‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’

‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’

भूमिकाको आत्मकथा आजदेखि बजार

काठमाडौं (पहिचान) पुस २७ – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । भुमिका श्रेष्ठको आत्मकथा भुुमिका कलाकार रमेश उप्रेती , नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले विमोचन गरेका हुन् ।

जन्मदा पुरुष, हुर्कदै बढ्दै जादाँ महिला स्वभाव एवं हाउभाउ भएकी भूमिकाको आत्मकथा सबै तेस्रोलिंगीको प्रतिनिधित्व गर्ने पुस्तक हुने भन्दै कलाकार, लेखक, सहित्यकार, यौनिक तथा लैंगिक अल्पसंख्यकले शुभकामना दिएका छन् ।

भूमिकालाई जन्म दिने आमा निश्चय नै हिरो भएको नायिका एवं चलचित्र निर्माता रेखा थापाले बताइन । ‘म भूमिका श्रेष्ठ जस्तो बन्न सक्दिन, न भूमिका म जस्तो बन्न सक्छिन नायिका थापाले भनिन्, सबैलाई आफ्नो युनिक पनमा बाच्ने अधिकार हुन्छ ।’ उनले भूमिकाको आत्मकथा हरेक गाउँ, बस्ती, टोल टोलमा पुग्नु पर्ने बताइन ।

थापाले भुमिकालाई आफुले पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखिकाको रुपमा चिन्न पाउदा गर्व लागेको बताइन । स्टेजमा रहेकी भुमिकाकी आमालाई देखाउदै आमाले छोरी जन्माएको तर उ हिरो भएको रेखाले बताइन ।

नायक एवं चलचित्र निर्माता रमेश उप्रेतीले भूमिकाको आँट देखेर सेल्युट गर्न मन लागेको बताए । उनले लिंगले समाजमा कुनै फरक नपार्ने भन्दै यो समुदायका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए । भूमिकाको किताब सबैका लागि उदाहरण बनोस भनेर उप्रेतीले शुभकामना दिए । उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपुर्ण पाटो समेटेको बताए ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले भूमिका श्रेष्ठको नाममा नागरिकता लिएको हेर्ने मन भएको बताइन । ‘उनले अहिले पनि कैलास श्रेष्ठकै नाममा नागरिकता लिएकी छन् उनले भनिन्, अब भूमिका श्रेष्ठकै नाममा नागरिकता लिएको हेर्न मन छ ।’ सुुब्बाले भुमिकाले भुमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताइन ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विवाहको कानून बनेर लागू हुनु पर्ने माग गरिन । विवाहको कानून बन्दैन भने उनीहरुको पार्टनरशिपले बैधानिकता पाओस सुब्बाले भनिन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग आफ्नै परिवार जस्तो भएर बसेको बताइन ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगीको जीवनलाई किताबमा उतारिएको यो पहिलो पटक भएको बताइन । ‘भूमिकाको यो किताब सबै तेस्रोलिंगीसँग मिल्न जान्छ उनले खुशी व्यक्त गर्दै भनिन्, मैले टिपेको कोपिला आज सुन्दर फुलमा परिणत भएको छ, मलाई गर्व लागेको छ ।’

उनले यो किताब किताब मात्रै नभएर किताबले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउने बताइन । उनले लेखन र साहित्यको माध्यमबाट तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै लैजान सकिने बताइन । उनले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताइन ।

साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरा देखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुुस्तकको सफलताको शुुभकामना ब्यक्त गरे । कोइरालाले भूमिकाको कितावमा महाराभारत, रामायण, नेवारी संस्कृतीदेखि लिएर अन्तराष्ट्रिय बिषय समेत राखिएकाले पुस्तक पठनिय भएको बताए ।

पुस्तकका सम्पादक पदम श्रेष्ठले पुस्तकमा तेस्रोलिंगी मात्रै नभएर एलजिबिटिआई सबैको ब्याख्या गरिएको बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार लेखेर मात्रै नहुने भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष एवं लेखन कुन्जका कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताए । तेस्रोलिंगीलाई बुुझने माध्यमको रुपमा यो किताब माईलस्टोन हुनेमा उनको बिश्वास छ । ढकालले भूमिकाको जीवनको पुस्तक मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यककै जीवनको पुस्तकको रुपमा तेस्रोलिंगीको आत्मकथा विमोचन भएको बताए ।

लेखिका भूमिका श्रेष्ठले भावुक हुँदै आफ्नो समूदायको पीडा बेदना समेटिएको पुस्तक तेस्रोलिंगीको आत्मकथा पढिदिन आग्रह गरिन । भूमिका श्रेष्ठको आत्मकथामा ३५ वटा बिषय समावेश छ । २ सय ४० पृष्ठको यो पुस्तकको मुल्य ३ सय ५० रुपैयाँ राखिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading