राजदूत बन्ने गोप्य सम्झौताबारे प्रधानसेनापतिले खोले मुख

राजदूत बन्ने गोप्य सम्झौताबारे प्रधानसेनापतिले खोले मुख

काठमाडौं : नेपाली सेनालाई गिजोल्ने प्रयास भएको छ। देशको प्रमुख सुरक्षा निकायभित्र विवाद सिर्जना भएको भ्रम छर्ने प्रयास भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माले आपत्ति जनाएका छन्। सेनाभित्र एकपछि अर्को गर्दै काण्डैकाण्डका घटना बाहिरिएसँगै प्रधानसेनापति शर्माले मुख खोलेका हुन्।

उनले अनर्गल प्रचारप्रति आपत्ति जनाए। गण तथा गुल्महरूको कमान्ड गरिरहेका एवं निकट भविष्यमा कमान्डमा नियुक्त हुन लागेका अधिकृतहरूलाई प्रधान सेनापति शर्माले नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको तर्फ सचेत रहन निर्देशन दिए।

राजदूत बन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सम्झौता गरेको र त्यसैका आधारमा पदोन्नतिको लाभ लिइरहेको भन्ने कुरा व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्ड र आफूबीच कुनै गोप्य सम्झौता नभएको उनले दाबी गरे। प्रधान सेनापति शर्माले आफूले कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने काम नगरेको बताउनु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ।

प्रधान सेनापति शर्माले आम नेपालीको आस्था र भरोसाको केन्द्रको रूपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमान्डरहरू लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिए।

भावी प्रधानसेनापति सिग्देलको ‘उमेर विवाद’ अख्तियारमा

प्रधान सेनापतिले ‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिबद्ध रहेको’ बताए।

प्रधानसेनापति शर्माले भने,‘असङ्ख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिध्द गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भै विशेष ढङ्गले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको बताए।

उपरथी पाण्डेले दिए राजीनामा, ‘कोर्ट मार्सल’को डर

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेद्‍वारहरुको उमेर, शैक्षिक योग्यता आदीलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्दै प्रधान सेनापतिले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकता अनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको उल्लेख गरे।

उनले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शङ्कास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए।

संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने उनले बताए। स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएता पनि अमर्यादित र अस्वस्थ ढङ्गले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई उनले सुझाव दिए।

उनले नेपाली सेनामा सरुवा, बढुवालगायत वृत्ति विकास सम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको र यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बद्ध सबैलाई सचेत गराए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.