राष्ट्रसङ्घीय महासचिवसँग सरकारको ढाकछोप, प्रतिपक्षीले लगायो पोल

राष्ट्रसङ्घीय महासचिवसँग सरकारको ढाकछोप, प्रतिपक्षीले लगायो पोल

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस नेपाल आएका छन्। नेपालमा सरकार र तत्कालीन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पुग्नै लाग्दा राष्ट्रसङ्घका महासचिव गुटरेस नेपाल आएका हुन्।

उनलाई नेपालको चुच्चे नक्सा दिएर विमानस्थलमा स्वागत गरिएको छ। तत्कालीन विद्रोही पक्षका नेता पुष्पकमल दाहाल प्रचण्ड शान्ति सम्झौता पछि तीन पटक प्रधानमन्त्री बनिसकेका छन्। तर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पुरा भएको छैन। उधारो प्रतिविद्धतामा समय घर्किरहेको छ।

राष्ट्रसङ्घ महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गरेर नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन सहयोग गर्ने बताए। सरकार र प्रमुख दलका नेताहरूले पनि सङ्क्रमणकालीन न्याय सम्बन्धी संसद्मा विचाराधीन विधेयक छिट्टै पारित गर्ने बताएका छन्।

नेपालको परिस्थिति नजिकबाट नियालिरहेको राष्ट्रसङ्घका महासचिवसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन्।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा महासचिव गुटरेसले विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रशंसा गरेको प्रचण्डले सुनाए। नेपाली नेताहरूले गुटरेसलाई लम्बेतान कुरा सुनाउनै परेन। नेपालको अवस्थाबारे जानकार गुटरेसलाई धेरै कुरा बताउनै नपरेको प्रधानमन्त्री प्रचण्डले सुनाए।

गुटरेसले काठमाडौं आएकै दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग गुटरेसले छुट्टाछुट्टै भेटवार्ता गरे। गुटरेससँग भेट गरेका परराष्ट्रमन्त्री साउद भने अमेरिका प्रस्थान गरेका छन्।

राष्ट्रसङ्घ महासचिवको सम्बोधन लगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी

गुटरेससँग छुट्टाछुट्टै भेटवार्ता गरेका सत्ता पक्ष र प्रतिपक्षबीचको कुरा बाझिएको छ। प्रधानमन्त्रीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता जनाइरहँदा प्रतिपक्षी एमालेले भने प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको महासचिव गुटरेसलाई सुनाएको छ।

हिंसालाई बढवा दिने, हिंसाको महिमामण्डन गर्ने प्रधानमन्त्री प्रचण्डको क्रियाकलापले असहज भएको अध्यक्ष ओलीले महासचिव गुटरेससँगको भेटमा बताउनु भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै गुटरेसले संयुक्त राष्ट्रसङ्घ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार रहेको बताए।

विश्वमा यतिवेला मानव जीवनमाथि शक्ति प्रदर्शन भइरहेको छ। इजरायल र हमासबीचको युद्धले मानव जीवन नै असुरक्षित बनिरहेको छ। हमासको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ। पाँच जनाको मात्रै शव नेपाल ल्याइएको छ।

क्षतविक्षत अवस्थाका शव पहिचान गर्न नेपालबाट डिएनए सङ्कलन गरेर इजरायल पठाइएको छ। इजरायलमा हमासको आक्रमणका परी मृत्यु भएका १० नेपाली मध्ये थप ३ जना नेपालीको शवको पहिचान भएको छ।

इजरायल स्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाएका डोटीका पदम थापा, सल्यानका प्रवेश भण्डारी र डोटीकै राजन फुलाराको पहिचान भएको हो। यो सँगै इजरायल आक्रमणमा ज्यान गुमाएका आठ जनाको पहिचान खुलेको छ।

आक्रमणमा घाइते भएका चार जना मध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज भएका मध्ये एक जना नेपाल आइसकेका छन्। एक जना दूतावासको हेरचाहमा रहेको नेपाली दूतावासले जनाएको छ। अन्य दुई जनाको शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ।

हमासले कब्जामा लिएका विपिन जोशीको अवस्था अझै सम्म अज्ञात नै छ। यसैबेला राष्ट्रसङ्घका महासचिव गुटरेस नेपाल भ्रमणमा आए। उनले नेपालबाटै तत्काल युद्धविराम गर्न अपिल समेत गरेका छन्।

महासचिव गुटरेसले हमासको आक्रमणका क्रममा दश नेपालीको मृत्यु भएकोमा दुख व्यक्त गर्दै मृतक परिवारमा समवेदना व्यक्त गरे। उनले आक्रमणका क्रममा बेपत्ता विपिन जोशी सुरक्षित रूपमा नेपाल फर्कन पाउन भन्दै कामना समेत गरे।

नेपाल मजदुर किसान पार्टीले भने संयुक्त राष्ट्रसङ्घलाई पश्चिमा देशहरूको पिछलग्गु नबन्न सुझाव दिएको छ। नेमकिपा सांसद प्रेम सुवालले महासचिव गुटरेसको नेपाल भ्रमण चलिरहेका बेला अमेरिकातर्फ लक्षित गर्दै सामराज्यबादीहरुको निर्देशन मान्ने गरेको टिप्पणी गरे। प्रतिनिधि सभाको बैठकमा सुवालले यो विषयमा महासचिवलाई राम्रोसँग जानकारी गराउन सुझाव नै दिए।

महासचिव गुटरेसले कार्तिक १४ गते सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले सरकारबाट प्राप्त पत्र वाचन गरेर महासचिवको सम्बोधनबारे जानकारी गराए। उनले सांसदलाई १५ मिनेट अघि नै तोकिएको पोसाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading