गैह्रीगाउँ हत्या प्रकरण

सामान्य विवादमै हत्या गर्ने डरलाग्दो प्रवृत्ति

सामान्य विवादमै हत्या गर्ने डरलाग्दो प्रवृत्ति

काठमाडौं : अपराधका घटना बढिरहेका छन्। देशमा मानवता हराउँदै गएको पछिल्ला केही घटनाले देखाएका छन्। सामान्य विषयमा वादविवादको क्रममा हत्या गर्ने डरलाग्दो प्रवृत्ति देखिएको छ।

प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा पाँच सय एक जनाको हत्या भएको छ। जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका छन्। कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ।

त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौँमा भएको पाइएको छ। यी घटनामा अधिकांश सामान्य नागरिक हत्याका शिकार भएका छन्।

धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए। रिसिइबी बाहेक आर्थिक लेनदेनले हत्यासम्मको घटना हुने गरेको प्रहरीले जनाएको छ।

शुक्रवार राति काठमाडौं र रौतहटमा पाँच जनाको बीभत्स हत्या भएको छ। काठमाडौँ महानगरपालिका–३२ तीनकुने स्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या भएको हो।

काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शनिवार बिहान शव फेला परेको हो।

गैह्रीगाउँ हत्याका शङ्कास्पद ४ जना पक्राउ

घटनाको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। लगत्तै अनुसन्धानको दायरा फराकिलो पारेको प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

घटनास्थलबाट भाग्दै गर्दा पक्राउ परेका २८ वर्षका दीपेन्द्र राईलाई प्रहरीले बलियो प्रमाण भनेको छ। तर राई सहित पक्राउ परेका चारै जनाको हत्यामा संलग्नताबारे यकिन नभएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा एसएसपी सोमेन्द्र सिंह राठौंरले बताए।

बीभत्स रूपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काबिल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको जनाएको छ। घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठुलो गिरोह तथा कुनै ठुलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ।

यद्यपि यस्ता सामान्य मानिसको पछिल्ला समयमा हत्या हुन थालेको छ। रौतहटको कटहरियामा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको छ। रिसिइबिका अलावा आर्थिक समस्याले पनि घटना भएको प्रहरीको दाबी छ।

गम्भीर अपराधमा संलग्नहरूलाई नै माफी

आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएकाले नैतिक शिक्षा बढाउन जरुरी रहेको विज्ञहरूको सुझाव छ। सरकार भने गम्भीर अपराधमा संलग्नहरूलाई नै माफी दिन लागिरहेको छ।

गणतन्त्र दिवसका अवसरमा टिकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेसम चौधरीले बाँकी कैद माफी पाए भने असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा त्यस्तै प्रकृतिका अपराधीलाई जेलबाट रिहा गर्न सरकारले सिफारिस गरेको छ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद ठहर भएका, काठ चोरी, हतियार तथा खरखजाना, सरकारी दस्तखत किर्ते, सवारी ज्यान, ठगी र कुटपिटमा संलग्न भएर दोषी ठहर भएका व्यक्तिहरू नै माफी पाउनेको सूचीमा परेका छन्।

संवैधानिक व्यवस्था विपरीत राष्ट्रपतिको कार्यालयले सरकारको सिफारिसमा गम्भीर अपराधमा संलग्नको समेत बाँकी कैद मिनाहा गर्न लागेको हो। माफी पाउनेको सूचीसहित सरकारको निर्णय भने नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा आचार्य रेग्मीले जानकारी दिइन।

गणतन्त्र दिवस, संविधान दिवसमा असल चालचलन भएका र नेगेटिभ लिस्टमा नरहेका अभियुक्तहरूलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले माफी दिने परम्परा छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.