"/>
काठमाडौं : राजाको इच्छा र जनताको संयुक्त प्रयासबाट वास्तवमै मुलुकको विकासले बाटो समात्नेछ। राजालाई मुलुकको अभिभावक मानेर सक्रिय भए टेकनाथ रिजाल।
भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकले राजगद्दी सम्हाले पछिको पहिलो सम्बोधन गरेको पहिलो राज्य सभाको बैठकमा रिजालले लामिडाँडाबाट प्रतिनिधि भएर भाग लिएको एकै दिन परेको थियो।
गाउँमा पाठशाला, अस्पताल, सडक, कृषि र पशुपालनका आधुनिक व्यवस्था रिजालले प्रस्तुत गर्ने मुद्दाका मुख्य विषय हुन्थे। जनताको आय स्तर बढाउनु थियो। जातीय विभेद थिएन। विकास बाहेक अरू मुद्दा थिएनन्।
आर्थिक दृष्टिले कमजोर थियो। तर, उत्साह कमजोर थिएन। ग्रामीण ठाउँमा पाठशाला र अस्पताल बनाउन नगदे बालीमा आधारित खेती गर्ने जस्ता काम अभियानका रूपमा अघि सारिएका थिए।
देशको प्रशासन तन्त्रलाई आधुनिकीकरण गर्ने सुझाव दिए रिजालले। सुझाव कार्यान्वयन भएसँगै लोक सेवा आयोग गठन भयो। ड्रुक वायु सेवाको स्थापना र सञ्चालन, स्वदेश मजदुर नियुक्ति नीतिको तयारी, नारी शक्ति विकासका लागि महिला सङ्गठनको स्थापना, परिवार कल्याण योजनाको थालनी रिजालको अवधिमा भए।
नागरिक परिचय पत्रको आवश्यकता र औचित्य सम्बन्धमा रिजालले राज्य सभामा तर्क प्रस्तुत गरे। सरकारले गम्भीरता पूर्वक लियो। पञ्जीकृत जमिनको स्वामित्व र बसोबासका आधारमा ठाउँ नम्बर र घर नम्बर समेत अङ्कित परिचयपत्र वितरण गरियो।
नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)
असीको दशकदेखि भुटानमा पहिलो पटक बालिग जनताले नागरिकता परिचय पत्र पाए। सन् १९८२ तिर अङ्ग्रेजी भाषा अध्ययनका लागि रिजाललाई तत्कालीन भुटानी राजाले अस्ट्रेलिया समेत पठाए।
अस्ट्रेलियाबाट फर्केपछि रिजालले आफ्नै गाउँ लामिडाँडामा समाज प्रतिप्रथा नामक पद्धति लागू गरे। सफल पनि भयो। सामुदायिक विकास प्रणालीलाई भुटान सरकारले अन्य गाउँमा पनि लागू गर्यो। तर त्यस पद्धतिको नाम जोङखाकरण गरेर गेवक छोक्पा राखिएको छ।
स्वदेशी श्रमिक नियुक्ति विभागमा काम गरे रिजालले। देश अविकसित थियो तर, वातावरण धमिलो भएको थिएन। राजाबाट सबै नागरिक प्रतिको व्यवहार समान थियो।
थिम्पुबाट प्रशासन चलाएर न्याय दिन सकिँदैन भने रिजालले। त्यसका लागि व्यवस्थित रूपले प्रशासनको विकेन्द्रीकरण गरिनु पर्ने रिजालको प्रस्ताव राजाबाट स्वीकार पनि भयो।
(भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको निर्वासन पुस्तकको अध्याय २)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.