राष्ट्रसङ्घ महासचिवको सम्बोधन लगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी

राष्ट्रसङ्घ महासचिवको सम्बोधन लगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं : सङ्घीय संसद्को चालु अधिवेशन कार्तिक १६ गते अन्त्य गर्ने तयारी भएको छ। आइतबार नेपाल भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते सङ्घीय संसद्लाई सम्बोधन गरे लगत्तै १६ गते चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ।

सङ्घीय संसद् सचिवालयले दशैं अगाडि नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरे पनि महासचिव गुटेरेसको भ्रमणका कारण अन्त्य नगरिएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जानकारी दिए। ‘बजेट अधिवेशन दशै अगाडि नै अन्त्य गर्नुपर्थ्यो, उहाँकै कार्यक्रमले यहाँसम्म पोष्टपोण्ड गरेर यहाँसम्म ल्याएका हौँ,’सभामुख घिमिरेले भने,‘अब अन्त्य गर्नुपर्ने हुन्छ, त्यस पछाडि हिउँदे सेसन बोलाउँछौ।’

राष्ट्रसङ्घ महासचिव गुटेरेसले १४ गते दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नेछन्। गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा कात्तिक १२ गते नेपाल आउँदै छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटलीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भएको थियो।

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने सभामुख घिमिरेले जानकारी दिए। गुटेरेसले संसद्मा जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दालाई समेत सम्बोधन गर्ने अनुमान घिमिरेले सुनाए।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपाल भ्रमण गरेका थिए। महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन्।

सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लो पटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ।

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मिएका गुटेरेस भौतिक शास्त्र तथा इलेकट्रिकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेसामा संलग्न थिए। सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रूपमा परिचित छन्।

नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्। यसै गरी पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।

चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। गुटेरेसले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनबाट प्रभावितहरूसँग पनि भेट गर्ने तय भएको छ।

राष्ट्रसङ्घ महासचिवको नेपाल भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार छलफल गरेका छन्। एमाले अध्यक्ष ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग एक्ला एक्लै छलफल गरेका हुन्।

भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एनटेनियो गुटेरेस र कतारका राजा शेख तामिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा शान्ति प्रक्रियाबारे साझा धारणा बनाउने, संसद्मा विचाराधीन टिआरसी विधेयकबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ।

प्रधानसेनापति चीनमा

प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ गएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे।

भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनेछन्। शर्मा र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानसेनापति शर्मा कात्तिक १६ गते स्वदेश फर्कनेछन्। भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत छन्।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हालेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading