बुढो र सुस्त पार्टीको रूपमा आलोचित काँग्रेसलाई नवजीवन दिने प्रयत्न

बुढो र सुस्त पार्टीको रूपमा आलोचित काँग्रेसलाई नवजीवन दिने प्रयत्न

काठमाडौं : नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली काँग्रेस विकसित प्रविधि अङ्गाल्न बाध्य भएको छ। बुढो र सुस्त पार्टीको रूपमा आलोचित काँग्रेसलाई नवजीवन दिने प्रयत्न मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले गरेको छ।

सङ्गठन विस्तार र सुदृढीकरणमा निदाएको काँग्रेसलाई नवीनता प्रदान गर्न सभापति शेरबहादुर देउवा नै अग्रसर भएका छन्। देउवाकै प्रस्तावमा पहिलो पटक काँग्रेसले पार्टी केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेको छ। नेपालका राजनीतिक दलहरूको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने इतिहास समेत काँग्रेसले राखेको छ।

पार्टी भित्र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको घेराबन्दीमा पर्दै आएका सभापति देउवाले पहिलो पटक पार्टी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गराएपछि पुरानो पार्टी काँग्रेसले हाइटेक प्रविधि अङ्गालेको चर्चा भएको छ।

११ महिना पछि मङ्गलवार सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा करिब ३ दशकदेखि नेतृत्वमा रहेका देउवालाई साक्षी राखेर महामन्त्री गगन थापाले वार्षिक क्यालेन्डर नै प्रस्ताव गरेका छन्। विधानअनुसार हरेक दुई/दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि आफू रक्षात्मक बन्न बैठक छल्ने गरेका देउवाले सुन्ने गरी महामन्त्रीले आगामी ६ वटा बैठकको मिति प्रस्ताव गरेका हुन्।

हरेक वर्षको ११ महिना पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने र एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।

असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए। त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टी पङ्क्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ।

साउन महिनामा ‘रुख रोपौँ अभियान सञ्चालन गर्ने, युवासँग सम्बन्धित कार्यक्रम गर्ने, भदौ महिनामा अभियानात्मक कार्यक्रम गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्यालेन्डर प्रस्ताव गरिएको छ। असोजमा क्षेत्रीय सभापतिहरूसँग बैठक गर्ने, कात्तिकमा चियापान कार्यक्रम गर्ने, अर्थनीतिसम्बन्धी कार्यक्रम गर्ने, मङ्सिरमा महिला हिंसाविरुद्धको कार्यक्रम गर्ने, पुसमा विभिन्न राजनीतिक दललाई आमन्त्रण गरेर कार्यक्रम गर्ने, प्रदेश सांसदहरूसँग बैठक गर्ने प्रस्ताव महामन्त्री थापाले गरेका छन्।

यस्तै माघमा टोलटोलमा काँग्रेस कार्यक्रम सञ्चालन गर्ने, फागुनमा खेलकुद सप्ताह, चैतमा देशैभरि शान्ति पदयात्रा गर्ने, वैशाखमा जिल्ला सभापतिहरूसँग बैठक गर्ने, जेठमा पनि विभिन्न कार्यक्रम गर्ने गरी क्यालेन्डर बनाइएको छ।

बैठकमा महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल ठाकुर सङ्घ र नेपाल दलित सङ्घको तदर्थ समिति बनाउने प्रस्ताव राखेका छन्। म्याद सकिएर तदर्थ समिति बनेको तर, समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ सङ्गठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि थापाको प्रस्ताव छ।

थापाको प्रस्तावमा सबै भ्रातृ संस्थाहरूले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ। हरेक ३/३ महिना प्रगति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। थापाले हाल कायम रहेको २८ वटा विभागहरूमा केही थप गर्न गृहकार्य भइरहेको पनि जानकारी दिए। विभागहरूले आफ्नो कार्य योजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्नुपर्नेछ। साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ।

प्रायजसो पार्टी बैठकमा आफ्ना कुरा राखेर बाहिरिने र मातहतलाई हप्काएर बैठक चलाउने देउवालाई बैठकको प्रत्यक्ष प्रसारण गर्ने आफ्नै प्रस्तावले नियन्त्रणमा राखेको छ। काँग्रेसले हाइटेक प्रविधिको रटान लगाउने राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत बैठकको प्रत्यक्ष प्रसारण गरेर चक्मा समेत दिएको छ।

हालै मात्र अनलाइन सदस्यता वितरण सुरु गरेको काँग्रेसले सदस्यता साउनभित्र उपलब्ध गराइने र भदौ, असोज र कात्तिकमा जिल्ला समितिहरूले नवीकरण गर्ने उल्लेख गरेको छ। त्यति मात्र होइन काँग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यही साउन २० देखि ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने भएको छ।

गठबन्धनविरुद्ध नबोल्न निर्देशन

काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए। गठबन्धन गर्दा पार्टीलाई घाटा भएको भनेर आलोचना गर्ने पार्टीका नेताहरूलाई मन्त्री खड्काले राष्ट्रपति पाएर फाइदा भएको सुनाए।

खड्काले अहिलेको गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिन देशभरका काँग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए। आफ्नो नेतृत्वमा सरकारमा सहभागी काँग्रेसका मन्त्रीले पार्टीको शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता पनि उपप्रधानमन्त्री खड्काले जनाए।

काँग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबिचको गठबन्धन पुनर्स्थापित हुने वातावरण बनेको र अहिले काँग्रेस सरकारमा पुगेको उनले उल्लेख गरे।

‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ। त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो। विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली काँग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा। हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ता भएको थियो,’पार्टी उपसभापति रहेका खड्काले भने,‘त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ। त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनर्स्थापित हुने राजनीतिक वातावरण बन्यो। त्यही वातावरण स्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा निर्वाचित गर्‍यौ।’

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्ने बताए। उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको दाबी सुनाए।

‘सरकारको कामबाट सकेसम्म जनतालाई प्रेरित गरेर जनतालाई उत्साहित गर्ने, जनतालाई नयाँ आशा र भरोसा दिलाउने कामका लागि हामीले अगाडि लाग्नु छ। कहीँ यताउता गर्न सकेनौँ भने जनताप्रति नकारात्मक असर पर्ने, जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका कार्यकर्ता सदस्यहरू हामीसँग रिसाउने काम नभइदिओस् भन्ने आम अपेक्षा छ। जिल्लामा जाँदा त्यो खालको अनुभूति हुन्छ,’उनले भने,‘म लगायत ९ जना साथीहरू सरकारमा छौँ। अहिलेसम्म जानेर नियतवश कुनै गल्ती कमजोरी गरेको जस्तो लाग्दैन।’

काँग्रेस बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे भने छलफल भएन। शरणार्थी प्रकरणबारे बैठकको एजेन्डामै नपारेको काँग्रेसले हिलो दिनको बैठकमा छलफल गरेन।

देउवाले बुझेनन् प्रतिवेदन

काँग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले भने पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ। अभियानमा रहेका नेताहरूले सभापति शेरबहादुर देउवाले बुझ्न नमाने पछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

‘हामीले जेठ महिनाभर देशव्यापी रूपमा पार्टी रूपान्तरण अभियान सञ्चालन गर्‍यौँ। पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसके पार्टीले आगामी चुनौती सामना गर्न सक्दैन। पार्टीका आन्तरिक अव्यवस्था हटाउन सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ। काँग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न खाले समस्या समाधान गरी पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाएर भ्रातृ सङ्गठनलाई व्यवस्थित बनाई समग्र रूपबाट पार्टीको रूपान्तरण गर्न सकेनौँ भने काँग्रेसका चुनौती समाधान गर्न सक्दैनौँ,’घिमिरेले भने,‘हामीले पार्टी सभापतिलाई बुझाउने कोसिस गरेका थियौँ, पार्टी सभापतिको अवस्थाका कारण हामीले भेट गर्न सकेनौँ तर पार्टी मुख्यसचिवमार्फत बुझाएका छौँ।’

प्रतिवेदनमार्फत समानुपातिक निर्वाचन प्रणालीलाई खारेज गर्नुपर्ने र स्थानीय, प्रदेश र सङ्घीय संसद्को विद्यमान संरचनालाई परिवर्तन गर्न माग गरिएको छ। ‘प्रदेशको प्रभावकारिता बढाउने वा विकल्प बारे सोच्ने भन्नेमा छलफल केन्द्रित गर्नुपर्ने, राष्ट्रिय सभालाई समानुपातिक समावेशी बनाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ।

उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। सबै तहका व्यवस्थापित र कार्यकारिणी तहमा एक तिहाइ महिला सहभागिता सुनिश्चित हुने गरी पुनर्संरचना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यस्तै, चुनावअघि गरिने गठबन्धन अब नगर्ने भनेर घोषणा गर्नुपर्ने समेत माग गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading