भक्त घिमिरे
हालचालै (गत मार्च महिनामा) दक्षिण एसियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भुटानको भ्रमणमा गएर फर्किए। गत जनवरीमा सम्पन्न भुटानको निर्वाचनमा चुनावी अनुगमन गर्न थिम्पु पुगेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राको इन्तजाममा मोदीको यो भ्रमण साध्य भएको थियो।
सन् २०१४ मा आफ्नो प्रथम भ्रमणताका उनले गरेको सम्बोधनमा भुटानलाई ‘लद्दाख’ भनेर हुन पुगेको गम्भीर त्रुटि यसपटक मोदीले दोहोऱ्याएनन्। शायद योपालि उनलाई ‘अर्डर अफ् द ड्रुक ग्याल्पो’ उपाधिले सम्मानित गरिने जानकारी पहिले नै सार्वजनिक भएकाले उनी पूर्णतयारीका साथ त्यहाँ पुगेका कारण पहिलेझैँ बेपर्बाह त्रुटि यसपटक भएन। उनको भ्रमण र सम्बोधनपश्चात् यसबारे धेरै विश्लेषकहरूले आ-आफ्नै पाराको आकलन गर्लान्। भारतको सहायताले अब भुटानमा विकासको नदी बग्ने, चीनको प्रभावबाट भुटान सुरक्षित रहने बखान पनि गर्लान्। तर, भारतका राजनीतिक नायकहरू भुटान पुगेर गफ हाँक्ने काम कुनै नयाँ कर्म होइन भन्ने सबैले बुझ्नु आवश्यक छ।
ब्रिटिशकालीन समय (सन् १७७२) देखि नै भुटानमा भारतको दबदबा रहँदै आएको छ भने त्यो रवाफ केवल सत्ता शक्तिको वरिपरि मात्र घुमिरहेको छ। ब्रिटिशकालदेखि स्वाधीन भारतका नायकहरू, सरकार प्रमुखहरू लगातार रूपमा आजसम्म भुटान आउँदै-जाँदै गरिरहेकै छन्।
यद्यपि, भारतीय चासोका कारण कहिल्यै पनि भुटानका नागरिकहरूले वास्तविक राहत पाएका छैनन्। यही शृङ्खलामा उनिएको एउटा चाखलाग्दो कथानक सम्मिलित छ जुन पढेपछि पाठकहरूले सही अर्थमा भारत-भुटानको मैत्री सम्बन्धभित्र के गुन्द्रुक उमालिँदैछ भन्ने निर्क्योल गर्न सक्नुहुनेछ। म यहाँनेर त्यस्ता धेरै कथानकमध्ये त्यो विशेष एउटा प्रसंगमात्र उल्लेख गर्न चाहन्छु जसमा शासनको निकट रहेका भारतीय नारीहरूको सरोकार र दाउपेचमार्फत भुटान आजसम्म क्षतविक्षत बनेको छ।
महाभारतको कथामा एउटा प्रसङ्ग छ: जस अनुसार द्रौपदीको एउटै उपहासका कारण दुर्योधनले महायुद्ध रचाएका थिए। इन्द्रप्रस्थको राजदरबारमा युधिष्ठिरको राज्याभिषेक हुँदा पाण्डवहरूले वरिपरिका धेरै राजाहरूलाई निम्तो गरे! निम्तो मान्न हस्तिनापुरका युवराज, धृतराष्ट्र पुत्र दुर्योधन पनि आएका थिए।
दानव मयासुर जस्ता विख्यात प्राविधिज्ञको कलाकौशलले बनेको इन्द्रप्रस्थ दरबारमा सङ्गमरमरको भुईँमा पानीको रङ्ग थियो। त्यसमाथि हिँड्नुपर्दा दुर्योधनले पानीले भिज्ला भनी आफ्नो धोतीको सप्को उचाले। अलि पर माटोको रङ्ग झल्किने तलाउ थियो। हिँड्दा हिँड्दै दुर्योधन तलाउमा डुब्न पुगे। यो देखेर द्रौपदीले बार्दलीबाट उपहास गर्दै भनिन्,“यिनको पनि दृष्टिगोचर क्षमता बाबु धृतराष्ट्रको भन्दा बढी रहेनछ।” यो सुनेपछि दुर्योधनले इन्द्रप्रस्थलगायत पाण्डव खलकको समूल नष्ट गर्ने प्रतिज्ञा गरे र यसैको परिणतिमा महाभारतको युद्ध भयो।
हुनलाई त वास्तवमा महाभारत कसरी भयो, किंवदन्ती नै सही, हामीले सुनेको वा पढेको यति नै हो। हाम्रो बेलाको महाभारतमा पनि लगभग यस्तै यस्तै हुन पुगेको छ। अर्थात् नारीजनित विषयवस्तुबाट उठेको राजनीतिक प्रसङ्गले नै लाखौँलाई थात-बासबाट विस्थापित गरेको छ।
अब थालौँ त्यो प्रसङ्ग के हो भन्नेतर्फ! यहाँहरूलाई कति स्मरण छ, ब्रिटिसहरूले भारत छोडी जानअघि नै सन् १९४६ मा भारतको तर्फबाट भुटानलाई भारतीय महासङ्घमा सामेल हुन आग्रह गरिएको थियो। भुटानका तत्कालीन प्रतिनिधि राजा एस.टी. दोर्जीले सो प्रस्तावलाई खारेज गर्दै कडा शब्दमा राष्ट्रिय कंग्रेसका नेता जवाहरलाल नेहरुलाई पत्र पठाएका थिए। दोर्जीको सो पत्रमा ‘अहिले नै निर्णय गर्न अनिवार्य नभएर धैर्यतापूर्वक पछि सोच्न सकिन्छ’ भनी नेहरुले सान्त्वना दिएका थिए। भारत स्वाधीन भएपछिका प्रथम प्रधानमन्त्री नेहरुले सन् १९५८ मा औपचारिक भ्रमण गर्दै थिम्पु पुगेर ‘दिल्लीको लोकसभामा थिम्पुबाट प्रतिनिधि पठाउने’ कंग्रेसको पुरानो प्रस्ताव घुमाई-फिराई पुनः दोहोर्याएका थिए।
बघिनी माई: नेहरु पुत्री इन्दिरा युग
त्यसको लगभग २० वर्षपछि सन् १९६६ मा तत्कालीन प्रधानमन्त्री गुल्जारीनन्दको सत्ता पल्टाएर सर्वप्रथम प्रधानमन्त्री बनेकी बघिनी माई इन्दिरा गान्धीले आफू प्रम भएको दुई वर्षपछि (सन् १९६८ मा) भुटानको भ्रमण गरिन्। इन्दिरा गान्धी अधिकतम महत्त्वाकाङ्क्षी राजनीतिज्ञ थिइन् जो पाकिस्तानलाई टुक्र्याएर दुई देश बनाउने (सन् १९७१ मा पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउन इन्दिराको निर्विकल्प योगदान थियो) सफलताबाट विश्वचर्चित समेत बनिन्। यही बेला उनले स्वतन्त्र सिक्किममाथि कब्जा जमाएर भारतमा गाभिन् भने त्यसपछि उनका कुटिल नजर नेपाल र भुटानमाथि पनि केन्द्रित थिए।
यहाँहरूले विचार गर्नुभएको होला, संयोगले एकैचोटि सन् १९७२ मा भुटान र नेपाल दुवै देशमा क्रमशः जिग्मेसिंगे वाङ्चुक र वीरेन्द्र वीर विक्रम शाहले राजकाजको जिम्मेवारी पाएका थिए। तर, वाङ्चुकको गद्दी आरोहण सन् १९७४ मा र शाहको गद्दी आरोहण सन् १९७५ मात्र भएको थियो। गद्दी आरोहित औपचारिक राजा नभएको त्यो संक्रमणकालमा इन्दिराले सुरक्षा खतराको त्रास देखाएर ती दुवै देशलाई आफ्नो अधीनमा लिने गोरेटो बनाउँदै थिइन्।
त्यो बेला नेपाल राजा महेन्द्रको ‘राष्ट्रिय पञ्चायत’ फालेर बहुदलीय व्यवस्था ल्याउने दिशामा द्वन्द्वरत थियो। पश्चिम बङ्गाल र विहारमा अड्डा लिएर शमशेर, कोइराला, भट्टराई र सिंहहरूको योजनामा नेपाली कंग्रेसले विमान अपहरणदेखि सशस्त्र युद्धकै घोषणा गरी नेपाली राजनीतिको भुतभुते उधिनिरहेको बेला थियो।
भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)
त्यही समय भुटान पनि सन् १९६४ मा जिग्मे पाल्देन दोर्जीको हत्याबाट उत्पन्न द्वन्द्वग्रस्त स्थितिमा गुज्रिरहेको थियो। थिम्पुबाट राजपरिवारकै निकट केही भारदारहरू भागेर नेपालमा शरणार्थी बनेका थिए। ‘दोर्जीको हत्या दरबारकै सदस्यहरूबाट नियोजित रूपमा गरिएको’ भनेर आशी टासी दोर्जीले आरोप लगाइरहेकी थिइन् जो नेपालमा शरण लिनेमध्ये एक थिइन्।
यस्तो तरल स्थितिलाई माध्यम बनाएर इन्दिरा गान्धीले यी सबै देशहरू आफ्नो कब्जामा लिने अठोट गरे पनि उत्तरी छिमेकीको सम्भावित प्रतिक्रियात्मक कदमको परीक्षा लिने ध्येयमा पहिले सिक्किमलाई मात्र निमोठिन्। त्यो समय कस्तो थियो भने पाकिस्तानसित पहिले नै दुई वटा युद्ध गरिसकेको भारतका लागि यसपटक (सन् १९७१) मा पाकिस्तानलाई फुटाएर बङ्गलादेश बनाउने युद्धमा गरिएको निकै ठुलो लगानीले राजकोष टाट पल्टिने अवस्थामा पुगेको थियो।
उसबखत अमेरिका लगातार पाकिस्तानको पक्षमा उभिएको थियो भने सिक्किम विलयको सवालमा नेपाल, सिक्किम, भुटान र भारतका दुई उत्तरी राज्यहरू- लद्दाख र नेफा (NEFA-Northeast Frontiers Agency-New name-Arunachal Pradesh) समेत आफ्ना अभिन्न अङ्ग भएको बताएर चीनले सनसनी पैदा गरिदिएको थियो। “तिब्बत हत्केला भए पाँच औँला पनि उसैका हुन्छन्” भन्ने भौतिक विज्ञानको सिद्धान्त प्रयोग गर्दै चीनले भारत, भुटान र नेपालसमेतको सार्वभौमिकता र सीमा विवादको बीजारोपण गरेको थियो।
चीनबाट आएको यस्तो खरो प्रतिक्रियाकै कारण बघिनी माई इन्दिराले तत्काल नेपाल र भुटानलाई स्वतन्त्र रहन दिने अल्पकालीन निर्णय गरिन्! अब सिलसिलेवार स्थितिको संयोग कस्तो पऱ्यो भने दर्बिन्दर सिंह पर्मार र जगजित सिंह चौहानले लन्डनबाट संयुक्त रूपमा घोषणा गरेको पृथकतावादी खालिस्तान विद्रोह सँगै बङ्गलादेशको सैन्य विद्रोहमा राष्ट्रपति शेख मुजीबर रहमानको वंशनास भएको देखेपछि अत्तालिएकी इन्दिराले विरोधीहरूलाई तह लगाउन भारतमा सङ्कटकाल घोषणा गरिन्। सङ्कटकाल घोषणाकै कारण उनको राजनीतिक वर्चस्व तहसनहस हुन पुग्यो जसले गर्दा सन् १९८४ मा उनको ज्यान पनि गयो। खालिस्तानी विद्रोहका सदस्यहरूले बीच सडकमा उनको निर्मम हत्या गरिदिए।
इटालियन पुत्री: भारतीय बहु सोनिया युग
यसरी भारतीय राजनीतिबाट बघिनी माई इन्दिरा अस्ताएपछि सुरु भयो अर्की नारी सोनिया गान्धीका कारण उत्पादित वितण्डा! सन् १९६८ मै तत्कालीन विमानचालक राजीव गान्धीसित विवाह गरी इटलीबाट भारत भित्रिएकी सोनिया सन् १९८४ मा इन्दिराको हत्यापछि सत्ताविरासत पाएका आफ्ना पति अर्थात् नयाँ प्रम राजीव गान्धीसित नेपाल भ्रमणमा आएकी थिइन्।
नेपालमा पशुपतिनाथको दर्शन गर्न पुगेका बेला सोनियालाई मन्दिर प्रवेशमा रोक लगाइयो। नारायणहिटी राजदरबारमा अतिथि सत्कार हुँदा रानी ऐश्वर्याले सोनियासित हेलमेल गर्न हिचकिचाहट देखाएको पनि आरोप थियो। यही कारणबाट रुष्ट गान्धीले पछि अरू नै लेपपोत कारण देखाएर नेपालमाथि नाकाबन्दी समेत लगाए।
त्यही बेलाको हाराहारीमा उता दार्जिलिङतिर सुवास घिसिङले पृथक् वासभूमिको मागमा सशस्त्र गृहयुद्ध नै चलाइरहेका थिए। आसाम क्षेत्रमा भारतबाट स्वतन्त्र, सार्वभौम सम्पन्न आसाम देश निर्माणको उद्देश्य राखेर चक्चकी मच्चाइरहेको उल्फा (ULFA) विद्रोह उत्कर्षमा पुगेको त्यो बेलामा दार्जिलिङले पनि हात मिलायो भने उत्तरपूर्वी क्षेत्र नै भारतको हातबाट फुत्केला कि भन्ने चुनौतीको त्रासमा राजीव गान्धी थिए। एक त सोनिया गान्धीलाई ‘विदेशी’ उपमा दिएर विपक्षी दलहरूले संसद्मा समेत आगो फुकिरहेकै थिए। त्यसमाथि ‘उनी अहिन्दू भएकाले भारतीय मूलधारमा कहिल्यै समावेश हुन नसक्ने’ हिन्दु कट्टरपन्थीहरूको दाबी राजीव गान्धीका लागि फलामे चिउरा समान भइरहेको थियो।
यही सिलसिलामा हँस्यौली-ठट्यौलीझैं लाग्ने अर्को एउटा घटना पनि भयो। घटना कस्तो भने सिक्किममा त्यो बेला नरबहादुर (एन.बी.) भण्डारी नेतृत्वको सङ्ग्राम परिषद् सत्तामा थियो। तर, श्रीमती भण्डारी दिलकुमारी कंग्रेस आईको टिकटमा चुनाव लडेर लोकसभामा निर्वाचित भइन्। यस कुरामा मुख्यमन्त्री एन.बी.भण्डारी आक्रोशित भएर गान्धीविरुद्ध खरो बयानबाजी गर्ने क्रममा उनले,‘आफ्नी श्रीमती सीताकै रूप भए पनि दिल्लीको रावणले हरेर लगेको’ समेत भन्न भ्याए।
शाह बानो बेगम मुद्दामा सर्वोच्च अदालतले इस्लामको शरीयतविरुद्ध संवैधानिक इजलासको फैसला गरेपछि मुसलमानहरूलाई हातमा लिन गान्धीले संसद्बाट अध्यादेश नै पारित गराएर सर्वोच्चको फैसला उल्टाए भने यता हिन्दुहरूलाई खुसी पार्न उनले सन् १९४८ देखि बन्द रहेको अयोध्यास्थित राम मन्दिरको ताला पनि खोलिदिए। आज त्यही राम मन्दिरको विषयले भारतको मूलधार राजनीतिलाई डोऱ्याएर हिँड्ने सिलसिला चलिरहेको छ।
हिन्दु-मुसलमान द्वन्द्व, दीर्घकालीन कश्मीर विवाद, उत्तरप्रदेश र बिहारको क्षेत्रीय गुन्डागिरी राजनीति, श्रीलङ्कामा सेना पठाएर त्यहाँको तमिल विद्रोह दमन गरिदिएको आक्रोशमा दक्षिण भारतको आवेग र यता आसामको पृथकतावादी व्यथाले आफ्नै परिवेशमा थिलथिलो भइरहेकै बेला नेपालमा सोनियाप्रतिको अपमान हुनु, सिक्किममा भण्डारीले रावण सम्बोधन गर्नु अनि दार्जिलिङ क्षेत्रमा सुवास घिसिङको ‘चट्याङले बज्र हान्दै गर्नु’ले समग्र क्षेत्र (नेपालभित्र र बाहिर)-का नेपाली पृष्ठभूमिका समुदायहरूप्रति गान्धीमा आशङ्का पैदा भएको धेरै राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्। सङ्कटको घडीमा ढाडस नपाएर नेपाल र क्षेत्रीय परिधिमै नेपाली पृष्ठभूमिका समुदायबाट अपेक्षा विपरीत नतिजा देखिएपछि राजीव गान्धीमा नेपाल र नेपाल बाहिरका सम्पूर्ण नेपाली (हरू) प्रति सन्देह पैदा हुनु स्वाभाविक पनि थियो कि!
यिनै घटनाक्रमको नतिजा स्वरूप राजीव गान्धी भुटान पसेर त्यहाँका नेपाली भाषी नागरिकहरूसित होसियार रहन जिग्मेसिंगेको कान फुकेका थिए। सन् १९८५ मा जब भुटानले विभेदपूर्ण नागरिकता ऐन बनाइरहेको थियो, सो बखत गान्धीको भुटान भ्रमण भएको थियो भने सन् १९८८ मा त्यो ऐन लागू हुँदै गर्दा पनि गान्धी भुटान पुगेका थिए। भनिन्छ, भुटानको तत्कालीन सरकारले कथित रूपमा राजीखुशीले देश छोडी गएका भनिएका नागरिकहरूलाई क्षतिपूर्ति स्वरूप दिएको आर्थिक राहत पनि ‘गान्धीकै पहलमा जुटाइएको बजेट’ थियो। केही अनुसन्धाताको अनुगमनमा भारतको अर्थ मन्त्रालयबाट रकम निकासाका यस्ता दस्ताबेज फेला परेका बताइन्छ।
दक्षिण भुटानी नागरिकहरूलाई चालबाजीपूर्वक देश निकाला गरेपछिको चरणमा टेकनाथ रिजाल भुटानको जेलमा छँदा भुटानमा जेलहरूको अनुगमन गर्न पुगेको अन्तर्राष्ट्रिय मानवअधिकार सरोकार टोलीमा सामेल कपिल सिब्बलले रिजाललाई ‘तिमीहरू नेपालमा खान नपाएर भुटान पसेका, आफैँ बसेको देशविरुद्ध जाल रचेको, राजाविरुद्ध षड्यन्त्र गरेको’ लाञ्छित आरोपहरू लगाएको कुरा रिजालले आफ्नो पुस्तक ‘निर्वासन’ मा उल्लेख गरेका छन्।
कपिल सिब्बल कंग्रेस आईका ख्यातिप्राप्त नेता हुन् जो कंग्रेसको सत्तामा धेरै पटक कानुन मन्त्रीसमेत बनेका थिए। यसरी नै नेपालका शरणार्थी शिविरबाट स्वदेशगमनका लागि हिँडेका भुटानीहरूलाई मेची पुलमा छेकेर हिंसात्मक रवैया अपनाएको भारतीय प्रशासनलाई उक्साउँदै ‘शरणार्थी शिविरमा रहेका मानिसहरू भुटान फिर्ता गएमा भुटानको जनसाङ्ख्यिक सन्तुलन बिग्रिने’ दाबी गर्ने प्रणव मुखर्जी पनि कंग्रेस आईकै वरिष्ठ नेता थिए।
कुरो त्यतिमा सीमित छैन। यूएनएचसीआर र करितासजस्ता राहत-दातृ संस्थामा अनेकौँ गुप्तचरहरू समावेश गराएर शरणार्थी समस्यालाई अझ तन्काउन पनि भारतीय कूटनीतिज्ञहरूको राम्रै भूमिका रह्यो। तपाईँ आदरणीय पाठकहरू, याद गर्नुस् न: सन् २००४ देखि २०१४ सम्म दिल्लीको केन्द्रीय सत्ता कंग्रेस आईकै हातमा थियो जति बेला शरणार्थी पुनर्वासको योजना चरम उत्कर्षमा पुग्यो र, भुटानको नागरिक स्वतन्त्रता, न्यायिक अधिकारको आन्दोलन अन्योलग्रस्त बनाइयो।
वैदेशिक नीतिमा कंग्रेसी र भाजपायीबीचको भिन्नता
यी तमाम वर्णन गरिरहँदा भारतको कंग्रेस आईमात्र नेपाली पन, नेपाली मनका विरुद्धमा रहेछ भन्ने अर्थ लाग्ला! केही मान्छेहरूले ‘कंग्रेस आईको सत्ता मात्रै हाम्रो विरुद्धमा थियो, वर्तमान भारतीय सत्ताधारी दल भाजपा त हितैषी हो’ भन्दै गरेका मैले सुनेको छु। वास्तविक कुरो त्यस्तो होइन। सत्ता सञ्चालनमा आन्तरिक बेमेल भएर, सैद्धान्तिक मतान्तर भएर उनीहरूको परराष्ट्र (वैदेशिक) नीतिमा कुनै फरकपन आउँदैन।
सन् १९९६ मा दिल्लीको जन्तर-मन्तर इलाकामा धर्ना दिन पुगेका भुटानीहरूलाई राहतस्वरूप आफ्नो गाडीमा चामलको बोरा, तरकारीका पोका हालेर पुऱ्याउन आउने तत्कालीन विपक्षी दलका नेता, कवि छविका राजनीतिज्ञ अटलबिहारी बाजपेयी प्रधानमन्त्रीको कुर्सीमा बसेपछि तिनै भुटानीका विरुद्धमा प्रशासनिक आदेश जारी गर्थे। भाजपासँगै सत्ता समीकरणमा क्रियाशील जर्ज फर्नान्डीस निर्वासित भुटानी नेता रोङथोङ क्युनले दोर्जीको उन्मुक्तिका लागि रातभरि तिहार जेलको ढोकामा धर्ना दिएर बस्थे। तर, संसद्मा छिरेपछि उनी तिनै क्युनले दोर्जीका विरुद्धमा ‘दिल्लीबाट बाहिर जानै नपाउने’ नजरबन्दको सिफारिस गरेर फर्कन्थे। पङ्क्तिकार स्वयं र अनेकौँ भुटानीहरूले अनुभूत गरेको कुरा हो यो।
सन् १९९२ मा भाजपा नेता मुरली मनोहर जोशीको अगुवाइमा कन्याकुमारीदेखि श्रीनगरको रथ-पैदल यात्रामा सहभागी बनेर भाजपाको राजनीतिक चिन्तनबारे धेरै भित्री कुरा बुझ्ने अवसर यस पङ्क्तिकारले प्राप्त गरेको छ। सो यात्राका दौरानमा अजयमोहन विष्ट (योगी आदित्यनाथ), वरिष्ठ नेताद्वय लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी, युवा नेता राजनाथ सिंहजस्ता अनेकौँ नेताहरूसित १९ दिनको सहयात्रा, सहभोज र बिछौनाको साझेदारीमा यस पङ्क्तिकारले अन्तरङ्ग सम्बन्ध स्थापित गरी व्यापक चर्चा गर्न भ्याएको छ।
अहिले अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशबाट भारत छिर्ने हिन्दुहरूलाई सहजरूपमा भारतीय नागरिकता प्रदान गरिने कानुन आन्तरिक रूपमा उनीहरूले उतिखेरै तय गरिसकेका थिए। कश्मीरको विशेष दर्जा कायम रहने कानुन ३७० उनीहरूको अन्तरसहमतिमा उतिबेलै खारेज भएको हो। राम मन्दिरको निर्माण उतिबेलै सिद्ध भएको हो। केवल क्रियागत रूपमा यी सबै कुरा सम्पन्न हुन पछिसम्म समय लागेको मात्र हो।
उनीहरूकै रेखदेख र सक्रियतामा भारत वरपरिका एकलकाँटे देशहरू, भारतकै उत्तरपेटीका जनजातीय राज्यहरूमा सकेसम्म केन्द्रीय राजनीतिक मूलधारमा वर्चस्व रहने समुदायलाई घुसपैठ गराएर गोप्य सूचना बटुल्ने र तत् तत् क्षेत्रको सामाजिक सत्ता समेत आफ्नो अधीनमा ल्याउने जमर्को उतिबेलै सुरु भएको हो। नेपालमा मधेसी पहिचानको विवाद चर्किएको बेला ‘एक करोड जति भारतीयहरू नेपालभित्र रहेका’ भनेर भाजपायी गृहमन्त्री राजनाथ सिंहले सार्वजनिक मन्तव्य नै दिएका थिए जसलाई यहाँहरूले उदाहरणको रूपमा लिन सक्नुहुनेछ।
वास्तवमा भाजपालाई राजनीतिक सत्ताबिनाको स्वच्छ दार्शनिक चैतन्य प्रभावी हिन्दुत्व चाहिएको होइन। अरू देशबाट आउने बुद्धिस्ट र हिन्दुहरूलाई भाजपा स्वागत गर्छ तर, भुटानबाट विस्थापित बौद्धावलम्बी र हिन्दुलाई आड-अडेसो गरे थिम्पुको सत्ताशक्तिसित उनीहरूको तालमेल बिग्रन्छ, सत्ताको सतरञ्जमा चालिएका चिनियाँ गोटी ठोकिएर वरपर सर्न सक्छन्! दाउपेचको मैत्रीपूर्ण लेनदेनमा, सीमा राजनीतिको नाफा-घाटामा ठेस लाग्न सक्छ। त्यसैले मोदी अहिले चीन-भारत मित्रताको पोतो लागेको खलपत्रे अनुहारमा भुटानमार्फत ‘फेयर एन्ड लभ्ली’ दल्ने उद्देश्यले मात्र थिम्पु गएका हुन्। यस भ्रमणबाट जनजनमा सरोकार राख्ने खास्सै उल्लेख्य, अभूतपूर्व उपलब्धि हुने आशा गर्नु व्यर्थ छ।
(लेखक भक्त घिमिरे अमेरिका निवासी भुटानी नागरिक हुन्।)
स्रोतः www.bhutaneseliterature.com
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.