काठमाडौं : नेपालको झ्यालखानाबाट निस्केका भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कोही पराई भएनन्। उमेरले पनि ७६ वर्ष पुगे। परिवारमा ३ छोरा र श्रीमती भए पनि छोराहरू तेस्रो देश पुर्नवास भइसकेका छन्।
भुटानको राज्यसत्ताले अत्याचार गरेर निकालिएका १ लाख भन्दा बढी नेपाली भाषी भुटानी शरणार्थी नेपालको शरणमा आए। शरण लिन आउनेमा भुटानको राजपरिषद् सदस्य रिजाल भुटानी शरणार्थीका अगुवा नेता हुन्।
राजाको अत्याचारविरुद्ध बोल्दा रिजाल पहिलो पटक सन् १९८९ मा नेपाल आएका थिए। झापाको बिर्तामोडमा भुटान मानव अधिकार सङ्गठन गठन गरेका रिजाललाई लगत्तै पक्रेर भुटान पुर्याइयो।
नेपालमा स्वर्गीय राजा वीरेन्द्र शाहको शासन चलिरहँदा नेपाल प्रहरीले पक्रेर रिजाललाई भुटानको जिम्मा लगाएको थियो। १० वर्ष भुटानी जेलमा बन्दी बने रिजाल। निर्वासन पुस्तकमा रिजालले आफ्नो बाल्यकालदेखिको जीवनी उतारेका छन्।
पहिचान मिडियाको युट्युब च्यानलमा रिजालको निर्वासन पुस्तकका १ देखि ३६ अध्यायसम्म वाचन गरिएको छ। भुटानमा राज्यसत्ताको दमन, अत्याचार, हिंसा, बलात्कार जस्ता अमानवीय गतिविधिका साथै भ्रष्टाचारले चरम सीमा नाघेको अवस्थाको विरोध गर्थे रिजाल।
त्यही विरोधको सिकार भएर रिजाल तीन दशकदेखि भुटान टेक्न पाएका छैनन्। नेपालबाट भुटान फर्कन पाउनु पर्ने मागमा अडिग रहँदा रिजाल तेस्रो देश पुनर्वासमा समेत गएनन्। उनीसँगै जेल परेका, आन्दोलनमा लागेकाहरू परिवार सहित तेस्रो देश पुर्नवास हुँदा रिजालले स्वदेश फिर्तीको एक मात्र एजेन्डा उठाइरहे।
तेस्रो देश जानै परे पनि भुटानको माटोमा पाइला राखेर मात्रै जाने रिजालको निरन्तरको दबाबमा यति वेला धक्का लागेको छ। शरणार्थी शिविरलाई यही मौकामा बस्ती नामकरण गरिएको छ। खानेपानीको राम्रो प्रबन्ध छैन भने जङ्गली हात्तीको आक्रमणमा ज्यान गुमाउनु पर्ने अवस्था भुटानी शरणार्थीहरूमा छ।
भुटानबाट लखेटिएका नागरिकको जग्गामा ‘मेगासिटी’ बनाउने घोषणा भइसकेको छ। जसलाई ‘माइण्डफुलनेस सिटी’ नाम दिइएको छ। दक्षिणी भुटानमा भारतीय सीमा नजिक गेलेफुमा निर्माण हुँदैछ। जहाँ अन्तर्राष्ट्रिय विमानस्थल र जलविद्युत आयोजना समेत बन्नेछ।
हिंसात्मक रूपमा निष्कासनमा परेका भुटानी शरणार्थीको जग्गाजमिन रहेको ठाउँ हो गेलेफु। आफ्ना नागरिकलाई देश निकाला गरेर श्रीसम्पत्ति समेत हड्पने भुटानी राज्य सत्ताले लामो समयदेखि ३० भन्दा बढी राजबन्दीलाई जेलमा कोचेको छ।
परिवारले जुटाएको धरौटीमा रिहा भए रिजाल, दिए सबैलाई धन्यवाद
जेलबाट रिहा भएकालाई पनि भुटानी राज्य सत्ताले अहिले पनि देश निकाला गरिरहेको छ। केही समय अघि मात्रै मधुकर मगर भुटानी जेलबाट रिहा भएर नेपालको शरणार्थी शिविरमा आइसकेका छन्। भारतको बाटो हुँदै नेपाल आउने क्रम रोकिएको छैन।
कूटनीतिक पहल गरिदिन नेपाल सरकारसँग गुहार मागिरहेका थिए रिजाल। उनको माग सम्बोधनका लागि भन्दै २०७६ सालमा मन्त्रिस्तरिय निर्णयबाट भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन भयो।
बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले पहिलो विकल्पका रूपमा स्वदेश फिर्तीका लागि कूटनीतिक पहल गरेर भुटान सरकारसँग नेपाल सरकारले वार्ता गर्ने भनियो। तेस्रो देश पुर्नवास हुन चाहनेलाई अन्तर्राष्ट्रिय पहल गर्ने दोस्रो विकल्प राखियो।
प्रतिवेदन कार्यान्वयन त परको कुरा त्यही प्रतिवेदनमा नेपाली नागरिकलाई भुटानी बनाएर नाम राखियो। पूर्वगृहमन्त्री, बहालवाला सचिव समेत संलग्न भएर नक्कली बनाउने काम भए पछि रिजाल विरोधमा उत्रिए। भुटानसँग वार्ता गर्ने छेकछन्द नपाए पछि रिजाल भुटानी शरणार्थीलाई बिचल्ली बनाएर पूर्वप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव नै रकम उठाउने काममा लागेपछि रिजाल जङ्गिए।
पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूलाई भेटेर रिजालले तत्काल नक्कली बनाएर रकम उठाउने काम रोक्न ध्यानाकर्षण गराए। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएर भुटानसँग वार्ताका लागि निर्देशन दिन गुहार मागे रिजालले।
‘एक कान दुई कान मैदान’ नक्कली शरणार्थी प्रकरणमा छानबिन भयो। पीडितको उजुरीका आधारमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राई लगायत पक्राउ परे।
नक्कली शरणार्थी बनाउनेहरूको सूचना दिने टेकनाथ नै पक्राउ परे। ४ जेठ २०८० मा पक्राउ परेका रिजाल उच्च अदालत पाटनको आदेशमा धरौटी बुझाएर ११ पुस २०८० मा रिहा भए।
जेल पर्नु अघि रिजाल एक्लै कराए जस्तो लागे पनि पछिल्लो समय नेपालको शरणार्थी शिविरदेखि तेस्रो देश पुर्नवास भएकाहरू जुरुक्क बनेको देखिएको छ। सात महिना जेल परेर निस्कँदा रिजालले मानवअधिकारवादीहरूसँगै शिविर र तेस्रो देश पुर्नवास भएका सबैको माया पाएका छन्।
तेस्रो देश जान नहुने रिजालको अडानमा विमति जनाएकाहरूले रिजाललाई साथ दिएका छन्। रिजालका छोराहरूले धरौटी रकम जुटाउन आफैँ सक्षम रहेको प्रमाणित गरे। उनीहरूले कसैसँग भिख मागेनन्। आमा कौशिलाको समेत खाता रोक्का भएकाले पैसा पठाउन ढिलो हुँदा रिजालको रिहाइ उच्चको आदेश आएको २६ औँ मा मात्रै भयो।
मानवअधिकारवादीहरुले रिजाललाई स्वागत गरे। एमनेस्टी इन्टरनेशन, इन्हुरेड इन्टरनेशल, मानवअधिकार सङ्गठनको नेतृत्वले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आगन्तुक कक्षमा स्वागत गरेको हो।
इन्हुरेड इन्टरनेशनलमा गोपालकृष्ण सिवाकोटीले मानवअधिकारवादी चरण प्रसाईँ, राजन कुइँकेल, डा. केदारनर सिंह केसी मात्रै होइन रिजालको स्वागतमा अमेरिका पुर्नवास भएका भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वनाथ क्षेत्री, भुटानी कृषि विज्ञ डा. गोविन्द रिजाल, कान्छो भान्जा, पत्रकारको टोली समेत स्वागतमा सहभागी भयो।
रिजाल रिहा त भए तर, मुद्दाको अन्तिम फैसला भएको छैन। उनले काठमाडौं जिल्ला अदालत र सम्पत्ति शुद्धीकरण विभागमा तारेख धाउनु पर्नेछ। अदालतमा पहिलो तारेख पुस २० गते छ भने विभागमा माघ १५ गते हाजिर हुनुपर्नेछ।
रिजाल न्यायिक लडाइमा छन्। अदालतमा विचाराधीन मुद्दा भएकाले बोल्न पनि भएको छैन उनले। भुटानी शरणार्थीको अभिभावक बनेका रिजालसँगै यति वेला देश निकालिएर सबै भुटानी एक ढिक्का भएको देखिएको छ। यसले स्वदेश फिर्तीको माग सम्बोधन गराउन दबाब पुग्ने आशा शरणार्थीहरूले व्यक्त गरेका छन्।
भुटानी शरणार्थी : प्रधानमन्त्रीको कुरा नक्कली, पीडामा सक्कली
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.