भुटानी प्रधानमन्त्री लोटेको दाबी, नेपालसँग सैद्धान्तिक रूपमा छलफल भइरहेको छ, हाम्रा मान्छे छन् भने ल्याउँछौ

भुटानी प्रधानमन्त्री लोटेको दाबी, नेपालसँग सैद्धान्तिक रूपमा छलफल भइरहेको छ, हाम्रा मान्छे छन् भने ल्याउँछौ

काठमाडौं : भुटानमा ३६ जनालाई राजनीतिक बन्दी बनाइएको छ। ३७ जना बन्दीमध्ये एक जना मधुकर मोङ्गर रिहा भएका छन्। उनी नेपालको शरणार्थी शिविरमा बसेका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले राजनीतिक बन्दी रिहा गर्न भुटान सरकारलाई आग्रह गरे पश्चात् मोङ्गर पहिलो बन्दी हुन् जो रिहा भए तर पनि बाँकी जेलमै छन्। ‘एक जना बाहेक अरू बन्दी रिहा भएको थाहा छैन,’वाचले निकालेको विज्ञप्तिमा‘मोङ्गर रिहा भएर शरणार्थी शिविरमा छन्, तर उनका परिवार तेस्रो देश पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन्।’

वाचले जेलमा रहेका राजनीतिक बन्दीलाई तत्काल रिहा गर्न र परिवारसँग पुनर्मिलन गराउन भुटान सरकारलाई आग्रह पनि गरेको छ।

राजनीतिक अपराधमा दोषी ठहर भएका एक महिला बन्दी पनि रिहा भएकी छैनन्। भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल १० वर्ष जेल बसेको चेमगाङ कारागारले अमानवीय व्यवहार गरेको मधुकरले बताएका छन्।

राजनीतिक बन्दीलाई बारम्बार यातना दिने, जबरजस्ती गरेको उनले वाचलाई भनेका छन्। खाना र स्वास्थ्य सेवा राजनीतिक बन्दीले कम पाएका छन्। मधुकरले मानव अधिकार उल्लङ्घनमा परेका राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित सरकारहरूले दबाब दिनु पर्ने भनेका छन्।

भुटान सरकारले अन्तर्राष्ट्रियस्तरमा आफ्नो छवि राम्रो देखाउन खोजेको छ। ‘तर, राजनीतिक बन्दीहरूमाथि गरेको व्यवहारले अवस्था राम्रो देखिँदैन,’ह्युमन राइट्स वाचकी एसियाका उपनिर्देशक मीनाक्षी गांगुलीले भनिन,‘राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले यी अन्याय पूर्ण बन्दी बनाइएकाहरूलाई आममाफी दिएर तिनीहरूलाई तुरुन्त रिहा गर्नुपर्छ।’

भुटानका अधिकांश राजनीतिक बन्दीहरू नेपाली भाषी छन्। उनीहरूलाई सन् १९९० र २००८ बीचको राजनीतिक गतिविधिमा संलग्न भएको अभियोगमा बन्दी बनाइएको थियो। उनीहरूलाई राजा, देश र जनता विरुद्धको अपराध गरेको आरोप लगाइएको छ। उनीहरूलाई परिवारसँग भेट गर्न बन्देज छ भने जेल बाहिर सम्पर्क गर्न समेत दिइएको छैन।

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल

युरोपेली युनियनको टोलीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग भेटेर राजनीतिक बन्दीको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ।

ह्युमन राइट्स वाचले निकालेको विज्ञप्तिमा भने विदेशी कूटनीतिज्ञहरूले राजनीतिक बन्दीहरूको मानव अधिकार उल्लङ्घन बारे चिन्ता व्यक्त गर्दा भुटानी अधिकारीहरूले राजनीतिक बन्दी नै नरहेको दाबी गरेको उल्लेख छ।

भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्की अनुसार युरोपियन युनियनको दक्षिण एसिया हेर्ने टोलीले भुटानी प्रधानमन्त्री लोटेलाई भेटेरै राजनीतिक बन्दी रिहा, भुटानी शरणार्थी समस्या समाधानका लागि कुरा गरेको छ।

टोलीसँग प्रधानमन्त्री लोटेले भुटानी शरणार्थी शिविरमा आफ्ना नागरिक भए ल्याउने बताएका छन्।‘हाम्रा मान्छे छन् भने ल्याउँछौ,’उनले भने,‘हामीले नेपालसँग सैद्धान्तिक रूपमा छलफल जारी राखेका छौँ।’

उनले नेपालसँग सैद्धान्तिक छलफल जारी रहेको तर व्यवहारिक छलफल लामो समयदेखि नभएको टोलीलाई बताएको युनियनका सदस्यको भनाई उद्धत गर्दै कार्कीले बताए।

कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणपछि सक्कली भुटानी शरणार्थी समस्या ओझेलमा परेको र नेपाल सरकारले तुरुन्त भुटानसँग वार्ता गरी यो समस्याको दीर्घकालीन समाधान खोज्नु पर्छ भनेका छन्। आगामी संयुक्त राष्ट्रसङ्घको महासम्मेलनमा नेपालका प्रधानमन्त्रीले भुटानसँग यो पहल गरिदिन कार्कीले अनुरोध पनि गरे।

ह्युमन राइट वाच र अभियानले बारम्बार राजनीतिक बन्दी रिहाका लागि पहल गरिदिन युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ मानव अधिकार उच्च आयोग लगायतका अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरेका थिए। ह्युमन राइट्स वाचले भुटान सरकारलाई कैदीहरूको बारेमा पत्र लेखेको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको वाचले निकालेको विज्ञप्तिमा उल्लेख छ।

भुटानको कानुन अनुसार आजीवन कारावासको सजाय भोगिरहेका व्यक्तिलाई राजाले आममाफी दिए मात्रै रिहा हुन्छन्। सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घीय कार्यदलले आजीवन कारावासको सजाय भोगिरहेका थुनुवाहरूलाई आममाफी बाहेक रिहाइको कुनै सम्भावना छैन भनी निष्कर्ष निकालेको थियो।

भुटान सरकारले रिहा गरे पनि देश निकालिएर नेपालको शरणार्थी शिविरमा आइपुगेका मोङ्गरको परिवार भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका गएको छ।

नेपाल र संयुक्त राज्य अमेरिकाका सरकारले संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीको सहयोगमा मोङ्गरलाई आफ्नो परिवारसँग पुनर्मिलन गराउन तत्काल सहयोग गर्नुपर्ने ह्युमन राइट्स वाचले भनेको छ।

मोङ्गरको खाने, बस्ने व्यवस्थाका लागि भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक कार्कीले सहयोग जुटाइरहेका छन्। गोफण्डमी वेबसाइट मार्फत कार्कीले मोङ्गरको व्यवस्थाका लागि ५ हजार अमेरिकी डलर सहयोग जुटाउने लक्ष्य राखेका भए पनि आजसम्म १५ सय मात्र सङ्कलन भएकोले सबै पूर्व भुटानी लगायत सम्पूर्ण न्याय प्रेमीलाई https://gofund.me/2eae39da लिङ्कमा क्लिक गरी सहयोग गरिदिन कार्कीले अनुरोध गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading