भूकम्प प्रभावित क्षेत्रमा भीभीआइपीको लर्को

भूकम्प प्रभावित क्षेत्रमा भीभीआइपीको लर्को

तस्बिर : राष्ट्रपतिको निजी सचिवालय

काठमाडौं : भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा भीभीआइपी र भीआइपीको लर्को लागेको छ। चौतर्फी आलोचना पछि बुधवार देखिको युरोप भ्रमण स्थगित गरेर सेनाको हेलिकप्टरमा भूकम्प प्रभावित क्षेत्र पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले पीडितको अवस्था बुझेका छन्।

भूकम्प पीडितलाई हटाएर राष्ट्रपति चढेको हेलिकोप्टर अवतरण गराइएको थियो। भूकम्प पीडितको उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी समेत राष्ट्रपति पौडेलको सुरक्षामा खटिनु पर्‍यो। राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदा भूकम्पपछिको खोज, उद्धार र राहत सामग्री वितरणमा समेत बाध पुगेको छ।

राज्य कोष दोहन गरी हेलिकोप्टरमा भूकम्प प्रभावित क्षेत्रमा डुल्न पुगेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री नेताहरूले ओत लाग्ने ठाउँ पाउन नसकेका पीडितहरूलाई आश्वासन बाहेक केही दिन सकेका छैनन्।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का तीन पटक सेनाको हेलिकोप्टरमा प्रभावित क्षेत्र पुगेका छन्।

उनीहरूको काम आश्वासन र निर्देशन दिनेमा मात्रै सीमित बनिरहेको छ। भूकम्प पीडितले अझै राहत पाउन सकेका छैनन्। राहत पाउन नसकेको गुनासो गरेका भूकम्प पीडितलाई राष्ट्रपति पौडेलले ‘चिन्ता नगर्नुहोला, सरकार, राज्य र सिङ्गो देश नै तपाईँहरूको साथमा छ’ भने।

भेरी नगरपालिका–१ की सितली कामीको गुनासो सुनेपछि राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलले भने–‘तपाईँहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु।’

राष्ट्रपति पौडेलले ‘अहिले राजा महाराजको जमाना हैन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितहरूको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्छ’ भने।

भूकम्पका मृतक : व्यक्ति एकै, गणना डबल

भूकम्प प्रभावितहरूको अवस्था बुझन् मङ्गलवार बिहान जाजरकोट पुगेका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेका थिए। भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गरेका उनले भूकम्पले क्षतिग्रस्त घरहरूको अवलोकन गरेका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

जाजरकोट पछि राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न रुकुम पुगे। राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले दुःखमा दुःख बिसाउन आएका बताए।

रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका १६ हजार घरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन राष्ट्रपतिलाई सुनाए। भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीर बहादुर पुनलाई राष्ट्रपति पौडेलले थप उपचारका लागि आफू चढेको जहाजमा सुर्खेतबाटसंगै काठमाडौँ ल्याएका छन्।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेर मङ्गलवार भूकम्प प्रभावित क्षेत्र गएका हुन्।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जा मन्त्री शक्ति बस्नेत, प्रदेश सांसद र प्रधानसेनापतिलगायत सहभागी थिए।

जाजरकोटमा भूकम्प गएको चार दिन बित्न लाग्दा १४ जना भीभीआईपी र भीआईपी पुगेका छन्। राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।

पीडितहरूको जनजीवन कष्टकर

सामान्य त्रिपालसमेत नपाउँदा भूकम्प पीडित भने बारीका पाटामा रात बिताउन बाध्य छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू नपुग्दै प्रधानमन्त्री काठमाडौँबाट जाजरकोट पुगेका थिए। गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पका पीडितहरूले कष्टकर दिन बिताइरहेका छन्।

त्रिपाल, खाद्यन्नलायतका आधारभूत राहत सामग्री अझै पाइनसकेको पीडितहरूले गुनासो गरेका छन्। स्थानीय प्रशासनले भने स्थानीय तहहरूको समन्वयमा उद्धारको काम सकेपछि राहत वितरणको काम तीव्र पारेको बताएको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च वितरण गरेको प्रशासनले जनाएको छ।

नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिए। उनका अनुसार प्रत्येक मृतक परिवारलाई २५ हजारका दरले किरिया खर्च दिइएको छ।

जाजरकोट भूकम्प पीडितहरूलाई राहत प्राप्त हुने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी राजनीतिक दलहरूले राहत रकम हस्तान्तरण गरेका छन्। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ५०/५० लाख रुपैयाँको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरे।

नेकपा एकीकृत समाजवादीले २५ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ। निजी, व्यापारिक तथा बैङ्किङ संस्थाहरूले पनि राहत रकम दिने क्रम जारी छ।

चौरजहारीमा चौधरी ग्रुपको ‘ट्रान्जिसनल होम’

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट–रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि एक करोड ५० लाख बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरे।

सूर्य नेपाल प्रालिले एक करोडको चेक हस्तान्तरण गरेको छ। डेमोक्रेटिक लयर्स एसोसिएसनले एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले पनि तहगत रूपमा तिन, दुई र एक दिन बराबरको तलब दिने निर्णय गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.