विवाह दुई सेक्सबीच मात्र किन?

विवाह दुई सेक्सबीच मात्र किन?

काठमाडौं : पहिलो संविधानसभा सदस्य एवं अधिकारकर्मी सुनिलबाबु पन्तले कला संस्कृतिले पनि महिला पुरुषलाई मात्रै मान्यता दिने (बाइनरी) प्रथालाई नै प्रश्रय दिएको प्रति असन्तुष्टि पोखेका छन्। यौन र लिङ्गका विषयमा पितृसत्तात्मक सोचलाई त्याग्नु पर्नेमा पन्तले जोड दिएका छन्।

‘सुखी परिवारको चित्र बनाउन लगाउँदा बुबा–आमा र एक छोरा, एक छोरीको मात्र तस्बिर कोर्न लगाइन्छ, एकल आमा र केही बच्चाहरूको सुखी परिवार पनि हुन सक्छ भनेर किन सिकाइँदैन? छोराछोरी बिनाको एक्लो पुरुष पनि सुखी व्यक्ति हुन सक्छ भनेर शिक्षकहरूले किन बुझाउँदैनन्? युनेस्कोले केही दिन अघि काठमाडौँमा गरेको कार्यक्रममा यौनिक तथा लैङ्गिक पहिचान भएका व्यक्तिहरूको हकमा कार्यरत नील हिरा समाजका संस्थापक समेत रहेका पन्तले भने–‘सधैँ श्रीमान्–श्रीमती र दुई सन्तान भनेर सिकाइन्छ तर अब तपाईँ आफैँलाई प्रश्न गर्नुस्, किन?’

उनले हाम्रा कलाहरू मातृसत्तात्मक हुँदा कस्तो हुन्थ्यो होला भनेर अध्ययन गर्न बाँकी रहेको भन्दै मन्दिरहरूमा कुँदिएका कलाबाट पनि केही पाठ सिक्न सकिने उल्लेख गरे। ‘काठमाडौँका हरेक मन्दिरमा गएर हेर्नुस्। त्यहाँ तृतीय प्रकृतिका व्यक्तिहरूको चित्रहरू अवश्य पाइन्छ। यसबाट कति धेरै प्राथमिकता एव प्रमुखता र प्रतिबद्धता प्रदान गरिएको थियो भनेर आङ्कलन गर्दै अध्ययन गर्न सक्छौँ।’

लैङ्गिकताको भ्रम : महिला या पुरुष बन्नुपर्ने अनिवार्यता

पछिल्लो समय एलजीबीटीआइको विषयमा चर्चा सुरु गरिनु राम्रो पक्षका रूपमा लिन सकिने भए पनि त्यसप्रति सन्तुष्ट हुने अवस्था नरहेको पन्तले बताए। ‘हाम्रो पहिचानसहित सबै कुराहरू पश्चिमा मुलुकहरूबाट प्रभावित भएर आएका छन्,’उनले भने–‘पूर्वीय समाजको तुलनामा पश्चिमा समाज महिला र पुरुषलाई मात्रै मान्यता दिने सङ्कीर्ण (बाइनरी) संस्कृतिमा सीमित रहेको छ र त्यसबाट हामी प्रभावित हुनु पटक्कै चित्त बुझ्दो छैन।’

अहिलेसम्म भएका र गरिएका अध्ययनहरू सबै पश्चिमी करणबाट प्रभावित भई ट्रान्सजेन्डरहरु महिला वा पुरुष नै बन्नु पर्ने जस्ता बाइनरी प्रथामै जानेमा जोड दिने गरी लागेको पाइएको भन्दै उनले असन्तुष्टि पोखेका हुन्।

तृतीय प्रकृतिको व्यक्तिका लागि मात्र नभई महिला वा पुरुषकै लागि पनि पितृसत्तात्मक भन्दा राम्रो समावेशी र न्यायसङ्गत समाज निर्माण गर्नका लागि मातृसत्तात्मक संस्कृतिमा के थियो? आर्ट कस्तो हुन्थ्यो? भनी थप अध्ययनको खाँचो पन्तले औँल्याए।

विद्यमान पाठ्यक्रमहरू प्रति पनि उनको असन्तुष्टि रहेको छ। पाठ्यक्रमहरू बनाउँदा पनि व्यापक रूपमा खुल्ला विचारहरूसहित परिमार्जन गर्नुपर्नेमा पन्तले जोड दिएका छन्। सामाजिक शिक्षा, नैतिक शिक्षाहरूमा रहेका कतिपय पाठहरूमा पनि सेक्स र जेन्डर सम्बद्ध विषयवस्तुहरू समस्याग्रस्त खालको रहेकाले परिवर्तन गर्न जरुरी रहेको उनले बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

अध्यापनका लागि स्रोत सामग्रीको अभाव, शिक्षकहरूले सही रूपमा ‘गाइडम्याटेरियल’ नबनाउने, उनीहरूलाई पढाउन नआउनु लगायतका कुरामा कसैले चासो नदिएका कारण पनि तृतीय प्रकृतिका विद्यार्थीलाई हाँसोको पात्र बनाइएको भन्दै उनले दुख व्यक्त गरे। ‘शिक्षकलाई पढाउन पनि आउँदैन, गुगलको सहारा लिएको आफ्नै आँखाले देखेको छु। अब कहाँनेर कतिकति परिवर्तन गर्न भन्ने? आस गर्ने ठाउँ नै छैन,’उनले भने,‘त्यसैले यसलाई आधारभूत अवस्थादेखि नै खोतल्न र उथलपुथल गर्न आवश्यक देखिन्छ।’

आर्ट अर्थात् कला क्षेत्रमा पनि समस्या देखिएको पन्तले बताए। पितृसत्तात्मक प्रोपोगान्डालाई निरन्तरता दिने खालका चित्रहरूलाई त्याग्नुपर्ने सुझाव उनको छ। ‘यस्तो भन्दा बरु अरू नै लिएर हिँड्नु राम्रो हुन्छ। परिवारको कुरा गर्दा अरू पनि छन्, डाइभर्स फ्यामिलीको तस्बिरहरू लिएर आउनुस्, जेन्डरको कुरा जस्तो महिला पुरुष, श्रीमान् श्रीमतीको मात्र नल्याउनुहोस्,’उनले भने,‘विवाह पनि दुई सेक्सवीच मात्र किन हुनुपर्ने भनेर खोतल्नुस्,’पन्तले भने,‘आर्ट गर्दा हाम्रा हजुरआमा दिदीहरूको कुरालाई पनि सम्बोधन गर्नुस्।’

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

उनले अहिले धर्मनिरपेक्ष मुलुक भनी सबै धर्महरूको बारेमा पढाइए पनि किन मातृ सत्ता चाहिँ पढाइँदैन भनेर प्रश्न पनि गरेका छन्। ‘हाम्रो देश धर्मनिरपेक्षता भने पनि समाजले पितृसत्तात्मक धर्महरूलाई मात्र निरपेक्ष होस् भन्ने गरिन्छ। मातृसत्तात्मक धर्मको कुरै आउँदैन। हजुरआमा, दिदीहरूले सिकाएको ज्ञान, धर्म पनि थियो। मातृसत्तात्मक पनि अर्को समानान्तर आध्यात्मिक प्रणाली छ भनेर सेकोरिलिज्म पढाउन किन आउँदैन?’उनले भने,‘त्यसैले पितृसत्तात्मक भन्दा बाहिर गएर सोच्न सक्ने क्षमता कलाकर्मीहरूमा छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ।’

अहिले गरिएका केही कला चित्रहरूमा समावेशीयुक्त देखिए पनि पूर्ण नरहेको उनले बताए। ‘त्यो पनि चुरा धागो लगाएर, हाँसोको पात्र बनाउने गरी मात्र आएको पाइन्छ जसले गर्दा सामाजिक सञ्जालमा कति धेरै गाली आउँछ,’उनले भने,‘अरूलाई गाली दिन पनि यही समुदायको शब्द प्रयोग गर्छन् जुन निकै दुखद रहेको छ।’

सुझाव

सबैभन्दा पहिले अध्यापन गर्ने शिक्षकहरूको दिमाग र मनमै पनि पुरुष महिला बाहेक अन्य तृतीय प्रकृतिका विद्यार्थीहरू पनि हुन्छन् भन्ने बुझाउन जरुरी रहेको उनले बताए। ‘लैङ्गिकता तथा यौनिकता पनि विविध हुन सक्छ भनेर बुझ्न आवश्यक छ’उनले भने।

यस्तै गरी, पितृसत्तालाई भत्काउने खालको कलाकृतिहरू गरिनु पर्ने उनको सुझाव छ। त्यसको लागि विशेष गरी लैङ्गिकता तथा यौनिकता केन्द्रित कलाकृति सम्बन्धी तालिम शिक्षक तथा विद्यार्थीहरूलाई दिन जरुरी रहेको पन्तको भनाई छ। यसका लागि थप सहयोग गर्न पनि तयार रहेको उनले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.