काँग्रेसको सरकारसँग मागै माग, ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय

काँग्रेसको सरकारसँग मागै माग, ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय

काठमाडौं : नेपाली काँग्रेसले सरकारसँग ९ वटा माग गरेको छ। सरकारलाई काँग्रेसले ५ वटा ध्यानाकर्षण गराएको छ।

सरकारले प्रदान गर्ने जनताका दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा लिने सेवाग्राहीमा अनुभूति हुन सक्ने परिस्थिति बनाउन तत्काल सार्थक सुधार गरी नागरिकलाई छिटो छरितो एवं सर्वसुलभ सेवा प्रदान गर्न सरकारसँग काँग्रेसले माग गरेको छ।

मूल्यवृद्धि र कालावजारी नियन्त्रणको लागि थप प्रभावकारी कार्य गर्न बजार अनुगमन गरी न्यून आए भएका, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, सडक पेटीमा सानातिना व्यापार गरी गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई बेरोजगार रहेका व्यक्ति परिवारका बारेमा सूक्ष्म अध्ययन गरी उनीहरूको जीविकोपार्जन गर्ने उचित बन्दोबस्त मिलाउन काँग्रेसले सरकारसँग माग गरेको छ।

हालसालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब एक सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन काँग्रेस बैठकले सरकारसँग माग गरेको छ।

विगतका वर्षहरुमाझै किसानले खेती गर्ने समयमा मल बीउको अभाव भोगिरहनु परेको भन्दै काँग्रेसले समयमै सर्वसुलभ रूपमा मल बिउ प्राप्त गर्न सक्ने प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ।

मुलुकभरका पशुमा देखिएको लम्पीस्किन रोगका कारण हजारौँ पशुहरू मरिरहेका भन्दै काँग्रेसले उक्त रोग निवारणको तत्काल उपाय खोज्न र पीडित किसानलाई उचित क्षतिपूर्ति समयमै उपलब्ध गराउन काँग्रेसले सरकारलाई भनेको छ।

तराई मधेसमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न सरकारसँग काँग्रेसले माग गरेको छ।

बर्सातका कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितहरूलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ।

हाल मुलुकभर दिनानुदिन घटेका जातीय भेदभाव र छुवाछुतका घटनाबाट दलित समुदायका व्यक्ति परिवारले भोग्नु गरेको हत्या हिंसा, पारिवारिक बिछोड र विस्थापन जस्ता कहाली लाग्दा घटनाहरूप्रति काँग्रेसले गम्भीर आपत्ति जनाएको छ। त्यस्ता घटनामा पीडितलाई क्षतिपूर्ति सहित न्याय दिलाउन र आगामी दिनमा यस्ता घटना घट्न नदिन प्रभावकारी कार्ययोजना सहित कानुन कार्यान्वयन गरी पिडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरूको समस्यालाई मध्यनजर गर्दै आवश्यक निर्णय गरी पीडितलाई न्याय दिलाउन काँग्रेसले सरकारसँग माग गरेको छ।

अर्थतन्त्रलाई चलायमान बनाउन बैङ्किङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन व्यावसायिक तथा लगानीमैत्री वातावरण बनाउनका लागि प्रभावकारी रणनीतिक आर्थिक कदम चाल्न र सबै तप्काका नागरिकमा सरकारप्रति अभिभावकीय विश्वास जगाउन आवश्यक रहेकोले काँग्रेसले यस संवेदनशील विषयमा तत्काल महत्त्वपूर्ण निर्णय लिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

मुलुकमा यस वर्ष खाद्यान्न सङ्कट हुने सङ्केतहरू देखिन थालेको भन्दै यसको पूर्वानुमान गरेर बेलैमा उचित रणनीतिक सावधानी अपनाउन र आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

काँग्रेसले नागरिकता ऐन पास गर्ने सवालमा जे जति ढिलाइ भए पनि नियमावली यथाशीघ्र बनाई संविधान र कानुन बमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

काँग्रेसलाई नवजीवन दिने प्रयत्न

सहमतिका आधारमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक यथाशीघ्र संसद्बाट पारित गर्न, सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, सङ्घीय शिक्षा ऐन जस्ता अति आवश्यक ऐनहरू हालसम्म नबनेकोले यस विषयमा सरोकारवालाहरुसंग वृहत् छलफल र परामर्श गरी यथाशीघ्र विधेयक संसद्मा ल्याई पारित गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

दशकौँदेखि विद्यमान भूमिहीन सुकुम्वासी, अव्यवस्थित वसोवासी तथा कमैया, हलिया प्रथा लगायत भूमि सम्बन्धी समस्यालाई काँग्रेसले प्रारम्भ देखिनै मिहिन ढङ्गले अध्ययन गरी समाधानको उपायहरू प्रस्तुत गर्दै आएको उल्लेख गर्दै केही स्थानहरूमा प्रारम्भिक नापी पनि नगएको तथा अधिकांश अव्यवस्थित वसोवासीहरुको हकमा शुल्क चर्को भयो भन्ने गुनासो आएकाले सबै खाले उचित सुझावहरूलाई समेत सम्बोधन गर्दै तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न गराउन ध्यानाकर्षण गराएको छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने सङ्कल्प गरेको छ।

जो कोही व्यक्तिले पनि भ्रष्टाचारको कसुर गरे कानुन बमोजिम कडा भन्दा कडा दण्ड सजाय गरी मुलुकलाई भ्रष्टाचारमुक्त गर्न काँग्रेस सदैव प्रतिबद्ध रहँदै आएको र भविष्यमा पनि रहने महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव काँग्रेस बैठकले पारित गरेको छ।

काँग्रेस बैठकमा नक्कली शरणार्थी : बालकृष्णलाई निलम्बन गर्ने कि सरकारबाट हट्ने?

सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचार विरुद्धका कदमहरूमा पार्टीको साथ समर्थन रहेको काँग्रेसले उल्लेख गरेको छ। ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’ भन्ने पार्टीको नीति रहेको काँग्रेसले स्मरण गराएको छ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले ‘नीति अधिवेशन’ गर्ने तय गरेकोमा सोही दफामा यस्तो अधिवेशन सम्बन्धी आवश्यक निर्णय केन्द्रीय कार्यसमितिले गर्नेछ भन्ने व्यवस्था भए अनुरूप, नीति अधिवेशन मार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी २०८० मङ्सिर १३-१५, काठमाडौँमा महासमितिको बैठक बोलाउने काँग्रेसले निर्णय गरेको छ।

काँग्रेसले साङ्गठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा काँग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

गत स्थानीय निर्वाचन र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक निर्णय नमानी निर्वाचनमा उम्मेदवार भई विजयी भएका जंगीलाल राय, नमराज शाही, राजुसिंह कठायत, मनोजकुमार साह, प्रह्लादकुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, रामस्वगारथ यादव, विजयकुमार महतो, विन्देश्वर साह, अकल तामाङ, प्रमोद मोक्तान र लक्ष्मण सिंहको कारबाही फुकुवा गर्ने निर्णय काँग्रेसले गरेको छ।

काँग्रेसले नेपाल दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न गरेको निर्देशन अनुसार तोकिएको मितिमा अधिवेशन नगरेकोले सङ्घको आगामी भाद्र १५ गतेभित्र आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

काँग्रेसले ७५३ स्थानीय तहको कार्यसमितिले आफू मातहत ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय गरेको छ। जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसङ्गतिहरूमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरू सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालो मोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने निर्णय काँग्रेसले गरेको छ।

पार्टीको नाम, झन्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूले सञ्चालन गरेका एकाउन्टहरूलाई तत्काल बन्द गर्न काँग्रेसले सचेत गराएको छ। काँग्रेस जिल्ला कार्यसमिति बाराका सचिव भैयाराम यादवलाई स्थानीय प्रहरी नेतृत्वले गरेको निर्घात कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीलाई निलम्बन गरी अविलम्ब कारबाही गर्न तथा घाइते यादवको सम्पूर्ण उपचारको प्रबन्ध गर्न काँग्रेस बैठकले माग गरेको छ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा श्रावण २ गते प्रारम्भ भई आज १० गते सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बसेको आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गर्नु भएका प्रस्तावहरु बैठकले पारित गरेको छ।

१. वहुदलीय संसदीय शासन प्रणालीमा राजनैतिक विचारधाराका आधारमा संगठित दलहरु बीचमा निर्वाचनका माध्यमले स्वस्थ प्रतिष्पर्धा गरि जनताबाट निर्वाचित हुने र बहुमतका आधारमा शासन सत्ता संचालनको जिम्मेवारी सम्हाल्ने हो। हामीले यही अभ्यास गरिहेका पनि छौं। तर संविधान जारी भएका केही वर्ष नवित्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने र संविधानको मर्म र भावना संरक्षण गर्नुको साटो कानूनी राज्य, विधीको शासन, पारदर्शिता र जवाफदेहिता जस्ता लोकतन्त्रका मुलभूत आधारमानै प्रहार हुन थाल्यो। परिणाम स्वरुप पटक–पटक संसद विघटन भयो। तत्पश्चात वाध्य भएर संविधानका पक्षधरहरु जति एक ठाउँमा बसी चिन्तन, सम्वाद, सहमतिबाट सहकार्य गर्ने प्रतिवद्धता सहित विगतका सवै आन्दोलनका उपलब्धीहरुको रक्षा गर्ने संविधानको कार्यान्वयन गर्दै जनतामा विधीको शासन प्रत्याभूत गर्ने अठोट लिएर पाँच दलीय गठवन्धन बन्यो। अतः नेपाली कांग्रेस संविधानको रक्षा र कार्यान्वयन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न प्रतिवद्ध छ।

२०७९ का सबै तहका निर्वाचनमा यो गठवन्धनकै तर्फवाट भाग लियौं। परिणाम सन्तोषजनक आएता पनि यसै विषयलाई लिएर गठवन्धनमा आवद्ध सबै दलहरुका वीचमा केही असन्तुष्टीहरु देखा परेकै हो। जसका कारण संघीय सरकार निर्माणका दौरानमा पहिलो चरणमा ठूलै कठिनाई सृजना भयो। परिणामत हाम्रा अगाडि आएका केही महत्पूर्ण राष्ट्रिय र प्रादेशिक जिम्मेवारी प्राप्त गर्ने अवसरहरु अनयास टरेर गए। यसले गठवन्धनका अन्य दलहरुमा अन्यौलता सृजना ग¥यो भने नेपाली काँग्रेसको सिङ्गो सांगठनिक संरचना भित्र र बाहिर निराशा छायो।

प्रतिकूल राजनीतिक परिस्थितिमा समेत किञ्चित विचलित नभई होसियारी साथ हाम्रा अनुभवी नेताहरुले आफ्नो राजनैतिक कौशलता प्रदर्शन गर्नु भयो र नेपाली राजनीतिलाई लयमा फर्काउनु भयो। यस परिघटनाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको प्रतिष्ठा बढ्यो भने गठबन्धनमा आवद्ध दलहरुले थप भरोशा गरे । निराश भएका कांग्रेसजनमा पुनः उत्साह छायो। विशिष्ठ परिस्थितिमा विशिष्ठ उद्देश्यले बनेको यो सत्ता गठवन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्नु हामी सबैको दायित्व हो।

यसैको जगमा राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा, लोकतन्त्रको लागि लामो समय जेल जीवन बिताउनु भएका, संविधान निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनु भएको स्थिति छ।

प्राप्त अवसरहरुलाई उच्चतम प्रयोग गरि मुलुक र जनताको अधिकतम हितमा कार्य गर्न सकियो भने मात्रै जनताको विश्वास जित्न सकिन्छ, जिते पछि मात्रै पार्टीको उद्देश्य र प्रतिवद्धता अनुसार जनताको सेवा गर्ने अवसर प्राप्त हुन्छ भन्ने हेक्का हामी सबैले राख्नु पर्दछ। त्यसैले नेपाली कांग्रेसको तर्फवाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधिहरुलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्दै आर्थिक अनियमिततावाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरि परिचालन गर्ने सङ्कल्प गर्दछ।

(२) सुशासन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो । सुशासन र भ्रष्टाचार संगसंगै जान सक्दैन। अर्थात भ्रष्टाचार, अनियमितता र बेथिती निर्मूल नगरी न सुशासन आउँछ। यी गहन विषयलाई हृदयङ्गम गरि नेपाली कांग्रेसले नै आज भन्दा २१ वर्ष पहिले २०५९ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेको हो भन्ने कुरा स्पष्टै छ। भ्रष्टाचार जघन्य अपराध हो। यसको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनैतिक दल हुदैन। जो कोही व्यक्तिले पनि भ्रष्टाचारको कसूर गरे कानून बमोजिम कडा भन्दा कडा दण्डसजाय गरि मुलुकलाई भ्रष्टाचारमुक्त गर्न नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहदै आएको छ र भविष्यमा पनि रहनेछ। नेपाली कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचार विरुद्धका कदमहरुमा हाम्रो पार्टीको साथ समर्थन रहेको विदितै छ। ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन र कोही निर्दोष नफसुन’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ।

(३) जनताले चाहेको भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र विकास निर्माणका क्षेत्रमा देखिएको अनियमिततालाई अन्त्य गरी सुशासनको प्रत्याभूति दिलाउन देहाय बमोजिमका कार्य गर्नु आवश्यक भएकोले यो बैठक सरकारलाई देहाय बमोजिम ध्यानाकर्षण गर्दछ।

३.१ सरकारले प्रदान गर्ने जनताका दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सेवाहरु राहदानी, राष्ट्रिय परिचय–पत्र, सवारी चालक अनुमति पत्र लगायतका अति आवश्यक कागजात लिन प्रक्रिया टुङ्गिए पछि पनि सम्वन्धित व्यक्तिले अनिश्चित अवधि सम्म प्रतिक्षा गर्नु पर्ने र प्राप्ति हुने समयमा कष्टकर लामो लाइन वस्नुपर्ने अवस्थामा केहि सुधार भएको छ। तैपनि सेवाग्राहीमा अनुभूति हुन सक्ने परिस्थिति बनाउन तत्काल सार्थक सुधार गरि नागरिकलाई छिटो छरितो एवं सर्वशुलभ सेवा प्रदान गर्न नेपाली कांग्रेस सरकारसंग जोडदार माग गर्दछ।

३.२ विगत केहि वर्ष पहिले फैलिएको विश्वव्यापी कोरोना माहामारी र युक्रेन–रसिया युद्धका कारण संसारभर उत्पादन र वितरण प्रणालीमा अप्रत्याशीत नकारात्मक प्रभाव पर्न गयो। एक हदसम्म नेपालमा पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ। जसका कारण उद्योगी, व्यापारी, व्यावसायी, किसान, मजदुर आ–आफ्नो व्यवसाय संचालन गर्ने चिन्ता संगसंगै दैनिक घर संचालनकै बारेमा समेत चिन्ताग्रस्त छन्। यस परिस्थितिमा बनेको गठवन्धनको सरकारले यी समस्यालाई सम्बोधन गर्ने कार्य गरिरहेको छ। फलतः पछिल्लो समयमा अर्थतन्त्रमा केही सुधारका संकेत देखा परेका छन्। यी सुधारलाई व्यापक र दिगो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउन बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पु¥याउन व्यवसायिक तथा लगानीमैंत्री वातावरण बनाउनका लागि प्रभावकारी रणनीतिक आर्थिक कदम चाल्न र सबै तप्काका नागरिकमा सरकारप्रति अभिभावकीय विश्वास जगाउन आवश्यक रहेकोले नेपाली कांग्रेस यस संवेदनशील विषयमा तत्काल महत्वपूर्ण निर्णय लिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।

३.३ मूल्य वृद्धि र कालावजारी नियन्त्रण गर्ने काममा सरकारले सार्थक पहल गरिरहेको छ। आम नागरिकको चुलो, भान्सा र दैनिक जीवनलाई सहज बनाउन र नागरिकलाई राहत दिलाउनु राज्यको कर्तव्य हो। अतः मूल्यवृद्धि र कालावजारी नियन्त्रणको लागि थप प्रभावकारी कार्य गर्न बजार अनुगमन गरि न्यून आए भएका, दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरि गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई वेराजगार रहेका व्यक्ति परिवारका बारेमा सुक्ष्म अध्ययन गरि उनीहरुको जीविकोपार्जन गर्ने उचित बन्दोवस्त मिलाउन नेपाली कांग्रेस सरकारसंग माग गर्दछ।

३.४ हालसालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कदै गर्दा पक्राउ परेको करीब एक सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्व कार्वाहीको दायरामा ल्याउन यो बैठक सरकारसँग माग गर्दछ।

३.५ विगतका वर्षहरुमाझै किसानले खेती गर्ने समयमा मल बीउको अभाव भोगिरहनु परेको छ। जसका कारण कृषिजन्य उत्पानदनमा सधै र्‍हास आईरहेको छ। यस वर्ष भएको न्यून वर्षाका कारण एक तिहाई जमिनमा धानवाली लगाउन पाएका छैनन्। यसले किसानको दैनिक जीवन र वार्षिक आयमा मात्रै होइन राष्ट्रिय ग्राहस्थ उत्पादनमा पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ। यस विषयमा गम्भीर भई समयमै सर्वशुलभ रुपमा मल बीऊ प्राप्त गर्न सक्ने प्रवन्ध मिलाउन सरकारसंग माग गर्दछ।

३.६ मुलुकभरका पशुमा देखिएको लम्पीस्किन रोगका कारण हजारौं पशुहरु मरिरहेका छन् जसबाट सयौं पशुपालक किसानहरुको लगानीमा असर परेको छ। आर्थिक मन्दी र बैंकको ऋण तिर्न नसकेर अप्ठ्यारोमा किसान परिवार थप संकटमा परेका छन्। यसमा सरकारले उक्त रोग निवारणको तत्काल उपाय खोज्न र पिडित किसानलाई उचित क्षतिपूर्ति समयमै उपलव्ध गराउन यो बैठक माग गर्दछ।

३.७ यस वर्ष भएको न्यून वर्षाका कारण एक तिहाई जमिनमा धानवाली लगाउन पाएका छैनन्। यसले किसानको दैनिक जीवन र वार्षिक आयमा मात्रै होईन राष्ट्रिय ग्राहस्थ उत्पादनमा पनि नकारात्मक प्रभाव पार्नुका साथै मुलुकमा यस वर्ष खाद्यान्न संकट हुने संकेतहरु देखिन थालेका छन्। यसको पूर्वानूमान गरेर बेलैमा उचित रणनीतिक सावधानी अपनाउन र आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न यो बैठक नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।

३.८ साना व्यवसायी तथा विपन्न परिवारको न्यून आयलाई वचत गर्ने र सानातिना घरायसी आर्थिक खाँचो गारो टार्न आफ्नै घर गाउँका परिचितहरुकै बीचमा आपसी सहकार्यबाट सम्भव होस् र गाउँघरका साना–साना बचतलाई पनि लगानीको क्षेत्रमा उपयोग गर्न सकियोस् भन्ने द्येयले शुरु गरिएका लघुवित्त बैंक र सहकारीहरु केही संचालकका कारण वद्नाम भएका छन्। संचालकहरुको लापरवाही, अनियमितता र अपचलनका कारण वचतकर्ता सदस्यहरु ठगिएका छन्। त्यस्तै सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरुको समस्यालाई मध्यनजर गर्दै आवश्यक निर्णय गरि पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस सरकारसंग माग गर्दछ।.

३.९ नेपालको संविधान वमोजिम बाबु आमा जन्मसिद्ध नागरिक रहेछन् भने तीनका सन्तानलाई वंशजको नागरिकता, गैर आवासीय नेपालीलाई आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सहितको नागरिकता एवं विभिन्न कारणले वावुको पहिचान हुन नसकेको अवस्थामा आमाको नाममा नागरिकता प्रदान गर्ने विषय लामो समय देखि थाति रहेको थियो। नेपाली कांग्रेसको नेतृत्वको अघिल्लो सरकारले “नागरिकता कानून” संसदका दुबै सदनबाट पारित गरायो। यसले देशभरका नागरिकता विहिन नागरिकहरुका वीचमा खुशी छाएको छ भने संसारका विभिन्न मुलूकमा छरिएर बसेका नेपालीहरुले नेपालमै आर्थिक सामाजिक तथा धार्मिक साँस्कृतिक कृयाकलापमा सहभागि हुन पाउने हुँदा मुलूकको समृन्नतीमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्टै छ। त्यसैले ऐन पास गर्ने सवालमा जे जति ढिलाई भए पनि नियमावली यथाशीघ्र बनाई संविधान र कानून बमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज वनाउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ।

३.१० मुलुकलाई द्धन्दको भूमरीबाट बाहिर निकाली नेपाली जनताका बीचमा दिगो शान्ति स्थापना गर्ने महान उद्देश्यले प्रेरित भई गरिएको वृहत शान्ति सम्झौताको जगमा हामीले अन्तरिम संसद, अन्तरिम संविधान, संविधानसभाका दुई वटा निर्वाचन, त्यसैका माध्यमले संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्दै सोही बमोजिम तीनै तहका आवधिक निर्वाचन दुई–दुई पटक सम्पन्न भईसक्दा पनि दिगो शान्ति स्थापना गर्न गरिएको लामो प्रयास पछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा प्रस्तुत भैसकेको वर्तमान सन्दर्भमा सहमतिका आधारमा संक्रमणकालिन न्याय सम्वन्धी विधेयक यथाशीघ्र संसदबाट पारित गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ।

३.११ राज्य पुर्नसंरचना गरि मुलुक संविधान बमोजिम संघीय शासन प्रणालीमा गए पनि संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन, संघीय शिक्षा ऐन जस्ता अति आवश्यक ऐनहरु हालसम्म नबनेकोले यस विषयमा सरोकारवालाहरुसंग वृहत छलफल र परामर्श गरि यथाशीघ्र विधेयक संसदमा ल्याई पारित गर्न यो बैठक सरकारको ध्यानापर्षण गराउँदछ।

३.१२ दशकौंदेखि विद्यमान भूमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवासी तथा कमैया, हलिया प्रथा लगायत भूमी सम्वन्धी समस्यालाई नेपाली कांग्रेसले प्रारम्भ देखिनै मिहिन ढंगले अध्ययन गरि समाधानको उपायहरु प्रस्तुत गर्दै आएको छ। विर्ता उन्मूलन, कमैया हलिया मुक्तिको घोषणा र उनीहरुको पुर्नवासको व्यवस्था गर्नु नेपाली कांग्रेसका लागि मात्रै होईन राष्ट्रकै लागि आफैमा ऐतिहासिक कार्य हुन। तत्पश्चात पनि भूमि र भूमिहिनहरुको समस्या समाधान गर्न संविधानले गरेको प्रवन्धलाई आधार मानि नेपाली कांग्रेसकै नेतृत्वको गत सरकारले भूमिहिन दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या दीर्घकालिन समाधानका लागि आयोग गठन गरेको छ। यो आयोगले द्रुतगतिमा काम गरिरहेको र धेरैले जग्गाधनी प्रमाण पुर्जा पाईरहेका छन्। यो कार्य निरन्तर चलिरहेकै छ। यस संगसंगै केही स्थानहरुमा प्रारम्भिक नापी पनि नगएको तथा अधिकांश अव्यवस्थित वसोवासीहरुको हकमा शुल्क चर्को भयो भन्ने गुनासो आएकाले सबैखाले उचित सुझावहरुलाई समेत सम्वोधन गर्दै आयोगको तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न गराउन यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ।

३.१३ जलवायु परिवर्तन र चुरे क्षेत्रमा देखिएको पर्यावरणीय असरले तराई मधेशका अधिकांश भू–भागमा भूमिगत जलको सतह घट्न गएकोले प्रत्येक घरपरिवारले पानीका लागि प्रयोग गर्ने हातेकल (ट्यूवेल) मा पानी आउन छाडेको छ। यस्तै अवस्था निरन्तर रहने र बढ्दै जाने हो भने मधेस प्रदेशमा खानेपानीको हाहाकार हुने देखिन्छ। यो कसरी किन भयो ? यसको समाधान के हुन सक्छ ? तत्काल विज्ञहरुबाट अनुसन्धान गरि समाधानको बाटो निकाल्न र तत्कालका लागि समाधानका वैकल्पीक उपाय खोजी त्यहाँका वासिन्दाको चिन्तालाई समयमै निवारण गर्न यो बैठक सरकारसंग माग
गर्दछ।

३.१४ तराई मधेशमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालिन समाधान खोज्न सरकारसँग माग गर्दछ।

३.१५ वर्षातका कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितहरुलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछ।

(४) जातीय विभेद र लैङ्गिक हिंसाजन्य व्यवहार समाजको कलङ्क हुन । यसको अन्त्यका लागि नेपाली कांग्रेस पार्टीले २००७ सालको क्रान्ति देखि नै “जातपात मान्दैनौ, संगै बसौ संगै खाऔ, भात भताहाको खुुशी” भन्ने नाराका साथ जातीय विभेद विरुद्धको अभियान थालेको र २००९ सालको पाँचौ महाधिवेशनबाट जातीय भेदभाव र छुवाछूतका विरुद्ध पारित प्रस्ताव बमोजिम पार्टी केन्द्रीय कार्यालयबाट आफ्नो पार्टी संगठनका सबै तहमा “जातीय विभद नगर्नुु, त्यस्ता कार्यमा कहि पनि संलग्न नहुनु, त्यस्तो घटनाको जानकारी पाए प्रतिवाद गर्नु” भन्ने परिपत्र, २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा गर्नुभएको ८ वँुदे सामाजिक रुपान्तरणको घोषणा र “२०६३ सालको छुवाछुत मुक्त राष्ट्र घोषणा” लाई समेत स्मरण गर्दै, हाल मुलुकभर दिनानुदिन घटेका जातीय भेदभाव र छुवाछुतका घटनाबाट दलित समुदायका व्यक्ति परिवारले भोग्नु गरेको हत्या हिंसा, पारिवारिक विछोड र विस्थापन जस्ता कहाली लाग्दा घटनाहरुप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति र चिन्ता व्यक्त गर्दै त्यस्ता घटनामा पिडितलाई क्षतिपूर्ति सहित न्याय दिलाउन र आगामी दिनमा यस्ता घटना घट्न नदिन प्रभावकारी कार्ययोजना सहित कानून कार्यान्वयन गरी पिडकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन नेपाली कांग्रेस सरकारसंग जोडदार माग गर्दछ।

(५) सांगठनिक कार्ययोजना र कार्यतालिका सम्बन्धमा बैठकबाट प्राप्त सुझावहरुका आधारमा परिमार्जन गरी पारित गर्ने निर्णय गर्दछ।

(६) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७९ श्रावण २८, असोज ३, असोज १५, असोज १७, असोज २८, मंसिर २४, पुष ३, पुस २६, फागुन १३, चैत्र १, चैत्र ५, चैत्र १६ र चैत्र १९ गते बसेको बैठकद्वारा पारित निर्णयहरुलाई यो बैठक अनुमोदन गर्दछ।

(७) केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रस्तुत गर्नु भएको निर्वाचन सम्बन्धी प्रतिवेदनका निमित्त समितिका संयोजक लगायत सबै सदस्य एवं सहयोगी सबैलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ।

(८) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ (५) बमोजिम नेपाली कांग्रेसको १४ औं महाधिवेशनले ‘नीति अधिवेशन’ गर्ने तय गरेकोमा सोही दफामा यस्तो अधिवेशन सम्बन्धी आवश्यक निर्णय केन्द्रीय कार्यसमितिले गर्नेछ भन्ने व्यवस्था भए अनुरुप, नीति अधिवेशन मार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी २०८० मंसिर १३—१५, काठमाडौंमा महासमितिको बैठक बोलाउने निर्णय गर्दछ।

(९) विधानको धारा ३७(१) को (ड) (ढ) र (ण) बमोजिम बैठकमा प्रस्तावित विभागहरुको नाम र कार्यक्षेत्र सम्बन्धी आएको प्रस्तावलाई बैठकमा प्राप्त सुझावहरुका आधारमा आवश्यक परिमार्जन गरी पारित गर्ने निर्णय गर्दछ।

(१०) नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ संचालन गर्ने निर्णय गर्दछ।

(११) गत स्थानीय निर्वाचन र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक निर्णय नमानी निर्वाचनमा उम्मेदवार भई विजयी भएका देहाय बमोजिमका व्यक्तिहरुले पार्टीको केन्द्रीय कार्यालयमा आफूहरुबाट भएको गल्तीलाई स्वीकारी पार्टीको विधान, नियम र अनुशासनमा रही पार्टीमा फर्की काम गर्ने प्रतिवद्धता सहितको निवेदन दिएकाले उनीहरुलाई गरिएको कार्वाही फुकुवा गरिएको छ।
१. जंगीलाल राय– सर्लाही, प्रतिनिधि सभा क्षेत्र नं. २ (१)
२. देवेन्द्र बहादुर शाही, चन्दननाथ नगरपालिका, जुम्ला (प्रदेश सभा क्षेत्र नं. १)
३. नमराज शाही, आठविस नगरपालिका वडा नं. ७, दैलेख । (जिल्ला समन्वय प्रमुख)
४. राजुसिंह कठायत, चन्दननाथ नगरपालिका, जुम्ला ।
५. मनोजकुमार साह, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५, धनुषा ।
६. प्रह्लादकुमार क्षेत्री, वर्दिवास न.पा., नगर प्रमुख
७. तारादेवी महतो, वर्दिवास न.पा., नगर उपप्रमुख
८. भोला खड्का, वर्दिवास न.पा. वडा नं. १ वडा अध्यक्ष
९. रामस्वगारथ यादव, वर्दिवास न.पा वडा नं. ७ वडा सभापति, हाल वडा नं. ७ वडा अध्यक्ष
१०. विजयकुमार महतो, हाल वर्दिवास न.पा. वडा नं. १४ वडा अध्यक्ष
११. विन्देश्वर साह, हाल वर्दिवास नगरपालिका कार्यपालिका सदस्य
१२. अकल तामाङ्ग, वर्दिवास नगरपालिका वडा नं. ४ वडा अध्यक्ष
१३. प्रमोद मुक्तान, वर्दिवास नगरपालिका वडा नं. १० वडा अध्यक्ष
१४. लक्ष्मण सिंह, वर्दिवास नगरपालिका वडा नं. १३ वडा अध्यक्ष

(१२) पार्टी केन्द्रीय कार्यसमितिको विगतको बैठकबाट नेपाल दलित संघको केन्द्रीय महाधिवेशन गर्न गरेको निर्देशन अनुसार तोकिएको मितिमा अधिवेशन नगरेकोले संघको आगामी भाद्र १५ गतेभित्र आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने निर्णय गर्दछ।

(१३) गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात नेपाली कांग्रेस संसदीय दल एवं संसद सदस्यहरुले संसदमा खेलेको भूमिका सम्बन्धी प्रमुख सचेतक मा. रमेश लेखकले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा वृहत छलफल गरी पारित गर्नुका साथै संसदीय दलका आन्तरिक संरचनाभित्र पूरा गर्न बाँकी रहेका कार्यसमिति र विषयगत समितिलाई यथाशीघ्र पूर्णता दिंदै जनताको प्रत्यक्ष सरोकार एवं दीर्घकालीन महत्वका विषयमा हुने संसदीय गतिविधिमा थप प्रभावकारी भूमिका खेल्न संसदीय दललाई निर्देशन गर्ने निर्णय गर्दछ।

(१४) नेपाली कांग्रेस सदैव जनताको बीचमा रहेर जनताको सुख, दुःखको सहयात्री बन्दै आएको छ। यसक्रममा गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्यहरु अझ व्यवस्थित रुपले सम्पादन गर्न ७५३ स्थानीय तहको कार्यसमितिले आफू मातहत “गाउँ सेवा दल” गठन गर्ने निर्णय यो बैठक गर्दछ। पालिका समितिले आवश्यकता अनुरुप वडा र टोल समिति अन्तर्गत समेत यो अभियानलाई अघि बढाउन सक्नेछन्।

(१५) जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरुमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरु सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आवद्ध व्यक्तिको सदस्यता अविलम्व खारेज गर्ने निर्णय गर्दछ।

(१६) हरेक राजनैतिक पार्टी निश्चित विचार, सिद्धान्तका आधारमा स्थापना हुन्छन् र असल नेतृत्व समसामयिक एजेण्डा, प्रभावकारी कार्यक्रम र अनुशासित सदस्य र समर्थकले पार्टी वलियो, ठूलो एवं लोकप्रिय बन्छन् भन्ने सवालमा हामी सबैको विमति नहोला। नीति सिद्धान्तबाट विचलित हुँदा, समसामयिक एजेण्डा वेवास्ता गर्दा, नेतृत्वले भरोशा दिलाउन नसक्दा र सदस्यहरुमा अनुशासन र गतिशिलता नहुँदा पार्टी चल्न त के उठ्न पनि सक्दैन। अहिले कांग्रेस मात्रै होईन मुलुकनै नेपाली कांग्रेसले अवलम्वन गरेको बाटोमा छ। समसामयिक ऐजेण्डा र परिवर्तनको नेतृत्व सदैव नेपाली कांग्रेसले गरिआएको छ। सबै दलभन्दा धेरै सदस्य हाम्रै दलमा छन्। हाम्रो दल मुलुककै सवैभन्दा जेठो र ठूलो लोकतान्त्रिक दल हो। समाजमा नकारात्मकता र निराशा चिर्दै सकारात्मक संप्रेषण, आशा र विश्वासको वातावरण बनाउने अभिभारा पनि नेपाली कांग्रेसकै हो। अतः यो बैठक समस्त पार्टी सदस्यलाई सामाजिक सञ्जाल मार्फतको अभिव्यक्तिमा यसलाई केन्द्रमा राख्न र सञ्जाल मार्फत पार्टीले र पार्टीको सरकारले विगतमा र वर्तमानमा गरेका राम्रा कामहरु जनसमक्ष नविन विश्वासको आधारका रुपमा राख्न अपिल गर्दछ।

(१७) सूचना, संचार र प्रविधिको उच्चतम प्रयोगलाई आज कसैले पनि इन्कार्न सक्दैन। यसको सहि प्रयोगले पार्टी संगठन विस्तारमा पर्याप्त फाइदा हुने कुरामा कुनै दुविधा छैन र आजको विश्वमा कोही पनि व्यक्ति सामाजिक सञ्जालबाट अलग रहने कुरा सम्भव पनि छैन। तर यसको दुरुपयोगले व्यक्ति, परिवार, समाज, दल, संगठन र राष्ट्रलाई समेत गम्भीर क्षति पुगेको, विभिन्न खाले अपराधका घटना घटेको यथार्थलाई पनि विर्सन सकिदैन।

यस सन्दर्भमा, नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान पनि सामाजिक सञ्जालको प्रयोग आवश्यक छ । त्यसैले पार्टी संगठन निर्माण र विस्तारमा सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्न पार्टी संगठनका सबै तह केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संसदीय क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति, गाँउ/नगर पालिका कार्यसमिति, वडा कार्यसमिति र टोल समितिले “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरि सामाजिक सञ्जालमा आफ्नो छुट्टै आधिकारिक एकाउण्ट आवश्यकता अनुसार संचालन गरिनेछ। तर पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेका यस्ता एकाउन्टहरुलाई तत्काल बन्द गर्न सचेत गराइन्छ। सो नगरे आवश्यक कार्वाही अगाडि बढाउने समेत स्पष्ट गरिन्छ।

(१८) नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिव भैयाराम यादवलाई स्थानीय प्रहरी नेतृत्वले गरेको निर्घात कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिंदै दोषीलाई निलम्वन गरी अविलम्व कार्वाही गर्न तथा घाइते यादवको सम्पूर्ण उपचारको प्रबन्ध गर्न यो बैठक माग गर्दछ।

स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपाने, नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति एवं पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल, नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति अर्जुनकुमार खड्का, नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मी र नेपाल तरुण दलका पूर्व केन्द्रीय महासचिव डा. राजाराम कार्की विगत केही समयदेखि अस्वस्थ भई उपचाररत हुनुहुन्छ। यो बैठक उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

शोक प्रस्ताव

बैठकमा अन्त्यमा, यो अवधिका बीचमा नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरुको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। दिवंगत आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०८० असोज २ गते बस्नेछ।

जय नेपाल!
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.