चौरजहारीमा चौधरी ग्रुपको ‘ट्रान्जिसनल होम’

चौरजहारीमा चौधरी ग्रुपको ‘ट्रान्जिसनल होम’

फाइल तस्बिर : गोरखा भुकम्प

काठमाडौं : चौधरी फाउन्डेसनले पहिलो चरणमा ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरिदिने भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट काम सुरु गर्ने सहमति भएको फाउन्डेसनले जनाएको छ।

चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच नगर भित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’निर्माण गर्ने सहमति भएको छ।

स्थानीय पालिकासँगको समन्वयमा ‘ट्रान्जिसनल होम’निर्माणको काम अगाडि बढाइने जानकारी फाउन्डेसनले गराएको छ। फाउन्डेसनले विज्ञप्ति निकालेर स्थानीय प्रशासन/स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने जानकारी दिएको छ।

यस्ता ‘ट्रान्जिसनल होम’निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन्। यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने चौधरी फाउन्डेसनले दाबी गरेको छ।

तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घर विहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो छ। भत्किएका घरहरू पुनर्निर्माण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जति सक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घर विहीन हुनु भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवश्यक छ। यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’निर्माण गर्ने निर्णय लिएको दाबी गरेको छ।

भूकम्पबाट घर भत्किएका परिवारलाई जति सक्यो छिटो ओतमा पुर्‍याउन छिटोभन्दाछिटो काम सुरु गर्ने प्रतिबद्धता चौर जहारीका मेयर वादीले बताए।
चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले मानवीय सेवाको कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न आव्हान गरे।

उनले भूकम्पका कारण जाजरकोट, पश्चिम रुकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकका लागि तत्काल राहतका कार्यक्रमलाई जारी राख्ने बताए। भूकम्पले घर विहीन भएका नागरिकलाई चिसोबाट जोगाउन छानो मुनि फर्काउने कामलाई पनि तीव्रता दिने निर्णय लिएको उनले बताए।

चौधरी फाउन्डेसनले गोर्खा केन्द्रबिन्दु रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिब तीन हजार ‘ट्रान्जिसनल होम’निर्माण गरी हस्तान्तरण गरेको थियो। साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरी हस्तान्तरण गरेको थियो।

फाउन्डेसनले जाजरकोट र रुकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको जनाएको छ। खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको फाउन्डेसनले प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको जनाएको छ।

भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउन्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न सहज हुने विश्वास चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन/पब्लिक रिलेसन डिपार्टमेन्टका जनरल म्यानेजर मुधुसुदन पौड्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘मानवीय सेवाको पवित्र कार्यमा सम्बन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्त हुने विश्वास पनि हामीले लिएका छौँ’विज्ञप्तिमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.