निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चोर बाटोबाट ‘टिकटक’ चलाउँदा जोखिम

चोर बाटोबाट ‘टिकटक’ चलाउँदा जोखिम

543
SHARES

काठमाडौं : नेपालमा टिकटक पूर्ण रूपमा बन्द हुन अझै एक/दुई दिन लाग्ने भएको छ। कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिए पनि बिहीबारसम्म टिकटक पूर्णरुपमा बन्द हुन सकेको छैन।

बिहीबारसम्म लगभग ९५ प्रतिशत टिकटक नचल्ने भइसकेका प्राधिकरणले दाबी गरेको छ। नेपालमा अनुमानित ९५ लाख मानिसले टिकटक चलाइरहेका छन्।

टिकटक बन्द गर्ने काम भइरहेकाले अबको एक/दुई दिन भित्र नेपालमा पूर्ण रूपमा टिकटक नचल्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। ‘अहिलेसम्म ९५ प्रतिशत टिकटक बन्द भएको अवस्था छ,’उनले भने,‘ भीपीएन जस्ता अन्य प्रविधि युज गरेर फाट्टफुट्ट प्रयोग भएको छ, टिकटक बन्दले डाटाको खपत ह्वात्तै घटेको छ।’

मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा टिकटक चल्न छाडेपछि प्रयोगकर्ताहरूमा छटपटी समेत सुरु भएको छ। उनीहरूले चोर बाटोबाट टिकटकमा पहुँच पुर्‍याइसकेका छन्। कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरेर टिकटक चलाउन थालेका छन्।

करिब एक लाख प्रयोगकर्ताले भीपीएन खोलेको तथ्याङ्क सार्वजनिक भएको छ। यसरी चोर बाटोबाट टिकटक चलाउँदा आफ्नो बैङ्क खातामा रहेको रकम समेत चोरिन सक्ने जोखिम रहेको छ।

किन बन्द भएन टिकटक?

फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल क्यानका महासचिव चिरञ्जीवी अधिकारीले भीपीएन प्रयोग गर्दा साइबर सुरक्षाका हिसाबले जोखिम धेरै हुने बताए।

उनले आम नेपालीलाई फ्री भीपीएन प्रयोग नगर्न अनुरोध पनि गरे। ‘भीपीएन प्रयोग गर्दा डेटा सेल गर्छ, डेटा चोरी हुन्छ,’क्यानका महासचिव अधिकारीले भने,‘हामी त्यसैबाट मोबाइल बैङ्किङ चलाउँछौ, त्यसले ठुलो आर्थिक क्षति हुन सक्छ र साइबर जोखिम बढ्ने डर लागिरहेको छ।’

तर, टिकटकको पब्लिक पोसिली र गभर्मेन्ट रिलेसन हेर्ने दक्षिण एसिया प्रमुख फर्डोउस मोट्टाकिनले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएर पत्र पठाएको छ। मोट्टाकिनले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई इमेलमार्फत पत्र लेखेर असन्तुष्टि जनाएका हुन्।

उनले आफूहरूले नेपाल सरकारसँग निकट भएर काम गर्ने प्रतिबद्धता जनाएको अवस्थामा प्रतिबन्ध लगाइनु आश्चर्यजनक भएको पत्रमा उल्लेख गरेका छन्। ‘नेपालको नियम कानुनअनुसार अघि बढ्न तयार रहेको बताउँदा मन्त्रिपरिषद्ले किन प्रतिबन्ध लगायो?,’ पत्रमा उनले प्र‍श्‍न गरेका छन्।

धेरै नेपालीले टिकटकबाट राम्रो अवसर पाइरहेको र प्रतिबन्धले उनीहरूको आम्दानीको स्रोतमै धक्का लाग्ने अवस्था आएको भन्दै टिकटकले सरकारको निर्णयलाई गलत भनेको छ।

समाचार शेयर गर्नुहोस्
543
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.