काठमाडौं : अवैध सुन तस्करी काण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित थप तीन कर्मचारी पक्राउ परेका छन्। भन्सार अधिकृत पुष्पा जोशी तथा नासुद्वय कमल परियार र विरेन्द्र नेपाली पक्राउ परेका हुन्।
सुन तस्करी प्रकरणमा सङ्गठित अपराधको कसुरमा अनुसन्धान जारी राखेको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। करिब ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको थियो।
यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन्। सुन तस्करी प्रकरणमा शनिवार पक्राउ परेका सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन्।
ललिता निवास प्रकरणको मुद्दामा भने आइतबार थुनछेक आदेश दिने अदालतको तयारी छ। न्यायिक हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस शुक्रवार सकिएको छ।
आइतबार सुरुमै लोकहरी घिमिरेको तर्फबाट वकिलहरूले जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन्।
घिमिरे समरजङ्ग कम्पनीका तत्कालीन कार्यालय प्रमुख हुन्। उनको प्रतिरक्षा बहस सकिए लगत्तै जाहेरी कर्ताका तर्फबाट र सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि थुनछेक आदेश दिने तयारी इजलासको छ।
थुनामा रहेका १८ प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग अथवा साधारण तारेखमा रिहा गर्ने आदेश हुनेछ। ललिता निवास प्रकरणमा पूर्वमन्त्री, सचिव, बहालवाला सचिवसहित ३१० जनाविरुद्ध सरकारी लिखत किर्ते कसुरमा मुद्दा दर्ता भएको छ।
विश्राम नदिने दाबी
भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिने दाबी सरकारले गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरिरहेको ठूल्ठूला भ्रष्टाचार प्रकरणमा जनताबाट समेत व्यापक समर्थन मिलेकाले बिराम नलिई अगाडी बढ्ने दाबी गरेका हुन्।
ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनमा उनले अब नेपाललाई विकास र समृद्धिको दिशातर्फ अगाडी लैजान राष्ट्रिय पुँजीको विकासमा जोड दिने बताए। ‘सरकारले अहिले सुशासन, संवृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको छ, यही आधारमा हामीले काम गरिरहेका छौ’मन्त्री श्रेष्ठले भने,‘सरकारले अहिले भ्रष्टाचार विरोधी, दण्डहीनता विरोधी ठूल्ठूला अभियान सञ्चालन गरेको छ, आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ र यसलाई हामी विराम नलिई अगाडि बढाउनेछौ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारले भ्रष्टाचारको विषयमा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले सत्ताको रक्षा कबजको रूपमा सरकारले भ्रष्टाचार र सुशासनको नारा मात्रै घन्काएको बताए।
कोसी प्रदेशमा प्रदेश सभा नै विघटन हुन सक्ने भन्दै उनले कोसी सरकारको स्थायित्वका लागि काँग्रेस एमालेलाई मिलेर सरकार बनाउन सुझाव पनि दिए। ‘मुख्य रूपमा सत्ता पक्षले सत्ता रक्षा कबजको रूपमा प्रयोग गरिरहेको खुलेआम देखिएको छ, यहाँ प्रदेश सभा नै विघटन हुने अवस्था देखिन थालेको छ,’उनले भने,‘मेरो शुभकामना छ, काँग्रेस र एमाले मिलेर गरोस्।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.