राष्ट्रपतिको सवारीमा बालेनको अडान

राष्ट्रपतिको सवारीमा बालेनको अडान

काठमाडौँ : इन्द्रजात्रा सुरु भएको सङ्केत गरिएको छ। मङ्गलवार बिहान १०ः३७ बजेको शुभ साइतमा ३३ फुटे इन्द्रध्वजोत्थान गरी जात्रा सुरु भएको सङ्केत गरिएको हो। य:सिं अर्थात् लिङ्गो विधि अनुसार उठाइएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए।

इन्द्रजात्रा सुरु भएसँगै देवी, लाखे, पुलुकिसी, हलचोक आकाश भैरवलाई हनुमानढोका कुमारी घरसम्म ल्याइन्छ। ‘बाहिर निकालेर हनुमानढोका कुमारी घरमा ल्याएर राख्ने र पुन लैजाने क्रम १५ गतेसम्म नै चल्छ,’अध्यक्ष शाक्यले पहिचानसँग भने,‘टोलटोलमा पूजाआजा सहित नाच गान हुन्छ।’

इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रप्रमुख ११ गते जानेछन्। दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेल कुमारी घर जाने तालिका तय भएको छ। राष्ट्रपतिको सुरक्षा व्यवस्था मुख्य गरी नेपाली सेनाले मिलाएको छ। राष्ट्रपति पौडेललाई जुद्ध सालिकबाट बग्गीमा राखेर लैजानेबारे भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असहमति जनाएका छन्।

मेयर बालेनले जुद्ध सालिकबाट कुमारी घर पुग्न बग्गीको आवश्यक नपर्ने अडान लिएका छन्। ‘राष्ट्रपतिलाई बग्गीमा राखेर लैजानेबारे छलफल भइरहेको छ,’जात्रा व्यवस्थापन समितिका एक सदस्यले पहिचानसँग भने,‘बालेन राष्ट्रपतिलाई पैदल नै लैजाने भनिरहनु भएको छ।’

जुद्ध सालिकदेखि हनुमानढोका प्रवेशमा हाल सवारी साधन प्रवेश निषेध गरिएको छ। मेयर बालेनको अडान कायमै रहे राष्ट्रपति पौडेलेको सवारी रुट नै परिवर्तन हुनेछ।

राष्ट्रपति पौडेल जुद्ध सालिकबाट नगई परोपकार भिमसेनस्थानबाट कुमारी घर पुग्नेबारे पनि छलफल भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘राष्ट्रपति पौडेलको सवारी रुटबारे भोलि नै निर्णय हुन्छ,’राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले पहिचानसँग भनिन्,‘बग्गीमा लैजानेबारे राष्ट्रपति कार्यालयलाई जानकारी आएको छैन।’

नेपाली सेनाले भने निर्णय भएर आएमा बग्गीमा लैजान कुनै समस्या नरहेको बताएको छ। तर, महानगर प्रमुख बालेनले जुद्ध सालिकबाट प्रवेश निषेध गरिएको सवारी खुलाउन चाहेका छैनन्।

बग्गीमा जाने भए राष्ट्रपति पौडेल

यसअघिका राष्ट्र प्रमुखले कुमारी घरसम्म नै गाडी लिएर जाने गरेका थिए। ‘अहिले गाडी जुद्ध सालिकदेखि नै प्रवेश निषेध गरिएको छ, कि त्यो दिन गाडी लैजान दिनु पर्‍यो, होइन भने बग्गीमा लैजाने तयारी गर्नु पर्‍यो,’समितिका ती सदस्यले भने,‘निर्णय भएको जानकारी छैन,यो सबै सुरक्षा निकायले व्यवस्थापन गर्ला।’

समितिले जात्रा सञ्चालनका लागि २०७७ सालदेखि नै बजेट पाउन नसकेको जनाएको छ। २०७७ देखि हालसम्मको जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई बजेट निकासा गर्न प्रस्ताव पेस गरे पनि स्वीकृत नभएको समितिले जनाएको छ।

समितिले विदेश पाहुना आउनेबारे पनि जानकारी पाएको छैन। ‘काठमाडौँ महानगरपालिका आफैँले बोलाएको होला,हामीलाई विदेशी पाहुनाबारे जानकारी भएन,’समितिका अध्यक्ष शाक्यले भने,‘हामी जात्रा अवलोकनका लागि स्वदेशी विदेशी सबैलाई आउन विनम्र अनुरोध गर्छौ।’

नेपाली सेनाले राष्ट्रपतिको सवारीका सम्पूर्ण कार्य समारोह तथा व्यवस्थापन सचिवालयबाट हुँदै आएको जनाएको छ। सेनाले राष्ट्रपतिको सवारीबारे सचिवालयबाट निर्णय भएर नआएको बताएको छ। ‘निर्णय आइपुगेको छैन,’सेनाले भन्यो,‘बग्गीमा लैजाने या पैदल के हो जानकारी भएन।’

इन्द्रजात्रा पर्वको सुरुको दिन हनुमानढोकाको श्री काल भैरव मन्दिर परिसरमा असोज ६ गते शनिवार बिहान १०ः३९ बजेको साइतमा योसिं नगर प्रवेश गराइएको थियो।

इन्द्रजात्रा पर्वको सुरुको दिन देखि जात्रा अवधिभर प्रदर्शनमा राखी अन्तिम दिन असोज १५ गते सोमबार राति ८ः३७ बजेको शुभ साइतमा इन्द्रध्वज पतन गरी जात्रा समापन गरिने समितिले जनाएको छ।

इन्द्रजात्रा पर्वको सुरुको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती पुलूँ किसी, श्री देवी नाच गण, श्री महाकाली नाच गण, श्री हलचोक आकाश भैरव नाच गण लगायत विभिन्न देवदेवीहरूको विधिवत् पूजा गरी बाहिर निकाल्ने र जात्रा अवधिभर नगरको विभिन्न भागमा पूजा अर्चना गरी परम्परागत नृत्य प्रदर्शन गर्ने समितिले जनाएको छ।

इन्द्रजात्रा पर्वको सुरुको दिनदेखि जात्रा अवधिभर नगरका विभिन्न भागहरूमा विभिन्न आकर्षित तथा आकृतिका भैरवका मूर्तिहरू हनुमानढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे: भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा श्री इन्द्र देवताको प्रदर्शनी तथा नीति पूजाको परम्परा रहेको छ।

पर्वको सुरुको दिनदेखि जात्रा अवधिभर साँझ तिर श्री कुमारी घरको प्रागंणमा रहेको श्री लक्ष्मी नारायण देवलमा स्टेज बनाई श्री नारायणको दश अवतार प्रदर्शन गर्ने समितिले जनाएको छ।

श्री गणेश, श्री भैरव र श्री कुमारीलाई श्री तलेजुका मूल पुजारी, सुसारे र मोही नाइकेहरूको टोलीबाट विशेष तान्त्रिक विधिबाट पूजा गर्ने परम्परा रहेको छ। श्री पञ्च बुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरुको पनि रथ यात्राका क्रममा श्री भैरव रथको पछि श्री कुमारी रथको अगाडि भै नगर परिक्रमा गर्ने समितिले जनाएको छ।

यस अवसरमा इन्द्रचोकको श्री आकाश भैरवको मूर्ति तथा बाका दे: आजुको मूर्ति मन्दिर परिसरको बाहिरी भागमा प्रदर्शनी गराउने परम्परा रहेको छ। जात्राको हरेक दिन हनुमान ढोकाको श्री श्वेत भैरवको मुखबाट श्रीको प्रसाद स्वरूप जाँड रक्सीको धारा बगाइने परम्परा रहेको छ।

इन्द्रजात्रा अवधिभर विश्वले मान्ने जीवित देवी देवताहरू क्रमशः श्री कुमारी, श्री गणेश र श्री भैरवको तीन दिन रथमा रथारोहण गराइ नगर परिक्रमा गराइने परम्परा रहेको छ। जात्राको अन्तिम दिन राष्ट्रपतिको बाहुलीबाट टिका ग्रहण गर्ने परम्परा रहेको समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.