जर्नेलहरूको जन्ममिति विवादमा जङ्गिए सेनापति

जर्नेलहरूको जन्ममिति विवादमा जङ्गिए सेनापति

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा संसदीय समितिमा जङ्गिएका छन्। जर्नेलहरूको जन्ममितिमा प्रश्न गर्ने सांसदहरूसँग प्रधानसेनापति शर्मा आक्रोशित भएका हुन्।

सरकार र संसद्मा हुँदा आफ्नो भूमिका र जिम्मेवारी भुल्ने दलका नेताहरू संसदीय समितिमा विधि र विधानका कुरा गरेर लोकप्रियता कमाउने होडमा लाग्दा सेनापति आक्रोशित बने।

जर्नेल ताराध्वजको प्रमाणपत्र बारेमा बाहिर आएका चर्चा र वास्तविकता के हो? राजीनामा दिँदैमा उन्मुक्ति पाइन्छ? भनेर सांसदहरूले सेनापति शर्मालाई प्रश्न गरेका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बसेको बैठकमा सेनामा देखिएको विवाद उप्काएर हुर्मत लिन खोजे पछि सेनापति शर्मा आक्रोशित भए। जर्नेलको उमेर विवाद प्रकरणबारे जवाफ खोजे पछि प्रधानसेनापति शर्माले नेपाली सेना न्वारन गर्ने संस्था नभएको जवाफ दिए।

प्रधानसेनापति शर्माले उपरथी ताराध्वज पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेपछि पाण्डेको जन्ममितिको विवाद बाहिरिएको थियो। जन्ममितिमा कैफियत देखिएपछि पाण्डेले राजीनामा दिएका छन्।

राजदूत बन्ने गोप्य सम्झौताबारे प्रधानसेनापतिले खोले मुख

सोही क्रममा प्रधानसेनापति शर्माले ताराध्वजको बढुवा सिफारिस नभएको भन्दै बढुवा सूचना प्रकाशित गरेको प्रस्ट पारे। नेपाली सेनालाई विवादमा ल्याउनेलाई कारबाही गर्न समेत समिति समक्ष उनले माग गरे।

फास्ट ट्र्याकमा निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले तराई मधेस फास्ट ट्र्याकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोजनाका विषयमा नेपाली सेनासँग छलफल गर्दै समितिले आयोजना निर्माणमा देखिएका समस्या समाधान गरी सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो।

बैठकले पूरक प्रभाव मूल्याङ्कन समय सीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन, अर्थ लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

छलफलकै क्रममा प्रधानसेनापति शर्माले कानुन नसच्चिए सम्म फास्ट ट्र्याक निर्धारित समयमा नबन्ने ठोकुवा गरे। शर्माले चार वटा रुख काट्न नौ महिनाभन्दा बढी लागेको भन्दै कानुन सच्याउनुपर्ने सुझाए।

काठमाडौं–तराई फास्ट ट्र्याकमा आर्थिक विषयका कारण नभई कानुनका कारण ढिलाइ आएको भन्दै शर्माले २०८३ भित्र फास्ट ट्र्याकको निर्माण सम्पन्न गर्न नसक्ने सुनाए।

बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोली गट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरे। उनले ढुङ्गा फोड्न पड्काउन, अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभन्दा ठुलो निकाय सरकार नै रहेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.