ललिता निवासका आरोपी सबै रिहा, भन्सारको तस्करी लुकाउन आन्दोलन

ललिता निवासका आरोपी सबै रिहा, भन्सारको तस्करी लुकाउन आन्दोलन

काठमाडौं : सरकारी वकिलको कार्यालयले किर्तेमा मात्रै मुद्दा दर्ता गर्दा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने सबै रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेशमा पक्राउ परेका १७ जना धरौटीमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएका केशव तुलाधर साधारण तारेखमा रिहा भए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले सङ्गठित अपराधमा मुद्दा दर्ता गर्न अनुसन्धान प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्रै अभियोग दर्ता गर्दा सबै आरोपी जेल मुक्त भएका हुन्।

मुख्य आरोपी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्वमुख्य सचिव लीलामणि पौडेलले सीआइवीको सामान्य बयानकै आधारमा उन्मुक्ति पाएका छन्।

निर्णय गर्न लगाउनेलाई उम्काउने र अराएको काम गर्नेलाई थुनेर तमासा देखाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप नै लगाएका छन्। ‘हाकिम हुनुहुन्न भनेर सही गर्न लगाउने अनि उसलाई चाहिँ प्लेनको सिटबाट तानेर तमासा देखाउने,’ओलीले भने,‘दलाल पुँजीवादीहरूको तमासा हो यो।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवासका आरोपीसँग १ लाख १० हजार देखि २ करोड ४६ लाख रुपैयाँसम्म धरौटी माग गरेको छ। सबै भन्दा धेरै धरौटी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ माग भएको छ।

सरकारले बाबुराम र माधव नेपाललाई चोख्याएपछि आक्रोशित एमाले अध्यक्ष ओलीले भाटभटेनीका सञ्चालक गुरुङलाई गरिखान नदिएको समेत बताए। ‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरी खायो, गरिखान दिनु हुँदैन,’ओलीले भने,‘राष्ट्रिय उद्योगपतिहरूलाई छानिछानी लखेटेको छ।’

सुन तस्करीमा भन्सार अधिकृत पक्राउ, आइतबार ललिता निवासको थुनछेक आदेश

जिल्ला अदालतले ललिता निवासका प्रतिवादीहरू शिवजी भट्ट र ध्रुव प्रसाद अर्यालसँग प्रतिव्यक्ति ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ, लोकहरि घिमिरे, घमन कुमार कार्की, बालकृष्ण श्रेष्ठ, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुण कुमार श्रेष्ठसँग प्रतिव्यक्ति ७ लाख ५० हजार धरौटी माग गरेको छ।

कलाधर देउजा र विनोद पौडेलसँग भने १५ लाख धरौटी माग गरेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जय कुमार महर्जनसँग अदालतले १ लाख १० हजार धरौटी मागेको उनले बताए।

सङ्गठित अपराधमा मुद्दा दर्ता नगरेकोमा असन्तुष्टि जनाउँदै सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेलाई सरुवा गर्ने गृह मन्त्रालयको प्रयासमा काँग्रेस सभापति शेरबहादुर देउवाले ब्रेक लगाएको आरोप यसअघि नै लागेको थियो। सीआइवीले गृहसँग गुनासो गरेपछि नेउपानेलाई सरुवा गर्ने तयारी भएको थियो। तर, देउवाले नेउपानेको सरुवा रोकेका थिए।

आरोप अस्वीकार

आफ्नालाई जोगाउने, विरोधीलाई छानिछानी थुन्ने गरेको आरोपलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्। उनले आफूहरूमाथि प्रतिक्रियावादीहरुले आक्रमण गरिरहेको आरोप लगाएका छन्।

सत्ता गठबन्धन भित्र बार्गेनिङको शक्ति आर्जन गर्न समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्डले हेटौडामा भएको सन्देश सभामा सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतर्फी आक्रमण सुरु भएको बताए।

केही दिन अघि काँग्रेसका सहमहामन्त्रीमाथि भएको खुकुरी आक्रमण सामान्य घटना नभएको उनले सुनाए। ‘निरङ्कुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेताहरूमाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य होइन,’उनले भने,‘यसमा हामी सबै सचेत हुनै पर्छ।’

प्रधानमन्त्री प्रचण्डले राजतन्त्रका दलालहरूबाट सचेत हुनुपर्ने बताइरहँदा राजावादीहरू फेरि सल्बल्याउन थालेका छन्। राजावादीहरू भ्रष्टाचारका विभिन्न काण्डहरूमा संलग्नता भएका दोषीलाई सरकारबाटै उन्मुक्ति दिन थालिएको आरोप लगाएर राजा फर्काउने अभियानमा लागेका छन्।

देशमा गणतन्त्र आए पनि आम नागरिकको जीवनमा परिवर्तन आउन नसकेको, देशको स्वाधीनता सीमित व्यक्तिहरूको कब्जामा गएको तथा धार्मिक द्वन्द्व फैलन थालेको भन्दै अब राजनीतिक कोर्समा नै परिवर्तनको आवश्यकता देखिएको राजावादीहरूले तर्क गरेका छन्।

देश पूरै बरबादीतर्फ गइसकेकोले राजा फर्काउन आवश्यक रहेको उनीहरूको भनाई छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजा सहितको व्यवस्था फर्काउन राजनीतिक दलहरूलाई आग्रह नै गरेका छन्। ‘देशलाई यो भन्दा थप बरबाद हुन नदिनका लागि मुख्य राजनीतिक शक्तिहरूको बिचमा त्यो कोर्स करेक्सनका लागि म आग्रह गर्न चाहन्छु,’उनले भने,‘धार्मिक, जातीय सद्भाव कायम राख्नका लागि राजा, राजनीतिक दल र जनता नयाँ व्यवस्थाको निर्माण गर्न ढिलो गर्नु हुँदैन।’

अहिलेको व्यवस्थाप्रति सत्तारुढ दलहरू पनि सन्तुष्ट देखिएका छैनन्। पटक पटक त्यही व्यक्ति पटक पटक प्रधानमन्त्री बने पनि उनीहरूबाटै देशको बलात्कार भइरहेकाले देशलाई बलात्कारीबाट बचाउनुपर्ने बेला आएको काँग्रेस नेता चन्द्र भण्डारीले बताए। ‘मेरो देश हुने खाने, ठुला बडा, पदमा आसीन व्यक्तिका वरिपरि, व्यक्तिबाट देश बारम्बार बलात्कृत भइरहेको छ, यो बलात्कारीबाट मुक्त दिनुपर्छ, एउटै व्यक्तिलाई बैङ्क, त्यही व्यक्तिलाई स्कुल, त्यही व्यक्तिलाई पहाड खनेर नाङ्गो बनाउने लाइसेन्स संसारमा कसलाई दिइन्छ?,’नेता भण्डारीले भने,‘आज सोचौँ, ती व्यक्तिका कारण आज यो देश तहसनहस हुँदै छ, उनीहरूले देश लुट्दै छन्।’

तस्करी जोगाउन आन्दोलन

सुन तस्करी प्रकरणमा सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू भने बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीहरूले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाउँदै तीन दिने आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन्।

उनीहरूले आइतबार विरोध स्वरूप ३ घण्टा पेन डाउन गरेका छन्। तस्करीमा संलग्न कर्मचारी रिहा गर्न सरकारलाई बाध्य पार्न कर्मचारीहरूले सोमबार र मङ्गलवार विमानस्थल स्थित भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण काम बन्द गर्ने चेतावनी दिएका छन्।

पाँच बुँदे माग राखेका उनीहरूले २७ भदौभित्र मागहरू सम्बोधन नभए कार्यालयको यात्रु जाँच पास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने कार्य अविलम्ब बन्द हुनुपर्ने, निर्भीक रूपमा उच्च मनोबलका साथ काम गर्ने वातावरण हुनुपर्ने, बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग राखेका छन्।

अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको आरोप उनीहरूले लगाएका छन्।

गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँच पास भए पनि विमानस्थलका कर्मचारीहरूले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन्। यसअघि भदौ १२ गते पनि १३७ कर्मचारीले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा माग गरेका थिए।

सुन तस्करी प्रकरणमा कम्तीमा ७ जना भन्सारका कर्मचारीसहित ३० जना प्रहरीको नियन्त्रणमा छन्। एक जनालाई स्वास्थ्य अवस्थाका कारण हिरासत बाहिरै राखेर सीआइवीले अनुसन्धान गरिरहेको छ।

करिब ६१ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। यसै साता अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरिएको सीआइबीले जनाएको छ।

शनिवार मात्रै भन्सार अधिकृत सहित पक्राउ परेका ३ जना बाहेक सबै आरोपीहरूको बयान लिइसकिएको डिआइजी कुबेर कडायतले जानकारी दिए। उनीहरूको पनि बयान सकाएर दुई तीन दिन भित्रैमा अनुसन्धान प्रतिवेदन बुझाइने कडायतले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.