कार्यालय यसलाई त्रुटि मान्न तयार छैन। ‘जनगणनामा त्रुटि भएको होइन भनेर अन्डर काउन्ट देखायौ,केही छुटेका छन् भन्ने हो। जनगणनामा छुट्छन् अलिअलि, त्यस्ता सामान्य त्रुटि हुन्छन् भनेर सङ्केत गरेका हौँ हामीले,’उनले भने,‘तर जनगणनाको समग्रमा त्रुटि भएको होइन भनेर हामी स्पष्ट भन्न सक्छौ।’

२५ कात्तिकदेखि ९ मङ्सिर २०७८ सालमा भएको जनगणना नतिजा जाँच सर्वेक्षणको काम २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो। तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामा पहिलो पटक अन्य लिङ्गी (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक) को तथ्याङ्क सार्वजनिक गरेको थियो। घर परिवार सर्वेक्षण अनुसार अन्य लिङ्गीको तथ्याङ्क २ हजार ९२८ जना रहेको कार्यालयले सार्वजनिक गरिसकेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading