दुर्गा प्रसाईँको आन्दोलन चौथो दिनमै छिन्नभिन्न

दुर्गा प्रसाईँको आन्दोलन चौथो दिनमै छिन्नभिन्न

काठमाडौं : शासन व्यवस्था र ऋण मिनाहाको नारा दिएर आन्दोलन थालेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनमा सहभागीहरू घर फर्कन थालेका छन्। व्यवस्था परिवर्तनबारे बेखवर सहभागीहरू ऋण मिनाहाको नारा नाटक मात्रै भएको बुझे पनि घर फर्कन थालेका हुन्।

आन्दोलनमा सहभागीहरू कम भए पछि प्रसाईँ आइतबार भक्तपुरको मोटरसाइकल र्‍याली उद्घाटन गरेर घरमै आराम गरेर बसे। घाटीमा समस्या भएका कारण प्रसाईँ घरमै आराम गरेर बसेका उनको निजी सचिवालयले जानकारी दिएको छ।

स्रोतका अनुसार प्रसाईँको विवादित अभिव्यक्तिका कारण उनको घर घेराउ भएकाले उनी बाहिर निस्कन नसकेका हुन्। तर, उनको सचिवालयले भने घरमा अभियन्ताहरूको भिड लागेको बताएको छ। ‘भक्तपुरमा भएको मोटरसाइकल र्‍यालीको उद्घाटन गरेर उहाँ (प्रसाईँ) घरमै आराम गरेर बस्नु भएको छ,’प्रसाईँको सचिवालयले पहिचानसँग भन्यो,‘दिनभर अभियन्ताहरूसँगको भेटघाटमा बिताउनु भयो,भोलि (सोमबार) गौशालाको प्रदर्शनमा सहभागी हुनुहुन्छ।’

प्रसाईँ नजरबन्दमा परेको हल्ला मात्रै, बालेनलाई दिए प्रधानमन्त्री बन्ने अफर

मत्थर हुँदै गए पनि आन्दोलन रोकिने सम्भावना नरहेको प्रसाईँ समूहको दाबी छ। प्रसाईँ समूहले आइतबार कलङ्की र बालाजुमा साङ्गीतिक कार्यक्रम गरेको जनाएको छ। तर, प्रसाईँ भने कुनै पनि कार्यक्रममा सहभागी भएनन्।

प्रसाईँले शासन सत्तामा बसेकाहरूको कार्यशैली प्रति असन्तुष्टहरूलाई सडकमा उतारेर शक्ति देखाउने प्रयास भने जारी राखेका छन्। उनले सोमबार ११ बजे पशुपति गौशालामा वृहत् विरोध प्रदर्शन गर्ने सार्वजनिक गरेका छन्।

शासन सत्ता प्रतिको असन्तुष्टि र जनताको निराशालाई प्रसाईँले सडकमा पोखाएका छन्। पहिलो पटक गत स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो निराशा मतपत्रमा व्यक्त गरेका थिए। जसबाट काठमाडौँमा बालेन साह र धरानमा हर्क साम्पाङको उदय भयो।

संसदीय चुनाव हुँदै उपनिर्वाचनसम्म आइपुग्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर जनताले ठुला दलप्रतिको असन्तुष्टि व्यक्त गरे। त्यति गर्दा पनि ठुला दलको कार्यशैली नसुध्रिए पछि अहिले पूर्वराजा, राप्रपा र व्यवसायी प्रसाईँको पछि लागेको भीड बढेको छ।

राजतन्त्र र ऋण मिनाहाको एजेन्डा लिएर मङ्सिर ७ देखि प्रदर्शन थालेको प्रसाईँ नेतृत्वको समूह चौथो दिनमा आइपुग्दा भने छिन्न भिन्न बन्न पुगेको छ। प्रसाईँको प्रदर्शन सानो सानो समूहमा सीमित बनेको छ।

अहिलेको व्यवस्थाबाट लाभ लिन नसकेका पीडित जनता सडकमै ओर्लिएका छन्। यसले बालुवाटार र सिंहदरबारको मात्र होइन धुम्बाराही र बालकोटको नीद हराम भएको छ। राज्यसत्ताको डाडु पन्यू हातमा लिएका उनीहरू यो निराशालाई सम्बोधन गर्न असफल भएका छन्।

अराजक शैली हाबी, देश सम्हाल्ने कसले?

लोकतन्त्रका लागि सङ्घर्ष गरेको भन्दै पछिल्लो तीन दशकदेखि राज्यसत्ता चलाएर साउँ ब्याज असुलिसकेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ६ पटक प्रधानमन्त्री भएर रेकर्ड ब्रेक गर्ने लाइनमा बसेका शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि बालुवाटारमा अहिलेको निराशाबारे छलफल गरेका थिए।

त्यो छलफलमा एक जनाले हिन्दुराज्य कायम गरे समस्या समाधान हुने बताउँदा, अर्काले सङ्घीयता खारेज गरे हुने उपाय सुझाएका थिए भने अर्का एक जनाले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्नुपर्ने बताएको स्रोतको दाबी छ। तर ठोस् निष्कर्षमा उनीहरू पुग्न भने सकेनन्।

यद्यपि मङ्सिर ७ गते लाखौँ जनता सडकमा उतारेर राजतन्त्र फर्काउने उद्घोष गरेका व्यवसायी प्रसाईँको अराजक प्रदर्शन चार दिनमै खहरे खोलाजस्तै भएको छ। व्यवस्था परिवर्तन नगरेसम्म आन्दोलन नरोकिने बताएका प्रसाईँलाई सरकारले अङ्कुश लगाए पछि बैक र सहकारीबाट पीडित भएर आन्दोलनमा आएकाहरू घर फर्केका छन्।

काठमाडौँमा प्रसाईँको आन्दोलनमा सहभागी नभएर झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाको शक्ति प्रदर्शनमा उत्रिए पनि मौन बसेपछि राजावादीहरू निराश भएका छन्। यद्यपि आमजनता न त अहिलेको गणतन्त्रसँग सन्तुष्ट छन् न त राजतन्त्र फर्काउन लागिपरेका छन्।

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल अहिलेको सडक सङ्घर्ष केवल निराशा मात्र भएको बताउँछन्। गणतन्त्र आइसके पछि देशका लागि ठुलै परिवर्तन भए पनि शासन गर्नेले बिगारेपछि सडकमा निराशा छताछुल्ल भएको उनको भनाइ छ। यो समस्या समाधान गर्नेतर्फ सरकार र अहिलेका प्रमुख दलहरू गम्भीर नभए व्यवस्था नै खतरामा पर्ने रिजालले बताए।

सुन्नुहोस् अडिओ

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.