‘माफी’चाहिँ प्रकाशले मागेका कि डिल्लीले?

‘माफी’चाहिँ प्रकाशले मागेका कि डिल्लीले?

केही‘स्वयंसेवी मध्यस्थकर्ता’ साथीहरू भन्दै थिए,‘हामीले डिल्ली अधिकारीलाई अञ्जानवश भएको गल्ती स्वीकार गर्दै माफी माग्न सहमत गराएका छौँ, उनी झट्ट मिडियामा आउने छन्!’

उनी मिडियामा आउन त आए तर, आवरणमा २० बिघा घडेरीमा बनेको घर देखाएर! डिल्ली भाइको घर हेर्न हामीलाई प्रकाश सुवेदीको टक-शो चाहिएको त होइन। तैपनि के भो र, हामीले हेरिदियौँ, भैगो! संवादको मूल विषयवस्तुमा कुन व्यक्तिको घर कति बिघा जमिनमा बनेको छ भन्ने कुरा कतिको सम्बन्धित थियो, थाहा भएन।

‘रजतपट अङ्कल’का सञ्चालक प्रकाशजीले संवाद थाल्दा इन्ट्राको काठमाडौं मञ्चमा नेपालका प्रधानमन्त्री प्रचण्डलाई मुख्य अतिथि राखेर ‘तपाईँले बोलेका कुरामा गल्ती भएकै हो निः, यसमा के भन्नु छ?’ भन्ने आशयको मूल प्रश्न राखेका थिए। तर, डिल्ली अधिकारीले अरू नै लम्बेतान कुरामा डोऱ्याइदिए एक छिन सुवेदीजीलाई।

उनले न ‘अञ्जानवश भएको’ गल्ती स्वीकारे न त माफी नै मागे! उनको संवादको सारांश थियो,‘मैले इतिहास नजानेर त्यहाँ त्यसरी कहाँ बोलेको हुँ र! जान्दछु नि म पनि इतिहासका कुरा! मैले जानेरै बोलेको हुँ! शाब्ड्रुङ नावाङ नाम्गेल तिब्बतबाट रामशाहको घरको बाटो हुँदै भुटानतिर गएका, बाटामा निसन्तान राम शाहलाई सन्तानप्राप्तिको आशीर्वाद दिएका ब्ला…ब्ला.. ब्ला… मैले पनि पढेको छु, जानेको छु! कुरो कति भने कार्यक्रमको चापले गर्दा व्याख्या गर्न पाइनँ! समय पुगेन!’

ल ठिक छः कार्यक्रमभित्रै त समय पुगेन छ! झापा पुगेर अझै थप्नचाहिँ समय पुग्यो त! त्यसपछिका यत्रा दिन?

“हामीलाई बाबु राजा (जिग्मे दोर्जी वाङचुक) ले सन् १९७२ तिर लगेका र छोरा राजाले खेदेको” भन्ने वाक्यको मूल आशयमा जति नै लामो व्याख्या गरे पनि के अर्थभेद फेला पर्थ्यो-त्यो निर्क्योल गर्न सक्ने क्षमता कमसे कम ममाचाहिं छैन है! डिल्ली भाइले त्यसको व्याख्या गर्न कुनै समय तोक्ने हो भने बेस्सरी सुन्न मन छ मलाई।

लागौँ प्रकाश सुवेदी र डिल्लीबीचको अन्तरसंवादतर्फ! ‘बोल्दा बोल्दै अर्थको अनर्थ भएकै हो निः?’ यो वाक्य प्रकाशजीले बारम्बारको प्रयासमा ठेल्ठाल पारेर डिल्ली भाइको मुखमा कोच्चाएपछि उनले त्यही वाक्यांश निलेर उगेल्नुबाहेक क्षमायाचनाको त कुरै भएन! मलाई त लाग्यो, संवादका क्रममा डिल्ली अधिकारीले नभएर प्रकाश सुवेदीले पो माफी माग्न खोजेका हुन् कि?

यसै पनि त्यो संवाद कुनै सार्वजनिक स्थलमा भएको थिएन। प्र.सु.त्यो दिन अधिकारी परिवारका पाहुना थिए। अघि नै घरको प्रसङ्ग मैले उल्लेख गरेको छु। अतिथि सत्कारमा घरायसी भलाकुसारी हुनुपर्ने, पारिवारिक आपसी सम्बन्धका वार्तालाप हुनुपर्ने समयमा समाजका कुरा गर्नुपर्ने बाध्यताले अतिरिक्त बोझ थियो डिल्ली भाइलाई त्यस बेला! उनको अनुहारले त्यसै भनिरहेको थियो।

अधिकारीले ‘समाजको एउटा भाइले गरेको प्रगतिमा सहयोग गर्न छोडेर अग्रज दाजुहरूले उनको खुट्टा तानेको’ अभियोग धेरै पटक दोहोऱ्याइ-तेहऱ्याइ गरे! भाइका खुट्टामा ठेस लाग्यो भने, चोकेमा पऱ्यो भने तान्नैपर्थ्यो- धन्न दाजुहरू थिए र तान्न भ्याएछन्; धन्यवाद दिएका भए हुने! तर, दिनै पर्ने चाहिं होइन; मन लाग्यो भने दिने! हैट, म पनि के कुरा गरिरा! त्यत्रो बेस्सरी ‘मन दुख्या’ बेला के धन्यवाद दिइरहलान् बरा!

‘डिल्ली अधिकारीबाट धेरै काम राम्रा हुँदै गरेका तर ऐतिहासिक पक्षमा गम्भीर त्रुटि भएकोले सच्याउनुपर्छ’ भनेर नेपालबाट प्रेस विज्ञप्ति जारी गर्ने बलराम पौडेललाई उनले ‘प्रचारबाजी’ को टिप्पणी गरे। मुद्रा प्रस्ट थियो: वार्ताकार प्र.सु. ले नरोकेका भए डिल्ली भाइले पौडेलजीका बारेमा अरू धेरै बोल्ने थिए। ‘हुनसक्छ उहाँले ठुलो नाम कमाउन पनि त्यसो गर्नुभएको … ’ भन्दै पौडेलजीका बारेमा पोखिनै थालेका थिए डिल्ली अधिकारी। जे होस्, पौडेल सन्दर्भ निज पौडेलले नै उठान गर्नुहोला! म उहाँको वकिल होइन।

अधिकारीले संवादको अन्तिमसम्म ‘सन् १९७२ र त्यसपछि पनि नेपालीहरू भुटान प्रवेश गरेका…’ भन्ने आफ्नो टेक छोडेनन्! सन् १९७२ वा त्यसका वरिपरि भुटानले संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएपछि ‘लु अब त यो देश (मा?) स्वतन्त्र (ता?) हुने रहेछ भनेर धेरै मानिसहरू भुटान पसेका’ भन्ने दाबीलाई उनले उचालिरहे ।

यस सवालमा सामान्यतः नेपालीभाषीहरु जो भुटानमा पहिल्यै थिए वा पछि लगिए-उनीहरूलाई देशले संयुक्तराष्ट्र-संघमा सदस्यता पाएको वा नपाएको कुरासित कुनै सरोकार थिएन। खासमा उनीहरू सधैँ एकसरो सुतीखेती गरिखाने प्रकृतिका सोझा मानिसहरू थिए। धेरै अन्न उब्जनी हुने र पशुपालनका लागि पर्याप्त चरन भएका ठाउँ नै मूल उपलब्धिको स्रोत हुने बुझाइ त हाम्रै बेलासम्म पनि विद्यमान थियो।

भुटानमा डिल्ली भाइले भने जसरी कोही पनि मानिसहरू आफ्ना मर्जीले पसेका थिएनन्। उनको दाबी अनुसार त्यसरी राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने भए उनीहरू प्रजातन्त्र, नागरिक स्वतन्त्रताजस्ता कुरामा जागरूक हुन्थे। यदि उनीहरूलाई स्वतन्त्रताको त्यति धेरै चासो थियो भने नेपाल जहाँ वि.सं. २००७ सालमै प्रजातन्त्र आएको थियो, त्यस्तो स्वतन्त्रता सम्पन्न देशमा नबसेर उनीहरू भुटानजस्तो निर्जन अनकन्टार मुलुकतिर किन पस्थे? उनका यस्ता खाले कुनै पनि कुराको पुष्टि हुने आधार थिएनन्! तैपनि ‘बाबु राजाले लगेको, छोरो राजाले खेदेको’ भन्ने आफ्नो पुरानो भनाइलाई थप थाङ्ग्रो लाउन मात्र उनले जोडतोडका साथ ‘७२ मा नेपालीहरू गएकै हुन्’-भनिरहे।

१९७२ सम्म मात्र किन र- सन् १९८० सम्म नै नेपाली र भारतीयहरूलाई विशेष प्रयोजनमा भुटान लगिन्थ्यो। र, निश्चित समयपछि उनीहरूलाई फिर्ता पठाइन्थ्यो। भुटानभित्रका नागरिकहरू अधिकांश खेती-किसानी र पशुपालनमा रत्तिने भएकाले मजदुरीदेखि विशेष सरकारी ओहोदाका कर्मचारीसम्म बाहिरैबाट लगिन्थ्यो।

यसरी लगिएकाहरू मध्येका औँलामा गन्न मिल्ने अत्यन्त थोरै मान्छेहरू भुटानमा घर ज्वाइँ भएर बसेका थिए भने कोहीचाहिँ सत्ताशक्तिको निकट भएर राजाबाट ‘काशो’ (कृपा) लिई नागरिक बन्न पनि सफल भए। यद्यपि, काशोबाट यसरी नागरिक बनाउने प्रक्रिया सार्वजनिक औपचारिकतामा लागू थिएन। दरबारको इच्छा र चाहनामा निर्भर थियो।

यता घर ज्वाइँ बस्ने र परम्परागत वंशज किटान नभएका सन्तान जन्माउने चलन दक्षिणमा बरु थिएन भन्न सकिन्छ। अर्थात् तुलनात्मक रूपमा कम थियो। यो चलन पूर्व र उत्तर भुटानमा विशेष जातीय पहिचानकै रूपमा स्थापित थियो। त्यही बेला तिब्बतीहरूको भुटान पस्ने लस्कर उतिकै थियो। यहाँहरूलाई उत्तर र पूर्वी भुटानतिर प्रयोग हुने ‘माग्पा’ र ‘कोक्ती’ शब्दावलीबारे थाहा छ कि छैन! यी दुई शब्दावलीको मात्र अनुसन्धान गऱ्यो भने पनि भुटानको आबादीबारे यथेष्ट जानकारी हासिल हुन्छ।

सांस्कृतिक आधारमा नेपाली पहिचान बोकेका भुटानीहरू बस्ने दक्षिणतिर चाहिँ सन् १९८० सम्म प्रशासनिक व्यवस्था थिम्पुको केन्द्रीय शासनअन्तर्गत पूर्ण कायम भएकै थिएन। थिम्पुबाट आंशिक नियन्त्रणको प्रयास स्वरूप पहल भइरहेको थियो तर, भावनात्मरूपमा दक्षिण भुटानीहरू आफूलाई कालेबुङे राजाकै रैती ठानिरहेका थिए।

नेपालीहरू सामान्यतः परम्परागत राजभक्तहरू हुन्। राजा नभई उनीहरूले समाज व्यवस्थापनको कल्पना गर्नै सक्तैनन्। त्यही भएर उनीहरूले भुटानको चालू राज परम्पराको स्थापनादेखि नै दर्बिलो टेवा दिएका थिए। राजाको हुकुम शिरोपर गर्नुलाई उनीहरू स्वधर्म ठान्थे । अनि यस्ता नागरिकहरूको जमात भएको देशमा कहाँको संयुक्त राष्ट्रसङ्घ, कहाँको सदस्यता, कहाँको स्वतन्त्र (ता?)! त्यो पनि सन् १९७२ तिर! संवादमा निक्कै जोड दिएर बोलिएका यी सब कुरा तर्कका लागि तर्क थिए! यो सदस्यताको औचित्य केवल भारतको कूटनीतिक प्रयोजनका लागि थियो ।

संयुक्त राष्ट्रसंघको सदस्य बनेको १० वर्षपछि पनि भूटान पूर्णरूपले केन्द्रीय राज्यव्यवस्था निर्माणमा सफल भइसकेको थिएन । प्रबुद्ध पाठकहरूलाई याद छ, सन् १९८० सम्म दक्षिण भुटान आयुक्त प्रणाली (Commissioner System) मा चलेको थियो। हुन सन् १९६४ मा जिग्मे पाल्देन दोर्जीको हत्यापछि उनको ‘प्रधानमन्त्री’ पदमा अरु कसैलाई स्थापित नगरेर उनले बसालेको आयुक्त प्रणाली पनि उपेक्षित हुँदा आएको थियो । तर, खारेजचाहिं हुनसकेको थिएन । यही प्रणालीभित्र गाउँमा ‘थरी’, ‘मुख्तियार’ हुन्थे। चिराङतिर सम्बन्ध रहेका सबैले जानेका वा सुनेका हुनुपर्छ यी शब्दहरू। डी.ओ.,एस.डी.ओ.जस्ता शब्द सम्बोधन पनि यही प्रणाली अन्तर्गत थिए।

फुञ्छोलिङ-थिम्पूको सडकबाहेक भौतिक पूर्वाधारहरू लगभग शून्यझैँ भए पनि आबादी पहुँच र अन्य सामाजिक रीति-थितिमा तुलनात्मक रूपले पुरानो आयुक्त प्रणाली केही सहज झैँ थियो। त्यो बेलासम्म भुटानको राज्यव्यवस्था ८० पछिझैँ धेरै सङ्कुचित पनि थिएन। साँच्चै भन्ने हो भने त्यो बेला राज्यका सीमाहरू भरखरै मात्र निर्धारित हुँदै थिए। तर, सन् १९७५ मा सिक्किम विलयको सवालले भुटानमा तरङ्ग पैदा गरिदियो र त्यसपछिका पाँच वर्षभित्र भुटानको दरबारले आफूलाई सकेसम्म खुम्च्यायो र आफ्नै नागरिकहरूको चेतनालाई निचोर्न थाल्यो!

त्यसपछि आयुक्त प्रणाली नै खारेज गरेर सोझै थिम्पु दरबारबाट नियुक्त जिल्लाधीश (जोङ्दा) हरूलाई मुख्य शासक बनाइयो। मण्डलहरू जोङ्दा र ड्रुङ्पाको मातहतमा रहने प्रथा पनि त्यसपछि नै सुरु गरियो। नत्र मण्डलहरू नै आफूले चर्चिएको इलाकाभरि राजा बराबर थिए। मण्डल भनेको सिक्किमका राजाहरूले प्रतिपादन गरेको व्यवस्था हो। कालेबुङका दोर्जी परिवारले यो प्रणाली सन् १९५० पछि भुटानमा भित्र्याएका थिए। सन् १९७८ मा चौथो राजा जिग्मेसिंगेले दक्षिण भुटानका नेपालीभाषी नागरिकहरूलाई गरेको सम्बोधनका प्रसङ्गहरू सबै केलायो भने यसबारे धेरै कुरा थाहा हुनेछ!

भूगोलका कुरा गरियो। अब जनसाङ्ख्यिक आबादी र नागरिकताका कुरा गरौँ। भुटानको कानुनी व्यवस्थाले त्यहाँको नागरिक बन्न सन् १९५८ लाई आधार मानेको थियो। सो कानुनको व्याख्या अनुसार सन् १९५८ अघि भुटानको भूमिमा रहेका, बाबु वा आमा अथवा उनीहरूका वंशज पुर्खाबाट जन्मिएका र भुटानमा जग्गाको स्वामित्व हुनुपर्ने अनिवार्य प्रावधानमा जो-कोही पनि नागरिक बन्दथ्यो।

जग्गाको स्वामित्व पुर्ख्यौली सम्पत्तिको अंश-बन्डा र राजाले खुसी भएर दिने ‘काशो’ (कृपा) मा आधारित थियो। सन् १९७२ पछि चौथा राजाले ‘काशो’ दिएर जमिन बाँडेका मान्छेहरु अधिकांश भाइ-छुट सुकुम्वासी थिए। तर, ती सुकुम्वासी भुटानमा पुर्ख्यौली आधार नभएका (डिल्ली अधिकारीको भनाइमा बाहिरबाट जाँदै गरेका) मानिसहरू होइनन्। उनीहरु विशेष गरी साम्ची (दोरोखा, बाँडा) र चिराङमा मूल थलोबाट फैलिएका ’भाइ-छुट’हरु थिए । ‘पहाडिया’हरूको परम्परामा एउटा घरमा धेरै भाइ हुने; पुर्खाको जायजेथा एउटा छोरोको नाममा रहने र जग्गा थोरै भएमा अरू भाइहरू जमिनविहीन हुने हुनाले उनीहरूलाई राजाले ‘कृपापूर्वक काशो’ दिएर सर्भाङ र साम्ड्रुपजोंखर (पुरानो भाषामा नेउली) का विभिन्न भागमा बसालेका थिए। अतः सन् ७२ पछि भुटान पुगेका नवप्रवेशीहरु एकाधबाहेक कोही पनि भुटानका नागरिक बनेकै थिएनन्!

डिल्लीको वक्तव्य र बिर्सनै नहुने ऐतिहासिक पक्षहरु

दक्षिण भुटानीहरूलाई राजाले ‘काशो’ मा जमिन त दिए तर, नागरिकता कहिल्यै दिएनन्! दिए केवल केही ‘राष्ट्रसेवक’ कर्मचारीहरूलाई। जसलाई राजा स्वयंले पढेको दार्जिलिङतिरबाट प्रेम सम्बन्ध भई विवाह गरेर भुटानका भोटिया कर्मचारीहरूले भुटान लगे, उनीहरूमध्ये केहीले राज-कृपाको नागरिकता पाएका थिए। राजा आफैँले आफ्नो रखवालीमा जसलाई भुटान बोलाए (उदाहरण: कालेबुङबाट लगिएका नादो रिञ्जिन), उनीहरूलाई मिल्यो कृपादानको नागरिकता। त्यसबाहेक केही सरकारसित निकट सम्बन्ध बनाउन सफल कर्मचारी जस्तै: केनाडाको क्यूबेकमा जन्मिएका ह्विलीयम जोसेफ म्याकी (काङ्लुङ कलेजका प्राध्यापक फादर म्याकी), साम्चीतिर एक जना ‘कुलुङ सर’ उपनामले चिनिएका शिक्षक, दागापेलामा केजी नायर; यस्ता औँलामा गनिने मानिसहरूले मात्र सन् १९७२ पछि ‘काशोमा आधारित’ नागरिकता प्राप्त गरेका थिए । अन्य सबै दक्षिण भुटानीहरू जन्मसिद्ध अधिकार र वैवाहिक सम्बन्धको प्राकृतिक सहजीकरण अनुसार भुटानी नागरिक बनेका हुन्।

अनि १९९० ताका भुटानले देशको कूल जनसङ्ख्याको करिब १६ प्रतिशत (परम्परागत पारिवारिक बनोटको आधारमा लगभग ३० हजार परिवार) लाई देशबाट निष्कासन गरेको छ। ती मानिसहरू शरणार्थी शिविरमा आएका छन्। तिनैलाई औँल्याएर ‘सन् १९७२ मा बाबु राजाले लगेर छोरो राजाले लखेटेका’ भनिएको छ। सच्याउन भन्दा फेरि बल गरी गरी त्यही कुरा दोहोऱ्याइ तेहऱ्याइ गरिएको छ! यो के नौटङ्की हो?

समय नपुगेर वक्तव्यमा त्रुटि भएको भन्ने मान्छेले प्र.सु.सित संवाद गरेको बेला त समय पर्याप्तै थियो!

‘म त परोपकारी कर्म गर्ने मान्छे, मैले शरणार्थी शिविरमा यति-उति लगानी गरेको छु: म इतिहास बिगार्न चाहने मान्छे हुँदै होइन। तर, जोसुकैले जेसुकै भनोस् नेपालीहरू ७२ मा गएकै हुन्! मसित सिङ्गै समुदाय छ, समुदायले मेरो आवश्यकता बुझेको छ- दुई चार जना कराउँदैमा म समुदायबाट बाहिर हुन्छु र?’ यी भनाइ पनि समय नपुगेर, व्याख्या नपुगेरै नबुझिने भएका हुन् कि? यस्ता वाक्यहरूको आशय/अर्थ के हो? कि अरूले बुझेर मैले मात्र नबुझेको हुँ?
मैले नबुझेको कुरा बुझाउन डिल्ली भाइले चर्चा-व्याख्यान गर्लान् नगर्लान् थाहा छैन, मचाहिँ उनले नबुझेको कुरा बुझाउने कोसिस गर्छु है।

माथि नै भनिएको छः राजाले सन् १९५८ को नागरिकता कानुनमा उल्लेख भएबमोजिम काशोमार्फत केही मन परेका मानिसहरूलाई नागरिक बनाए तर, भूमिसंगठन र राज्यको स्थापनादेखिका असल नागरिकहरूलाई दोस्रो दर्जाको नागरिक प्रमाणित गर्न खोजियो। एक चोटि हैन, यो प्रक्रिया बारम्बार चलिरह्यो। स्थापित ऐनहरू नै बनाउन थालियो। सन् १९८० कै वरिपरि प्रकाशित ‘विवाह अधिनियम’ र ‘भू-अधिनियम’ मिहिन रूपमा पढे त्यो बेलाको सरकार वा राजाका भित्री योजनाहरूको गन्ध पाइन्छ। त्यसपछि सन् १९८५ मा तयार गरिएको नयाँ नागरिकता ऐन त मूलकारक नै भइहाल्यो।

सन् १९५८ मा बनाइएको नागरिकता कानुन अभ्यासमा लागू हुन्थ्यो भने शायद आज भुटानीहरू निर्वासनमा हुन्थेनन्। यो कानुन निकै परिष्कृत, अन्तर्राष्ट्रिय विधिमा मान्यता पाउने किसिमको थियो। तर, त्यसलाई औपचारिक रूपमा लागू नै गरिएन। यद्यपि, त्यसकै भावनामा अडिएर सम्पूर्ण दक्षिण भुटानीहरूलाई ‘देशका सच्चा नागरिक मानिएको’ र उनीहरूले कहिल्यै हीनताबोध गर्नु नपर्ने राजा जिग्मेसिंगेले सार्वजनिक उद्घोष गरेका थिए। ती भए उनका बोल्ने कुरा।
यता अभ्यास गर्ने कुरामा चाहिँ उनले आफ्ना चेला-चपेटाहरूलाई काखी च्यापेर आफैँ देशमा द्वन्द्व बढाउँदै थिए। भोटिया डासोका श्रीमतीहरू सन् १९५८ पछि, अथवा सन् १९७०/८० पश्चात् पनि नेपाल, दार्जिलिङ, सिक्किम र तिब्बततिरबाट भुटान प्रवेश गर्दा उनीहरूलाई काशो नागरिकता प्रदान गर्ने तर, साबिक बमोजिम पहिले नै प्राप्त सिता मोथेको नागरिकता खोसिएको यथार्थ यहाँहरूले अहिलेसम्म बुझ्ने अवसर पाउनुभएको थिएन भने पनि अब राम्रो गरी बुझ्नपर्ने भएको छ

यस्ता तथ्यलाई भुटानमा नेपाली पृष्ठभूमिका नागरिकहरुविरुद्ध त्यहाँको राज्य नै लागेको कथ्य पुष्टि गर्ने आधार मानिन्छ। दार्जिलिङतिर माइती भएकी सिता मोथे आफ्ना छोराछोरी, श्रीमान् र परिवार त्यागेर बाटो लाग्नुपर्ने स्थिति भोग्नुभन्दा देह त्याग्नतिर लागिन्। राजाले चाहेका भए अन्य कर्मचारी र ‘डासो’हरूलाई दिएको सहुलियत मोथे परिवार र भुटानमा नाता-सम्बन्ध कायम भई दशकौँ बिताएका उनीजस्ता अरूलाई पनि दिन सक्तैनथे र? खैर, कुरा जे होस्, हामी यहाँनेर मूलरूपमा नेपालबाट भुटानमा मानिसहरू कहिले गए भन्ने सवालमा चर्चा गरिरहेका छौँ।

नेपालबाट मानिसहरू बसाइँ सराइको रूपमा भुटान गएको आधिकारिक अन्तिम समय भनेको नेपाली २००७ साल हो। राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको दोसाँधमा लिम्बुवानमा चलेको अन्तरद्वन्दका कारण केही मान्छेहरू भुटान पसेका थिए।

त्यो बेला लिम्बूवानीहरुले पनि प्रजातन्त्र र नागरिक स्वतन्त्रता भनेको के हो नबुझेका अनि राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको धङधङीले छोएको उत्ताउलो बेला विशेष गरी राणाका सहयोगी भएको सन्देहमा केही मान्छेमाथि बद्ला साधिएको अवस्था थियो। त्यही कोपभाजनमा परेर लिम्बूवानीहरुबाट आक्रमण भोगेका वा कोहीचाहिँ आक्रमणको त्रासले भागेर बाँच्न भुटानतिर दौडिएका थिए। यद्यपि, त्यो समय पनि डिल्ली भाइको मानसपटलमा गाडिएको १९७२ र त्यसको वरिपरि थिएन। नेपाली २००७ भनेको सन् १९४६/४७ हो जति बेला गर्जमान गुरुङलाई पारो जोङमा खाँदेर मारिएको समय हो। अतः अब उसो “सन् १९७२ मै गएका हौँ हामी, हामीलाई बाबुले लगेका र छोराले लखेटेका” भन्ने जिद्धि समाजको हित विपरीत लाञ्छना र अपराध हो भन्ने बुझेर चटक्क छोड्नुपऱ्यो। छोड्नुपर्ने विषय यति मात्र होइन, अरू थुप्रै कुरा छन्, समय क्रममा सन्दर्भ छामेर गर्दै जाउँला!

डिल्ली भाइ अस्तित्व उखेलेर भित्ताको पल्लो छेउ पुऱ्याइएका मान्छेहरू पनि स्थान र अवसर पाउँदा बौरिन सक्छन् है भनेर नमुना देखाउने एउटा ‘आइकन’ हो। यसमा गर्व गर्ने प्रशस्त आधार छन्। आफूले गरेको समाजसेवामा उनलाई गर्व छ, हामीलाई पनि छ र यो सबैमा हुनुपर्छ। त्यसमा हाम्रो आपत्ति होइन!
तर, उनलाई प्रश्नहरू सोधिएकोमा आकाशै झर्न लाग्यो, पृथ्वी नै पल्टिन लाग्यो भनेझैँ गरी चर्को स्वरमा ट…र…ट ट ट, ट…र…ट ट ट डम्फु बजाइहाल्नुपर्छ भन्ने पनि छैन। समाजको लागि धेरै राम्रो काम गरिसकेपछि त्यसो गर्नेलाई समाजको उत्पत्ति र स्थापनाको इतिहासमा तलमाथि गर्ने अधिकार स्वतः रहन्छ भन्ने ‘न्यारेटिभ’ विकास गराउनु हुँदैन। गलत भनेको गलत हो। यसमा हेक्का राख्नु पऱ्यो। वास्तवमा इतिहास भनेको समय समयमा स्थापित हुने ‘न्यारेटिभ’ हरूकै सङ्कलन हो।

ए अँ ! डिल्ली भाइले अन्तिमतिर पुगेर माफीचाहिँ मागेकै हुन् है! कस्तो झन्डै बिर्सेछु पो! तर, के कुरामा माफी मागेको भन्ने प्रस्ट भएन! ‘मैले गल्ती गरेको हुँदै-होइन तर, मलाई माफी दिनू’, भने उनले।

त्यतिले पुगेन, फेरि माफी माग, अरू सबै काम छोडेर जिन्दगीभरि माफी माग्दै बस भन्न मिलेन क्यारे! अब भयो। ‘जुँगा चले कुरा बुझे!’ तर, फेरि फेरि यिनै कुरामा अल्झिएर आफू हिँडेको इतिहासमा धुलो नछर्किनू!

भुटानको वर्तमान समस्या भाइले भनेजस्तो ‘सन् १९७२ मा बाहिरबाट नेपालीहरू जानु, उनीहरूले दैलोमा नेपालका राजाको फोटो टाँस्नु’को कारणबाट पैदा भएको होइन। भुटानकै राजा र उनको सरकारमा बसेका मान्छेहरूले बुनेका षडयन्त्रका तानाबानाबाट पैदा भएको हो भन्ने गमेर बुझ्नू। सन् १९७१ को सेप्टेम्बर २१ का दिन संयुक्त राष्ट्रसङ्घको सदस्यता लिँदै गर्दा भुटानले आफ्नो देशको कूल आबादी जम्मा १३ लाख देखाएको थियो। त्योभन्दा नौ वर्षपछि सन् १९७९ मा प्रकाशित सरकारी दस्ताबेजमा जम्मा १२ लाख जनसङ्ख्या देखाएको थियो। सो अनुपातमा हिसाब गर्दा सन् १९८८ सम्मको जनसङ्ख्या १३ लाख ७५ हजार हुन आउँछ। तर, सन् १९९२ को ढाका सार्क शिखर सम्मेलनमा बहुराष्ट्रिय सरकार प्रमुखहरूलाई भुटानका प्रतिनिधिले बाँडेको त्यही पुरानो दस्ताबेजमा उल्लेख ‘१२ लाख’ सङ्ख्या मेटेर माथिबाट हस्तलिपिमा ‘६ लाख’ लेखिएको थियो! यी सबै कुरा नश्लीय षड्यन्त्रका शृङ्खलाहरू थिए। अहिले भाइले जबरजस्ती ठेल्ठाल पारिरहेको ‘७२’ को प्रसङ्ग कहाँनेर मिल्छ भनेर निम्न वाक्यांश हेर्नु।

“Foreign Minister Dawa Tsering said, many of the illegal immigrants had come to Bhutan to work on development projects like roads, buildings and dams in the 1960’s and 1970’s. “They never returned, just stayed on,” he added. The NewYork Times, 6 June, 1993 (Report by Sanjoy Hazarika)

तिनै दावा छिरिङ, जो त्यस बेला भुटानका विदेश मन्त्री थिए, उनको सोभन्दा दुई वर्ष पुरानो मन्तव्य पनि हेरिहालौँ।

“Bhutanese Foreign Minister Dawa Tshering said, the Nepalese have been settling down in our Southern plains from the seventh century. We welcomed them because they were hard-working people. But they cannot be permitted to swamp us.” The Statesman, 12 February 1991.

कुनै पनि ऐतिहासिक प्रसङ्गमा बोल्नुपर्दा यस्ता तथ्यहरूको अध्ययन सर्वथा श्रेयस्कर हुनेछ। तर, काठमाडौँको कार्यक्रमचाहिँ यसरी इतिहास केलाएर समाजको जरो पर्गेल्ने प्रकृतिको थिएन है। त्यो केवल गीत, सङ्गीत र कलासँग सम्बन्धित थियो जो जहाँ रहेर पनि भाषा, संस्कृतिको आबद्धतामा एकाकार भए पुगिहाल्थ्यो! भाइको चालाले भोलि बर्मा, थाइल्यान्डतिरका हाम्रा इष्टहरूलाई पनि हामीलाई झैँ समस्या आइलाग्यो भने छेक्न सक्तैन। त्यो केवल भावनात्मक उद्वेगमात्र हो।

ए…म किन यति धेरै निर्लिप्त भएको होला डिल्ली भाइलाई सुधार्न! डिल्ली भाइ कहाँ ‘उस्तो हो र…ती फोन गरेर उनलाई नसम्झाउने दाजुहरू पो उस्ता त!’ उनले एउटा सार्वजनिक मञ्चमा कुनै देशको प्रधानमन्त्रीलाई अगाडि थेचारेर उठाएको चर्चामा भएको ‘सानो त्रुटि’मा दाजुहरूले सुटुक्क फोन गर्दिया भा भइहाल्ने! उनले उतै काठमाडौँमै हुँदा विज्ञप्ति गरेर सुधारिदिन्थे त! तर, गल्तीचाहिँ उनले गरेका होइनन् है, बरु समाजका अग्रज दाजुहरूले उनका खुट्टा तानेका हुन्! डिल्ली भाइले माफी मागेको कुरा उनले इतिहासको गलत तथ्याङ्कमा बल गरेर होइन है, यो पनि हेक्का राख्नुहोस् दाजुहरू। उनका कुराबाट आमा, बा, भाइ-बहिनी, साथीसंगी र विशेष गरी दाजुहरूले मन दुखाएकोमा चित्त बुझाउन मात्र उनले यसरी माफी मागेका हुन्। ल जे होस्, त्यो पनि त्यतिमै राखौँ।

चौतर्फी आलोचना पछि डिल्लीले मागे माफी

जाँदा जाँदै अन्त्यमा भाइले मेरो अर्ती सुन्ने हो भने म भन्छु डिल्ली भाइ; बाहिरका धेरै दाजुहरूको कुरा छोड र आफ्नै संस्थाका दाजुहरूलाई सुन, दाजुहरू मात्र होइन भाइहरूलाई पनि सुन! एउटा तहमा दाजुहरूको विद्वता काम लाग्ला अर्को तहमा अनुज (भाइ) हरूको विद्वता पनि काम लाग्छ! सङ्गठन बाहिरका ‘दाजुहरू’को पनि योगदान चाहियो भने भाँती पुऱ्याएर आफ्नै संस्थाका दाजु र भाइहरूलाई भन! उनीहरूले नै त्यो परिबन्दको इन्तजाम गर्लान्। आफूचाहिँ अलि थोरै, विषय र सन्दर्भ निर्दिष्ट बोल। अनि सुरुमा ‘म’म’ हैन, ‘हामी’ भन। आफूले जानेको भन्दा अलि पर पनि केही कुरा बाँकी छ भनेर कहिल्यै नबिर्स। यो कुरो डिल्ली भाइमा मात्र होइन, सबै मनुष्यमा लागू हुन्छ।

डिल्ली भाइको जस्तो व्यापार-व्यवसाय गर्नेले मात्र होइन, अरू धेरै ठाउँकाहरुले पनि ‘म’ भन्दा ‘हामी’ भन्न र बन्न सिक्नुपर्छ; यो प्रवृत्तिको विकास हुन बाँकी छ भन्ने स्पष्ट देखिएकै छ। तर, ‘हामी’ सपार्नेमा भन्नुपर्छ बिगार्नेमा होइन है। अहिले बिगार्ने प्रसङ्गमा ‘हामी’ भन्दिनाले कुरो भत्किँदै गएको हो। ‘पढेरभन्दा धेरै परेर जान्नु’ भनेको यही हो। इतिहासमा यस्ता शृङ्खलाका क्रम हुँदै रहन्छन्, सबैले सिर्जनात्मक चिन्तन राखेर सिक्न र जान्न प्रयत्न गर्नुपर्छ।

इति शुभम्!

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.