राष्ट्रसङ्घ महासचिव तत्काल नेपाल नआउने

राष्ट्रसङ्घ महासचिव तत्काल नेपाल नआउने

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। इजरायलमा हमास लडाकुले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण उनको नेपाल भ्रमण स्थगित भएको हो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पश्चिम एसियामा विकसित तनावका कारण महासचिव गुटेरेसको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी दिइन।

महासचिव गुटेरेसको नेपाल भ्रमण छिट्टै हुने उनले बताइन। गुटेरेस शुक्रवार नेपाल आउने र असोज २७ गते शनिवार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो। गुटेरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्मका लागि तय भएको थियो।

इजरायल भ्रमण नगर्न आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले इजरायलको अवस्था संवेदनशील रहेको उल्लेख गरे।

बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासबारे जानकारी मागेका थिए। बैठकले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन पनि दिएको छ।

समिति सभापति राजकिशोर यादवले इजरायल आक्रमणमा ज्यान गुमाएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न निर्देशन दिइएको जानकारी दिए।

समितिले भविष्यमा हुने यस्ता खाले घटनाको पूर्व आकलन गरी विदेशस्थित कूटनीतिक नियोगहरूलाई श्रोत, साधनसहित सक्षम बनाउन र विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गर्न पनि सरकारलाई भनेको छ।

इजरायल आक्रमण : राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख रुपैयाँ

परराष्ट्रमन्त्री साउदले मङ्गलवार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि पनि सहजीकरण गर्नसमेत आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिवार बिहान हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading