भूकम्प पीडितको त्रिपालमुनि बास, घर पुनर्निर्माण गर्न एक वर्ष लाग्ने

भूकम्प पीडितको त्रिपालमुनि बास, घर पुनर्निर्माण गर्न एक वर्ष लाग्ने

काठमाडौं : सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन।

भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल पनि गरेको छ। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग स्वीकार गर्दै मन्त्रिपरिषद् बैठकले सहयोगका लागि अपिल गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन।

भूकम्पबाट क्षतिग्रस्त संरचना पुननिर्माणको काम सहरी विकास मन्त्रालयले अगाडी बढाउने छ। एक वर्ष भित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गरिसक्ने मन्त्री शर्माले जानकारी दिइन।

भूकम्प पीडितलाई सहयोगको घोषणा

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएको छ। पहिले सहयोगको घोषणा गरेको चीनको प्राप्त नहुँदै भारतले १६ करोड रुपैयाँ बराबरको सहयोग सामग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ।

भारतीय वायुसेनाको विशेष विमानबाट आपत्कालीन राहत सामग्री त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, चिकित्सा उपकरण र अत्यावश्यक औषधीसहित ११ टन भन्दा बढी भारतीय राहत सामाग्री नेपालगन्ज पुगेको हो। चीनले पनि १० करोड बराबरको सहयोग सामग्री सहयोग गर्ने घोषणा गरेको छ।

आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ। सशस्त्र प्रहरी बल नेपालले पनि टेन्टसहित तीन वटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज तीन वटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिम गएको हो। यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुई वटा डिआरएस कन्टेनर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ सहित प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्प प्रभावितलाई पठाउने निर्णय गरेको छ।

यस्तै, नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ, आइएमइ ग्रुपले एक करोड ५० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ।

भूकम्प पीडितको बिचल्ली

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्पका कारण करिब ४ हजार परिवारको बास त्रिपाल मुनि भएको छ। घाइतेको उद्धार तथा मृतकको शव कुरेर बसेका उनीहरूको घर भूकम्पले पूर्ण तथा आंशिक क्षति भएपछि त्रिपालमुनिको बास भएको हो।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार भूकम्पले ९ सय १० घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने २ हजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको छ। घरमा बस्न नसक्ने अवस्थामा पीडितहरू त्रिपालको सहारामा रात बिताउन विवश छन् भने केही बाख्राको खोरमा समेत रात काट्न बाध्य बनेका छन्।

भूकम्प प्रभावित ११ जिल्लामध्येका एक सल्यानको दार्मा गाउँपालिकाका १६३ घर पूर्ण ध्वस्त छन्। ५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको पालिका अध्यक्ष निमबहादुर केसीले बताए। भूकम्प प्रभावित उनीहरूको बास खुला आकाशमुनि भएको छ।

केही त्रिपाल, सरकारी भवन तथा विद्यालयमा बास बसेका छन्। अति विपन्न तथा घर पुर्णरुपमा क्षति भएका ७३ परिवारलाई आइतबार त्रिपाल वितरण गरी थप तथ्याङ्क सङ्कलनसमेत भइरहेको गाउँपालिका प्रमुख केसीले जानकारी दिए।

भूकम्पको मुख्य केन्द्र बिन्दु भएको जाजरकोटका सबै पालिकामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत सामाग्री पठाइएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार स्थानीय तहको माग अनुसार गाँस बासका आधारभूत सामग्रीहरू पठाउने क्रम जारी छ।

रुकुम पश्चिममा पनि भूकम्पपीडितलाई राहत वितरण गर्न थालिएको छ। पहिलो चरणमा गाँस र बासका लागि आधारभूत सामाग्रीसहित प्राथमिक उपचारका स्वास्थ्य किटहरू पीडितसम्म पुर्‍याउनेक्रम जारी छ। तर सबै भूकम्प पीडितसम्म राहतका सामग्रीहरू पुग्न सकेको छैन।

त्रासमा पीडित

भूकम्प प्रभावित क्षेत्रमा अझै भूकम्पको जोखिम कम भएको छैन। पटक पटक गएको पराकम्पका कारण पीडितहरू त्रासमा छन्। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर दुई पटक ४ म्याग्निच्युडभन्दा बढीको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्युड र बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको हो।

बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ। गत शुक्रवार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परी जाजरकोटका १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी मृत्यु हुने नलगाड नगरपालिकाका ५५ जनाको आइतबार सामूहिक अन्त्येष्टि गरिएको छ भने अन्यको शव परिवारले बुझिसकेका छन्।

जाजरकोट अस्पतालमा रहेका ५ जनाको शव भोलि (सोमबार) बिहानै परिवारलाई बुझाइने जाजरकोट प्रहरीले बताएको छ। भूकम्पमा परी घाइते भएका १४६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ सय ४६ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेका नेपाल प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.