भुमिकाको खण्डन : शल्यक्रिया निजी खर्चबाट गरेको हुँ

भुमिकाको खण्डन : शल्यक्रिया निजी खर्चबाट गरेको हुँ

काठमाडौं : ‘नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड’ शीर्षकमा प्रकाशित समाचारमा अभियन्ता भुमिका श्रेष्ठले खण्डन पठाएकी छन्।

उनले व्यक्तिगत चरित्र हत्या र मान हानी हुने गरी एकतर्फी रूपमा समाचार प्रकाशित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।

उनले दाताकै सहयोगमा शल्यक्रिया गरेको भन्ने कुरा निराधार र झुटो भएको दाबी गरेकी छन्। ‘शल्यक्रिया मैँले निजी खर्चबाट गरेको हुँ। कुनै दाताको सहयोगमा शल्यक्रिया गरेको प्रमाण भए समाचारमा किन समावेश गरिएन?’भूमिकाले प्रश्न गरेकी छन्।

समुदायका मुद्दामा दुई दशकदेखि लडिरहेको र संस्थागत निम्तोमा समुदायकै मुद्दाहरू उठान गर्न साथै नेपालको प्रतिनिधित्व गर्दै विदेशका कार्यक्रममा सहभागिता जनाएको उनले प्रस्टीकरण दिएकी छन्।

(यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको ‘नेपालमा हुने सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड’ समाचारमा कुनै व्यक्ति प्रति आक्षेप लगाउन नचाहेको पहिचान मिडिया प्रस्ट पार्न चाहन्छ। संस्थागत प्रवृत्तिविरुद्धको खबरदारीको समाचारले व्यक्तिगत रूपमा चोट पर्न गएको भए पहिचान मिडिया क्षमा समेत माग्दछ।)
सम्पादक

भुमिका श्रेष्ठले पठाएको खण्डन यस्तो छ :

श्री सम्पादक ज्यू

पहिचान डटकम

पहिचान मिडिया प्रा लि, काठमाडौं।

मिति : २०८०।०६।१२

विषय : खण्डन गरिएको बारे।

उक्त सम्बन्धमा पहिचान मिडिया प्रालिद्वारा सञ्चालित त्यस अनलाइन न्यूजपोर्टल पहिचान डटकममा मिति २०८० असोज ११ गते ‘नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड’ शीर्षकमा प्रकाशित समाचारमा मेरो व्यक्तिगत चरित्र हत्या र मान हानी हुने गरी एकतर्फी रूपमा समाचार प्रकाशित गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त शीर्षकको समाचार अन्तर्गत ‘हर्मोन क्लिनिक सञ्चालनको प्रयास’ उपशीर्षक राखी मेरो चरित्र हत्या गर्ने मनसायका साथ समाचार प्रकाशित भएकोमा आपत्ति प्रकट गर्दछु।

समाचारमा उल्लेख भएअनुसार ‘अन्य पहिचानमा नागरिकता र पासपोर्ट लिएकी भूमिका श्रेष्ठले दाताकै सहयोगमा शल्यक्रिया गरेर महिला बनेकी छन्। अन्यको नागरिकता र पासपोर्ट लिँदा युएनडिपीको सहयोग लिएर बैंकक टुर गरेकी भूमिकाले शल्यक्रिया गरेपछि अमेरिका सफर गरिन।’ उक्त न्यूजपोर्टलले दाताकै सहयोगमा शल्यक्रिया गरेको भन्ने कुरा निराधार र झुटो हो। शल्यक्रिया मैँले निजी खर्चबाट गरेको हुँ। कुनै दाताको सहयोगमा शल्यक्रिया गरेको प्रमाण भए समाचारमा किन समावेश गरिएन? समाचारमा उल्लेख भएअनुसार विदेश भ्रमणको मात्र प्रसङ्गप्रति पनि मेरो भिन्न धारणा छ। समुदायका मुद्दामा दुई दशकदेखि लडिरहेको र संस्थागत निम्तोमा समुदायकै मुद्दाहरू उठान गर्न साथै नेपालको प्रतिनिधित्व गर्दै विदेशका कार्यक्रममा सहभागिता जनाएको हुँ। समाजलाई सही मार्गमा डोर्‍याउने देशको चौथो अङ्गले गलत अर्थ लाग्ने गरी, कुनै प्रतिक्रिया नलिई, प्रमाण पुग्ने तथ्यहरू समावेश नगरी एकतर्फी रूपमा समाचार प्रकाशित भएकोप्रति मेरो आपत्ति छ।

आयोजकको आधिकारिक निम्तोलाई स्विकार्दै विभिन्न देशको भ्रमण गरेको कुरालाई गलत व्याख्या गर्ने मनसायले आएको समाचारले समाजलाई थप भ्रम छर्ने निश्चित छ। त्यसैले समाचारको न्यूनतम मूल्य र मान्यता समेत नराखी मलाई एक पटक पनि नसोधी चरित्र हत्या गर्ने मनसायले प्रकाशित उक्त समाचार तत्काल सम्पादन गर्न वा खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु। व्यक्तिगत मान हानी र चरित्रहत्याको विषयलाई लिएर अन्न कानुनी उपचार खोज्ने प्रशस्त माध्यमहरू पहिल्याउनु अघि खण्डन समाचार प्रकाशित सहजीकरणका लागि अनुरोध पनि गर्दछु।

म विगत दुई दशकदेखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार, वृत्ति विकास साथै मानवीय सेवाका क्षेत्रमा क्रियाशील छु। उक्त समुदायका क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी)मा रहेर सामाजिक अभियानमा रहँदै आएको सर्वप्रथम यहाँ समक्ष जानकारी गराउँदछु। तर उक्त समाचारका कारण मेरो सामाजिक जीवनमा समेत असर पर्नुका साथै व्यक्तिगत गोपनीयताको समेत हनन भएको र मानसिक तनाव व्यहोर्नुपरेकाले समाचार प्रकाशन गर्नु पूर्व एक पटक सम्बन्धित व्यक्तिको प्रतिक्रिया समेट्न समेत आग्रह गर्दछु।

भूमिका श्रेष्ठ

अभियन्ता

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय

आबद्ध संस्था : नील हिरा समाज

यो पनि
‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.