सकियो तिहार, सुरु भयो छठ

सकियो तिहार, सुरु भयो छठ

काठमाडौं : देशभर तिहार पर्व हर्षोल्लासका साथ मनाइएको छ। देउसी भैलोले गुञ्जायमान बनेका हरेक नेपालीका घर तिहार पर्वले झिलिमिली भए।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाइदिए।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेश र अष्ट चिरञ्जीवीको पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका, मखमली, सयपत्री वा गोदावरी लगायत फूलका माला लगाइदिएर तिहार पर्व मनाइएको छ।

दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरूले काठमाडौँ रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाए। बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटिकाको दिन मात्र खोल्ने हुँदा टिका लगाउने र लगाइदिनेको भिड लाग्यो।

वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिइन। उनले विगत २५ वर्षदेखि निरन्तर सामूहिक भाइटिका लगाइदिँदै आएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाए। राष्ट्रपति पौडेलले बिहान बिहान १० बजेर ५१ मिनेटको उत्तम साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका लगाउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कमलादी स्थित बहिनीको निवासमा पुगेर टिका लगाए। पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीको हातबाट शुभ साइतमा टिका लगाउनु भएको निजी सचिव फणीराज पाठकले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने श्रीमती सीता दाहालको निधन भएकाले टीका लगाएनन्। बालुवाटारमा देउसी भैलोको कार्यक्रम पनि भएन।

छठको तयारी सुरु

दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठ पर्वको तयारी थालिएको छ। छठ पर्व नजिकिँदै गएपछि वीरगन्ज र जनकपुरका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा श्रृङ्गारिने काम भइरहेको छ।

कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ। तराईमा छठको आफ्नो छुट्टै महत्त्व रहेको छ। मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको वीरगन्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ।

छठ पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा भीड देखिन थालेको छ। विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य भने महँगो भएको स्थानीयले गुनासो गरेका छन्।

यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ। अहिले गाउँ गाउँ घरघरमा छठ पर्वका गीत गुन्जिन थालेका छन्।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास रहेको छ। चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्छन्। छठ पर्वका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

३ लाख माला आयात

प्रतिबन्धका बाबजुद यो वर्षको तिहारको लागि विदेशबाट ३ लाख २ हजार माला आयात भएको छ। नेपालमै उत्पादन भएको फूलले पर्याप्त मात्रामा पुग्ने भए पनि सरकारी तहबाटै विदेशबाट फूल आयात गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

अध्यक्ष मीनबहादुर तामाङले १५ लाख बराबरको फूल विदेशबाट आयात भएको पाइएको जानकारी दिए। गत वर्षको तिहारमा नेपालमा उत्पादित फूलले धान्न नसकेको कारण १४ प्रतिशत फूल विदेशबाट आयात भएको थियो।

सरकारी पक्षले भने यस वर्ष नेपालभर उत्पादन भइरहेको फूल नै बिक्री भएको दाबी गरेको छ। कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रका सूचना अधिकारी सिर्जना न्यौपाने पौडेलले यो वर्ष विदेशबाट फूल आयात गर्न रोक लगाइएको बताइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.