नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने, सरकारले सार्वजनिक बिदा दिने

नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने, सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं : संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधान निर्माणका क्रममा नेम्वाङले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पारिवारिक तथा धार्मिक संस्कारअनुसार नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिनेछ। बेलायतमा रहेका जेठा छोरा मिङ्सो नेम्वाङ बुधवार दिउँसो ४ बजेपछि मात्रै आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने भएको हो।

सरकारको निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा हुनेछ। नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थिव शरीर बुधवार दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमै राखिनेछ। जहाँ आफन्तजन, इष्टमित्र र परिवारले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्।

बालुवाटारस्थित निवासमै हृदयाघात भएर शौचालयमा लडेका नेम्वाङलाई राति साढे १ बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

नेम्वाङको निधनले सिङ्गो राजनीतिक वृत्त स्तब्ध भएको छ। अस्पतालबाट पार्टी कार्यालय च्यासल ललितपुरमा लगिएको नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेका मात्र होइन सबै दलका नेता कार्यकर्ताको उत्तिकै उपस्थिति रहेको थियो।

७१ वर्षको उमेरमा निधन भएका नेम्वाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवि बनाएका थिए। २००९ साल फागुन २८ गते माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकाको सभामुख तथा पहिलो र दोस्रो संविधान सभा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।

२०६२–६३ जनआन्दोलनसँगै पुनर्स्थापित संसद्का सभामुख भएका नेम्वाङ ०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए। सहमति र सहकार्यका पर्याय नेम्वाङले सधैँ जसो राष्ट्रियता र संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै आएका थिए।

निधनसँगै शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउने उनको उद्देश्य अपुरै रहन पुगेको छ। पछिल्लो पटक धरान पुगेर संविधान जारी गर्दा ताकाका षडयन्त्र र राजनीतिलाई चित्रण गर्दै नेपालको झन्डा पास गरेको प्रसङ्ग सुनाएका नेम्वाङको त्यो नै अन्तिम सार्वजनिक कार्यक्रम रहन गयो।

बिदा भए संसदीय राजनीतिका खेलाडी

संविधान निर्माणका साक्षी, लोकतान्त्रिक जनआन्दोलन र गणतान्त्रिक आन्दोलनका अग्रणी नेम्वाङको निधनसँगै थुप्रै विषयहरूको रहस्य गर्भमै रहन पुगेको छ। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले परिवर्तनको आन्दोलनमा नेम्वाङको भूमिका उल्लेखनीय रहेको सुनाए। नेपालले भने,‘गणतान्त्रिक आन्दोलनको कुरा गर्नुहोस्, आन्दोलनबाट प्राप्त भएका उपलब्धिको संस्थागत गर्ने कुरा गर्नुहोस्, संविधान निर्माण जस्तो जटिल कामको कुरा गर्नुहोस्, सदन सञ्चालनमा पनि उहाँले जुन कुशलता देखाउनु भएको थियो, संविधान निर्माणको बेलामा पनि जुन खुसी प्रस्तुत गर्नु भएको थियो, त्यो कमै व्यक्तिमा त्यस्तो हुन्छ।’

नेपाली काँग्रेस नेता मिनेन्द्र रिजाल नेम्वाङको शैली र समन्वयकारी भूमिकाको स्मरण गरेका छन्। ‘नेपाली राजनीति अहिले असहज अवस्थामा छ, सत्तामा हौँ, विपक्षमा हौँ असाध्यै असहज छ,’नेम्वाङको निधनमा शोक व्यक्त गर्दै रिजालले भने,‘यस्तो असहजताका बीचमा धेरै अप्ठेरो पर्दा पनि असाध्यै तिक्त भाव बाट छुट्टिने बेलामा पनि समकालीन राजनीतिमा मुसुक्क हाँसेर के गर्ने, कसरी अगाडि जाने भन्नुहुन्थ्यो।’

नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता तथा कार्यकर्ताहरूले शोक व्यक्त गरेका छन्।

नेकपा एमालेले नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। मङ्गलवार बसेको आकस्मिक सचिवालय बैठकले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

त्यस्तै सबै पार्टी कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्र, प्रदेश, जिल्ला र इलामको नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिनेछ।

एमालेले असोज २ गते गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ। नेम्वाङको निधनका करण प्रतिनिधि सभा बैठक बिहीबारका लागि सरेको छ।

नेपाली काँग्रेसले मङ्गलवार बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम र समाजवादी मोर्चाको धनगढीमा तय भएको सन्देश सभा स्थगित भएको छ। नेम्वाङको निधनमा अन्य दल, तथा विभिन्न सङ्घ संस्थाले दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन्।

यस्तै मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको मङ्गलवार नै निधन भएको छ। क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसद यादवको बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। यादव जसपाबाट समानुपातिक सांसद बनेकी थिइन।

यस्तै लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको मङ्गलवार नै निधन भएको छ। निमोनियाका कारण पराजुलीको बिहान बी एन्ड बी अस्पताल ग्वार्कोमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। काठमाडौं कोटेश्वरमा जन्मेका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। साहित्यिक पत्रकारितामा उनी ३० वर्षदेखि कार्यरत थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.