सामाजिक परम्परा अनुसार दोस्रो ‘इन्द्रेणी’ विवाह दर्ता

सामाजिक परम्परा अनुसार दोस्रो ‘इन्द्रेणी’ विवाह दर्ता

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा ‘इन्द्रेणी’ विवाह दर्ता भएको छ। सामाजिक परम्परा अनुसार गाउँपालिकाको वडा नं ८ मा नागरिकतामा महिला र अन्य उल्लेख भएका दुई व्यक्तिको विवाह दर्ता भएको हो।

दुलाहा बनेका व्यक्तिको नागरिकतामा महिला र दुलही बनेका व्यक्तिको नागरिकतामा अन्य उल्लेख रहेको स्थानीय पञ्जीधिकारी तुलसी राम चौधरीले जानकारी दिए।

चार वर्ष अघि विवाह गरेको तस्बिर, दुवै पक्षका अभिभावकको नागरिकता सहित दिएको निवेदन अनुसार विवाह दर्ता भएको चौधरीले बताए। ‘दुलाहाको नागरिकतामा महिला नै थियो, दुलहीको अन्यमा नागरिकता थियो,’उनले भने,‘नागरिकता अनुसार यो विवाह केटा र केटीकै हो।’

विवाह दर्ता अनलाइन हुने प्रणाली रहेको छ। अनलाइनमा विवाह महिला र पुरुषबीच मात्रै हुने व्यवस्था थियो। लमजुङको दोर्दी गाउँपालिका कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको निवेदन अनुसार विवाह दर्ता गर्न मिल्ने÷नमिल्ने सोधेको थियो।

विभागले १३ मङ्सिरमा परिपत्र गरेर महिला, पुरुष र अन्य लैङ्गिक पहिचानका व्यक्तिको विवाह दर्ता हुने अनलाइन प्रणाली विकास गरे पछि पहिलो पटक समलिङ्गी सुरेन्द्र दुलाहा र तेस्रोलिंगी महिला माया दुलही भएको विवाह दर्ता प्रमाणपत्र पहिलो पटक जारी भएको थियो।

कैलारी वडा नं ८ का स्थानीय पञ्जीकाधिकारी चौधरीले अनलाइन प्रणालीमा महिला, पुरुष र अन्यको विवाह दर्ता गर्ने व्यवस्था रहेको बताए। ‘हाम्रो अनलाइन इन्ट्री हुन्छ,’उनले भने,‘महिला पुरुष मात्रै भएको ठाउँमा अन्य भनेर राखेका छौ।’

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश बाबुले पाएको विवाह दर्ता प्रमाणपत्रमा माया र सुरेन्द्रको प्रमाणपत्रमा जस्तो ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ भनेर लेखिएको छैन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भने सामाजिक सञ्जालमा सर्वोच्च अदालतको निर्णय अनुसार कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ मा पनि लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह पुस ६ गते दर्ता सम्पन्न भएको लेखेका छन्।

मनिलाको सामाजिक सञ्जालमा लेखिएको छ,‘मनिला न्यौपाने तथा प्रकाश चौधरीले विगत ४ वर्ष नै सामाजिक परम्परा अनुसार विवाह भइसक्दा पनि कानुनको अभावमा दर्ता प्रक्रिया हुन सकेको थिएन। हाल यस जोडीले पाएको वैधताले सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अझ आत्मबल मिलेको छ।’

जन्मँदा छोरी तर हुर्कँदै बढ्दै जाँदा पुरुष स्वभाव हुनेलाई तेस्रोलिंगी पुरुष र जन्मँदा छोरा हुर्कँदै बढ्दै जाँदा महिला स्वभाव हुनेले तेस्रोलिंगी महिलाको पहिचानमा चिनाउने गरेका छन्।

उनीहरूलाई अन्य लैङ्गिक पहिचानमा नागरिकता दिने कानुनी व्यवस्था भएको छ। मनिलाले अन्य पहिचानमा नागरिकता लिए पनि प्रकाशबाबुको नागरिकतामा महिला नै उल्लेख गरिएको छ।

वडा अध्यक्ष तारामल कठरियाले यसअघि समलिङ्गी विवाह दर्ता भएको नजिर हेरेर आफ्नो वडा कार्यालयमा पनि विवाह दर्ता भएको बताए। विवाह गर्न पाउने प्रावधान नै रहेकाले श्रीमान् श्रीमती बनेर आएका उनीहरूको विवाह दर्ता गरिएको उनले बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले १३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा दक्षिण एसियामै पहिलो ‘इन्द्रेणी अर्थात् समलिङ्गी विवाह दर्ता गरेका थिए। कैलारी गाउँपालिका कार्यालय ‘इन्द्रेणी’ विवाह दर्ता गर्ने दोस्रो पालिका बनेको छ।

एसियाका पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले दोस्रो इन्द्रेणी विवाह दर्ता गर्ने जोडीलाई बधाई दिएका छन्।

पन्तले १२ असार २०८० मा सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्थानीय निकायद्वारा दर्ता भएको माया र सुरेन्द्रको विवाह, तथा मनिला र प्रकाशको विवाह, दुवै कानुनी भएको उल्लेख गरेका छन्। ‘दुवै विवाहको अभिलेख भने अस्थायी हो। केही फेसबुक पेज स्ट्याटसमा कन्फ्युजन देखिएकोले यो कुरा राखेको हो’ पन्तले लेखेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सामाजिक संजालमाफर्त मनिला र प्रकाशबाबुलाई विवाह दर्ता गर्न सफल भएकोमा बधाई दिएका छन्।

सर्वोच्चले तत्काल विवाह दर्ताको रिटको पूर्ण सुनुवाइ गर्ने पेशी चैतका लागि तोकेको छ। सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएमा मात्रै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता स्थायी हुनेछ।

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.