काँग्रेस बैठकमा नक्कली शरणार्थी : बालकृष्णलाई निलम्बन गर्ने कि सरकारबाट हट्ने?

काँग्रेस बैठकमा नक्कली शरणार्थी : बालकृष्णलाई निलम्बन गर्ने कि सरकारबाट हट्ने?

काठमाडौं : नेपाली काँग्रेसमा भ्रष्टाचार आरोपीलाई पार्टीबाट संरक्षण भएको भन्दै नेतृत्वको आलोचना भएको छ। अभियोग पुष्टि नभएको भन्दै केही केन्द्रीय सदस्यले नेतृत्वको बचाउ पनि गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पुगेका बालकृष्ण खाँणबारे मौन बसेको काँग्रेस नेतृत्वलाई केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँण पक्राउ पर्नु गलत भए सरकारबाट हट्नु पर्ने बताए।

खाँण थुनामा पुग्नु जायज भए पार्टीबाट निलम्बन गर्नु पर्ने माग शिवाकोटीले गरे। ‘खाँण प्रति अन्याय भयो भन्ने हो भने काँग्रेस सरकारबाट हट्नु पर्‍यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई निलम्बन गर्नुपर्छ कि पर्दैन,’उनले भने,‘यसमा कि थुनामा हुने दोषी हुनु पर्‍यो, कि थुनामा पठाउने सरकारमा रहेका हाम्रै मन्त्रीहरू पूर्वाग्रही हुनुपर्‍यो।’

उनले थुनामा रहेका र थुनातर्फ हेरिरहेकालाई भ्रममा राख्न नहुने बताए। उनले पार्टीले प्रस्ट भन्नु पर्ने बताए।

सभापति शेरबहादुर देउवाको पक्ष र विपक्षमा केन्द्रित रहेर नेताहरूको अभिव्यक्ति आइरहेको छ। नक्कली भुटानी शरणार्थी काण्डमा जेल पुगेका नेता खाँणको बचाउ गर्ने अभिव्यक्ति आएपछि केही केन्द्रीय सदस्यले आपत्ति जनाए। नेता प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको टिप्पणी गरे।

नेता चक्रबहादुर केसीले अहिले कार्यपालिका सर्वेसर्वा भएको भन्दै भ्रष्टाचारबारे काँग्रेस किन मौन बसेको भनेर प्रश्न गरे। उनले अपराध र भ्रष्टाचारबारेका मुद्दामा मौन बस्न नहुने बताए।

बुढो र सुस्त पार्टीको रूपमा आलोचित काँग्रेसलाई नवजीवन दिने प्रयत्न

काँग्रेसमा नेताको ढोकादेखि चोटासम्म धाउनेले मात्रै अवसर पाएको विषय पनि उठेको छ। काठमाडौँमा बसेर नेताहरूका अगाडी गणेश प्रवृत्ति देखाउनेले मात्रै अवसर पाएको केन्द्रीय सदस्यहरूले उजागर समेत गरे।

कुनै पद पाउन नेताहरूको नजिक हुनुपर्ने र चाकडीमा लाग्नु पर्ने अवस्था कायम रहेकाले यस्तो प्रवृत्ति अन्त्य हुनु पर्ने उनीहरूको माग छ। नेता रामजनम चौधरीले गाउँमा बसेर काम गर्ने कार्यकर्ताले कहिल्यै अवसरै नपाउने बताए।

काठमाडौँमा बस्ने नेताले अवसरै अवसर पाउने गरेको उनले उल्लेख गरे। ‘हरेक कार्यक्रममा हामी गाउँदेखि वडासम्म सङ्गठनमा लाग्ने, अनि कोही काठमाडौं बसेर सारा काम गर्ने,’उनले भने,‘हामी किन गाउँ बस्ने, काठमाडौं बस्छु।’

काँग्रेसभित्र तानाशाही र मनोपोली चलेको भन्दै उनले यसरी सङ्गठन नबन्ने चेतावनी दिए। पार्टी सभापतिप्रति आक्रोश व्यक्त भएपछि देउवा पक्षधरले रक्षात्मक अभिव्यक्ति दिए। उनीहरूले महामन्त्री गगन थापा प्रति आक्रोश पोखे।

नेतृ उर्मिला नेपाल केसीले महामन्त्री गगन थापाले उठाएको नेतृत्व परिवर्तनको एजेन्डालाई बेमौसमी बाजाको संज्ञा दिइन। ‘नेतृत्व परिवर्तनको कुरा जहाँसम्म उठिरहेको छ,यो बेमौसमको बाजा जस्तो लाग्छ,’उनले भनिन्,‘भरखरै मात्रै अधिवेशन सकेका छौ,विधान अनुसार चुनिएका सभापतिलाई काम गर्न दिनुपर्छ।’

संस्थापन पक्षमा लागेकै कारण कोसी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका नेता उद्धव थापाले केशव बुढाथोकीलाई झटारो हानेका छन्। उनले एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती नै दिए। ‘सरकारको नेतृत्वलाई बचाउनु पर्ने ठाउँमा मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने प्रश्न गर्नु भएको छ,’उनले भने,‘तपाईँले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ,नेपाली काँग्रेसको गठबन्धन दलले निर्णय गरेको मुख्यमन्त्री उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ।’

केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरेर रमिता देखाएको टिप्पणी पनि भएको छ। पार्टीलाई नवजीवन दिन पहिलो पटक बैठकको प्रत्यक्ष प्रसारण गरेको काँग्रेसमा घर झगडा बाहिर ल्याएको भन्दै केन्द्रीय सदस्यहरूले नै असन्तुष्टि जनाएका छन्।

केही केन्द्रीय सदस्यले पार्टीमा पक्ष विपक्षमा केन्द्रित आरोप प्रत्यारोपले विपक्षीलाई फाइदा पुग्ने भन्दै केही केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण नै गलत भएको बताएका छन्।

पार्टी भित्रको झगडा बाहिर सुनिएको भन्दै प्रत्यक्ष प्रसारण नै बन्द गर्नु पर्ने माग समेत काँग्रेस बैठकमा भएको छ। केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पार्टीभित्रको झगडा बाहिर सुनाउन नहुने बताए। ‘हाम्रो पार्टी साथीहरूको झगडा यही भित्र गर्नुपर्छ, यो बाहिर होइन,’उनले प्रश्न गरे,‘हाम्रा तितामिठा कुराहरू घरभित्र गर्नुपर्छ,बाहिर गएर अर्काको अगाडी आफ्ना कुराहरू राखेको खण्डमा कमजोरी को हुन्छौ त?’

काँग्रेस बैठकमा अझै दुई दिन केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहने नेता प्रदीप पौडेलले बताए। आइतबारसम्म बोल्ने क्रम जारी रहने उनले बताए। ‘सबै केन्द्रीय कार्यसमितिका सदस्यहरूले बैठकमा आफ्ना धारणा उत्साहजनकढंगले राखिरहनु भएको छ,समसामयिक विषयमा छलफल भइरहेको छ’पौडेलले भने,‘यो छलफलबाट एउटा निष्कर्ष निकालेर नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न हुने मेरो विश्वास छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading