ब्रेकिङ न्युज

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

लमजुङ : नेपाल दक्षिण एसियामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको विवाह दर्ता गर्ने पहिलो देश बनेको छ।

सर्वोच्च अदालतको १२ असार २०८० को अन्तरिम आदेश अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयले दक्षिण एसियामै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको विवाह दर्ता गरेर ऐतिहासिक काम गर्ने पहिलो पालिका बनेको छ।

गाउँपालिका कार्यालयको पञ्जीकरण शाखा (इकाई)ले बुधवार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेको सामाजिक परम्परा अनुसार विवाह दर्ता गरेको हो। माया र सुरेन्द्रले २०७४ असोजमा काठमाडौं सोह्खुट्टेमा गरेको विवाहलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन एवं परिपत्रका आधारमा गाउँपालिका कार्यालयले विवाह दर्ता गरेको जनाएको छ।

 

गाउँपालिका कार्यालय पञ्जीकरण इकाई का एम.आइ.एस. अपरेटर प्रशंसा गुरुङ, फिल्ड सहायक मिलन कुमारी गुरुङ, बसन्ती गुरुङ, रोजगार सहायक रञ्जना अधिकारीले पञ्जीकरण विभागसँगको समन्वयमा विवाह दर्ता प्रमाण पत्र दिन सहजीकरण गरेका हुन्। विवाह दर्ता प्रमाणपत्रमा दुलाहा सुरेन्द्र पाण्डे छन् भने दुलहीमा रामबहादुर गुरुङ छन्। माया र सुरेन्द्रले विवाह दर्ता २ सय रुपैयाँ शुल्क तिरेका छन्।

प्रमाणपत्रमा स्थानीय पञ्जीकाधिकारी रञ्जु विश्वकर्माले हस्ताक्षर गरेकी छन्। लमजुङको दोर्दी गाउँपालिकाले नेपालको इतिहासमै पहिलो माया र सुरेन्द्रबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको छ।

योसँगै अब नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति (जोडी) हरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले भरेको सूचना फारमका आधारमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवाह दर्ता गर्न मिल्ने सफ्टवेयर कार्यान्वयनमा ल्याएको हो।

सर्वोच्च अदालतको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले नमाने पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (इन्द्रेणी) को विवाह दर्ता गर्ने अनलाइन प्रणाली परिमार्जन गरेको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्रका सबै खाले व्यक्तिहरूले विवाह दर्ता गर्न चाहेमा विवाह दर्ता गर्ने बाटो खुलेको छ।

सर्वोच्च अदालतको १२ असार २०८० को आदेशलाई सम्मान गर्दै परिमार्जन भएको यस अनलाइन प्रणालीले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूलाई स्थानीय निकाय मार्फत नै विवाह दर्ता गर्ने बाटो खुलेको हो।

माया र सुरेन्द्रको विवाह दर्ताको खुसीयाली साट्न पन्त लमजुङमै आएका छन्। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले माया र सुरेन्द्रलाई विवाह दर्ताको प्रमाण पत्र हस्तान्तरण गरे।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता गर्ने दोर्दी गाउँपालिका पहिलो भएको बताए। माया र सुरेन्द्रलाई पालिका अध्यक्ष अधिकारीले दाम्पत्य जीवनको शुभकामना दिए। ‘महिला र पुरुषको मात्रै विवाह दर्ता हुँदै आएको थियो, माया र सुरेन्द्रको निवेदन आएपछि माथिल्लो निकायमा समन्वय गरेर विवाह दर्ताको प्रमाणपत्र दिन पायौँ,’अध्यक्ष अधिकारीले भने,‘अब अरू स्थानीय तहमा पनि समलिङ्गी विवाह दर्ता गर्ने बाटो खुल्यो भन्ने लाग्छ।’

विभागले पठाएको विवाह दर्ता सम्बन्धी पत्रमा ‘हाललाई सम्बन्धित जोडीले भरेको सूचना फारामका आधारमा अनलाइन विवाह दर्ताको प्रमाणपत्र प्रिन्ट गरी प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाहको अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ ब्यहोरा हातले लेखी प्रमाणपत्र जारी गर्नुहुन र उक्त प्रमाणपत्र र सूचना फारामलाई स्क्यान गरी प्रणालीमा अपलोड गर्नुहुन निर्णयअनुसार अनुरोध छ।

लमजुङको दोर्दी गाउँपालिका वडा नं २ निवासी रामबहादुर गुरुङ (माया)ले नवलपरासी कावासोती नगरपालिका वडा नं ८ निवासी सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता गर्न निवेदन दिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेश जारी भएकाले अनलाइन प्रणाली परिमार्जन गरेर विभागले विवाह दर्ता हुने व्यवस्था गरेको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने ‘व्यक्तिगत घटना दर्ता’ कार्य गर्दै आएको छ। पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङले दोर्दी गाउँपालिकाबाट निवेदन आएको विवाह दर्ताका लागि सहजीकरण गरिएको बताए। उनले अरू पालिकाबाट पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको विवाह दर्ताका लागि सहजिकरण गरिदिने बताए।

वैवाहिक समानता : हस्ताक्षर अभियान सुरु, दर्ता भयो ‘मायाको पहिचान नेपाल’

विभागले दोर्दी गाउँपालिकाका नाममा निर्णय सहितको पत्र पठाएर विवाह दर्ता गर्न भनेको थियो। विभागको यही व्यवस्थाका आधारका माया र सुरेन्द्रको विवाह स्थानीय निकायमै दर्ता भएको हो।

२३ वर्षपछिको परिश्रमपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह स्थानीय तहमा औपचारिक रूपमा दर्ता हुनु ऐतिहासिक उपलब्धि भएको पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए। पन्तले यो नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

सर्वोच्च अदालतको आदेश काठमाडौं जिल्ला अदालतले नमाने पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र जारी गर्नु अधिकार प्राप्तिको अभियानमा अर्को एउटा महत्त्वपूर्ण सफलता भएको पन्तले उल्लेख गरे।

‘स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता हुँदा एकदम खुसी लागेको छ, यो ऐतिहासिक दिन हो, माया र सुरेन्द्रले कुनै पनि दातृ निकायको सहयोग विना आफ्नै खर्चमा विवाह दर्ता गराउन सफल हुनु भएकोमा बधाई एवं शुभकामना दिन चाहन्छु,’पन्तले भने,‘नेपालमा विवाह दर्ताको औपचारिक सुरुवात भएको छ, सर्वोच्च अदालतको आदेशको सम्मान भएको छ, छिमेकी देश भारतले पनि नेपालको नजिरलाई हेरेर छिटो समलिङ्गी विवाहलाई मान्यता दिओस् भन्न चाहन्छ।’

‘माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएकोमा मायाको पहिचान नेपालले माया र सुरेन्द्रको सङ्घर्षलाई उच्च सम्मान गरेको छ,’पन्तले विवाह दर्ता खुसी साट्दै निकालेको प्रेस विज्ञप्तिमा‘यो विवाहलाई कार्यान्वयन गराउनका लागि गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य, निर्देशक दिलकुमार तामाङ, शाखा अधिकृत समीर भण्डारी, सञ्चार विज्ञ अनिता सिवाकोटी लगायत विभागको सम्पूर्ण टिमलाई धन्यवाद छ।’

पहिचान अनलाइनका सम्पादक माधव दुलाल, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारकारलागि निरन्तर लागिरहेका समर्पण सभ्य समाज नेपाल, परिचय समाज, मितिनी नेपाल, नील हिरा समाज लगायत नेपालभर रहेका सम्पूर्ण संघसंस्थाहरूको सहयोग र ऐक्यबद्धताका लागि पन्तले आभार व्यक्त गरेका छन्।

गाेर्खा इनटरनेशनल ट्राभल एण्ड एडभान्चर गाेर्खाल्याण्ड ट्रेक्स ठमेल काठमाडौंले पहिलो समलिंगी विवाह दर्ता गर्ने माया र सुरेन्द्रलाई यातायातको व्यवस्था गराएको छ।
कसरी भयो सम्भव?

बिहीबार अर्थात् मङ्सिर ७ को बिहान। काठमाडौं उपत्यकामा गाडी पातलो चलेका थिए। काठमाडौँमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेकपा एमालेको दातृसंस्था युवा सङ्घको घोषित आन्दोलनमा मुठभेड हुन नदिन सम्पूर्ण राज्य संयन्त्र परिचालन भैसकेको थियो।

ट्राफिक प्रहरीले अत्यावश्यक परे मात्रै सवारीसाधन प्रयोग गर्न भनेको थियो। त्यसैले पनि सडकमा गाडीको सङ्ख्या बिदाको दिन जस्तै पातलो चलेका थिए।
काठमाडौं बाहिरिने सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन भए। गोगंबु सिनेमा हल पुरानो। गाडीका लाइन यात्रु कुरेर बसेका। लाजिम्पाटबाट ट्याक्सीमा माया र सुरेन्द्र पुरानो सिनेमा हल अगाडि उत्रिए।

माइक्रो समाते। सुरेन्द्र सुरुसँग अगाडि सिटमा बसे। माया चालक बस्ने पछिल्लो रोहमा बसिन। ‘सुरुलाई एक्लै छोड्न सकिएन सँगै ल्यायौ’ माया बोलिन। चालकले मास्क लगाए। सुरेन्द्र सुरु लिएर बसे। ‘सुरुलाई कसैले केही भन्दा चित्त दुख्छ’ मायाले सुनाइन्।

सुरु बेला बेला आधा खोलिएको झ्यालबाट टाउको निकालेर दृश्य कैद मात्रै गरिरहेको थिएन, पछिल्लो सिटमा बसेकी मायालाई मायालु नजर पनि लगाइरहेको थियो।

यात्रा थानकोटबाट अगाडि बढ्यो। काठमाडौँको आन्दोलनको कुनै छनक नपाएको पृथ्वी राजमार्गमा माइक्रो हुइँकियो। ‘पाखुरा दुख्ने क्या’ सुरुलाई समाएर बसेका सुरेन्द्र भन्थे।

‘कति दिन लाग्ने हो फर्कन? एक्लै छाड्दा मनमा चिन्ता भइरहन्छ, त्यहीँ भएर सँगै ल्यायौ’ सुरेन्द्रले भने। एक पटक कालिन्चोक जाँदा सुरुलाई कोठामा थुनेर हिँडेका रहेछन् माया र सुरेन्द्र। फर्कँदा राखिएको खाना खाएनछ। ‘त्यसपछि हामीले सुरुलाई एक्लै छाड्ने काम गरेनौँ’ मायाले भनिन्।

काठमाडौँमा जस्तो आन्दोलनको रापताप केही थिएन। निर्बाध चलिरहेका थिए गाडी। माइक्रो पनि त्यसै रफ्तारमा गुडिरहेको थियो। चितवनको चुम्लिङटार पुग्दा १२ बजेको हुँदो हो।

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

लमजुङको दोर्दी गाउँपालिका वडा नं २ का अध्यक्ष गणेशबहादुर खत्रीले मायाको मोबाइलमा रिङ दिए। रिसिभ भयो र भनियो हामी आइरहेका छौ।

‘तपाईँहरू निजी गाडीमा कि माइक्रोमा?’ अध्यक्ष खत्रीले सोधे। हामी माइक्रो बसमा। ए, आज काम भ्याउन सकिएला त? खत्रीले भने।

वडा अध्यक्ष माया र सुरेन्द्रको विवाह दर्ता गरिदिन तयार भएर बसेका थिए, चासो लिएर फोन पनि गरेका थिए। वडा अध्यक्ष खत्रीले लमजुङका प्रमुख जिल्ला अधिकारीसँग राय पनि लिएका रहेछन्।

पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले सिडिओलाई ‘विवाह दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ, एक जोडी विवाह दर्ता गर्न आउदैछन्, दर्ता हुने भए आउनु पर्याे’ भनेका थिए। रिट निवेदक नै हुन् सिडिओले सोधेका थिए। रिट निवेदक नै हुन्, कानुन नबनेसम्म अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन सर्वोच्चको आदेश छ। दोर्दी गाउँ पालिका वडा नं २ का अध्यक्ष खत्रीले सोधनी गरेको सुनाउँदै सिडिओले रिट निवेदक नै भए त दर्ता गर्न अप्ठ्यारो नपर्ला।


आवश्यक कागजपत्र लिएर माया र सुरेन्द्र दिउँसो ३ बजे तिर वडा कार्यालय पुगे। माया गोरखाबाट पहिलो पटक गैरआवासीय नागरिकता बनाएर विवाह दर्ताका लागि सहजिकरण गर्न लमजुङ आएका पन्तलाई लिन पुन भोटेवडार झरिन।

‘फारम भर्दै गर ल सुरेन्द्र’ मायाले वडा सचिवको कार्यकक्षमा सुरु र सुरेन्द्रलाई छाडिन। बाटोमा कहाँ आइपुग्नु भयो भनेर सोधनी गर्ने अध्यक्ष भने वडा कार्यालयमा थिएनन्।

वडा सचिव मिना लामिछानेले महिला र पुरुषको मात्रै विवाह दर्ता गर्न मिल्ने सिस्टम सुनाइन्। ‘तै पनि निवेदन दिनुहोस्, हामी पालिकामा पठाउँछौ, पालिकाले पञ्जीकरण विभागमा पत्र पठाएर सोध्छ’ लामिछानेले भनिन्।

उनले भनिन्, ‘सबै अनलाइन सिस्टम भएको छ, विवाह दर्ता गर्न महिला र पुरुष नै हुनु पर्छ। पुरुष पुरुषको विवाह दर्ता सिस्टमले नै लिँदैन।’ सिस्टम चेन्ज भएर आए दर्ता गर्न कुनै अप्ठ्यारो नपर्ने उनले बताइन।

सचिव लामिछानेलाई समलिङ्गी विवाह दर्ता गर्दा राज्यलाई आर्थिक भार पर्छ भनेर पनि सोधियो। उनले ‘पर्दैन’ भनिन। तर, विवाह दर्ता फारममा भएको व्यवस्था परिवर्तन नगरी प्रमाणपत्र दिन नसकिने उनले सुनाइन्।

विवाह दर्ता : माया र सुरेन्द्रलाई न्यायको आस, केहीलाई भने त्रास

सुरेन्द्रले निवेदन भर्दै गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले अहिले निवेदन मात्रै लिनु भन्ने आदेश दिए। ‘कानुनमा व्यवस्था छैन,सर्वोच्चको आदेशले मात्रै हुँदैन,’काफ्लेले पहिचानसँग भने,‘विवाह दर्ता फारम महिला र पुरुषको मात्रै छ,निवेदन दिनुहोस् हामी सम्बन्धित निकायमा सोधेर जवाफ दिन्छौ।’

उनले आफू विवाह दर्ता गर्ने अधिकार नभएको पनि सुनाए। ‘मैले वडा सचिवलाई सहजीकरण मात्रै गरेको हुँ,उहाँले गरिदिनु भयो भने मलाई केही छैन,’काफ्लेले भने,‘उहाँलाई कानुनबारे जानकारी कम हुन सक्छ भनेर मैले सल्लाह मात्रै दिएको हुँ।’

बिहीबार काठमाडौँमा आन्दोलन भयो, दोर्दी गाउँपालिकाको अर्चलबोटमा समलिङ्गी विवाह दर्ताको रस्साकस्सी चल्यो। सचिव लामिछानेले माया र सुरेन्द्रको निवेदन, सर्वोच्चले दिएको आदेश अनुसार टिप्पणी उठाइन। र, आफू नै गाउँपालिका कार्यालय जाने सुनाइन।

सचिव लामिछानेले पञ्जीकरण विभागमा सम्पर्क गरेर समलिङ्गी विवाह दर्ता गर्न मिल्ने/नमिल्ने सोधेको सुनाइन। विभागकी कर्मचारी अनिता सिवाकोटीले एक जोडी समलिङ्गीको विवाह दर्ताबारे सोधनी भएको पुष्टि गरिन्। ‘हामीले सर्वोच्चको आदेश, जोडीको निवेदन र पालिकाको अनुरोध मागेका छौ,’उनले पहिचानसँग भनिन्,‘सर्वोच्चको आदेश आइसके पछि विवाह दर्ता नहुने भन्ने त नहोला।’

बिहीबार विवाह दर्ता भएन। माया र सुरेन्द्र वडा कार्यालयबाट सल्ला बोट बास बस्न लागे। कच्ची सडकमा धुलाम्यै हुँदै कठिनाइ भोग्दै मायाको जन्म घरमा पुग्यो सुरेन्द्र, पन्त र पहिचान मिडिया। आमा र स्कुल पढ्ने नानी थिइन् घरमा। माया र सुरेन्द्रसँग पुगेका पाहुनालाई आमाले स्वागत सत्कार गरिन।

मायाका भाइ कुराकानी गर्न आए। नाताले मायाका भाइ थिए नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल लमजुङका अध्यक्ष कृष्ण गुरुङ। कृष्णले विवाह दर्ताका लागि मायासँगै पालिका जाने बताए।

शुक्रवार दिदी भिनाजुको विवाह दर्ताका लागि कृष्ण पनि सँगै गाउँपालिका कार्यालय पुगे। सचिव लामिछाने बिहीबार उठाएको टिप्पणी लिएर प्रमुख प्रशासकीय अधिकृत काफ्लेको कार्यकक्षमा पुगिन।

‘विवाह दर्ता गरिदिनु पर्‍यो’ पन्तले काफ्लेलाई अनुरोध गरे। पन्तको बारेमा जानकार रहेका काफ्लेले समान अधिकार पाउनु पर्ने पक्षमा आफू रहेको सुनाए। ‘संविधानले पनि अहिले अधिकार दिएको छ, मानव अधिकारमा सबै समान हुनुपर्छ, म तपाई (पन्त)लाई चिन्छु नि,’काफ्लेले भने,‘के गर्न सकिन्छ, हामी सम्बन्धित निकायमा तपाईँहरूको निवेदन पुर्‍याउँछौ, के निर्णय आउँछ त्यसै अनुसार गरौँला।’

काफ्लेले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा राय सहित निर्देशन दिन पत्राचार गरे। ‘सिस्टममा नभएकोले दर्ता गर्न मिलेन। संवैधानिक अधिकार हो। मानवअधिकारमा प्रतिबद्ध छौँ,’उनले भने,‘हामीले चाहेर मात्रै उपयोगमा रहेको सिस्टममा परिवर्तन गर्न सकिँदैन।’

विभागलाई प्रमुख प्रशासकीय अधिकृत काफ्लेले समलिङ्गी विवाह दातृ गर्न मिल्ने वा नमिल्ने र मिल्ने भए हाल उपयोगमा रहेको वेबसाइटमा के कसरी गर्न सकिन्छ राय सहित निर्देशन दिन अनुरोध गरेर पत्र पठाए।

पत्रमा ‘मायाले सुरेन्द्रसँग समलिङ्गी विवाह दर्ता गरिपाऊँ भनी निवेदन दिनु भएको हुँदा समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने र मिल्ने भए हाल उपयोगमा रहेको वेबसाइटमा के कसरी गर्न सकिन्छ राय सहित निर्देशन दिनुहुन अनुरोध छ साथै निवेदकसँग सम्बन्धित कागजात यसैसाथ संलग्न गरिएको ब्यहोरा समेत अनुरोध छ’ लेखिएको थियो।

सर्वोच्च अदालतले १२ असारमा विवाह दर्ता गर्न दिएको आदेश कार्यान्वयन नहुँदा राज्यका निकायमा धाइरहनु माया र सुरेन्द्रको दैनिकी नै बनेको थियो। सरकारको अनलाइन प्रणालीमा महिला र पुरुष मात्रै उल्लेख हुँदा स्थानीय निकाय त्यही बहाना बनाएर विवाह दर्ता गर्न अस्वीकार गर्दै आएका थिए। तर, उनीहरूले हरेस खाएनन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट स्थानीय निकाय मार्फत पञ्जीकरण विभागमा समलिङ्गी विवाहको निवेदन दिने माया र सुरेन्द्र नै पहिलो जोडी बने। माया र सुरेन्द्रको यही सङ्घर्षका कारण नेपाल दक्षिण एसियामै समलिङ्गी विवाह दर्ता गर्ने पहिलो देश बनेको छ।

‘हामीले राज्यका निकायमा धाउँदा अपहेलित हुनु परे पनि हरेस खाएका थिएनौ,हामी हाम्रो समुदायको अधिकारका लागि लडिरहेका छौँ र अधिकार प्राप्तिको हाम्रो अनवरत सङ्घर्ष अझ पनि जारी राख्छौँ,’माया र सुरेन्द्रले भने,‘राज्यका निकायसँग न्याय माग्ने कामबाट विश्राम लिँदैनौ।’

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading