काठमाडौँ : ‘पढ्नमा एक्स्ट्रा ट्यालेन्ट। नरिसाउने मिजासिलो स्वभावको। साथीहरूसँग मिल्ने।’ २०५३ देखि ०५८ सम्म कृषि क्याम्पस रामपुरमा अध्ययन गर्दाका साथी मित्र भट्टराईको संक्षिप्त प्रतिक्रिया हो यो।
अर्घाखाँची घर भएका भट्टराई हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थानका प्राध्यापक छन्। नरिसाउने मिजासिलो स्वभावका भट्टराईका साथी डा. गोविन्द रिजाल विगत ४/५ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा अध्ययन संस्थानमा पढाउँदै थिए।
२२ वैशाखमा उनले द मिसन अ इन्ड (एउटा मिसनको अन्त्य) लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे। ‘दुःखको कुरा: हामीले तदर्थ एडभोकेसी फोरम समाप्त गर्नुपर्यो। चुनौतीहरू बाँकी नै छन्। चुनौतीहरूको सामना गर्न हामीलाई थप निर्णायक रणनीतिहरू चाहिन्छ,’उनले लेखेका थिए, ‘विशाल र आक्रामक तरिकामा एक साथ आउने आशा गर्दछु।’
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि समर्थन जुटाइरहेका थिए रिजाल। मे ३ तारिखमा मात्रै उनी द लिटरेरी सोसाइटी अफ् भुटानको तेस्रो वार्षिक उत्सव तथा दियालो साहित्यिक पत्रिका अङ्क ३, वर्ष–३,मही २०२४ विमोचन कार्यक्रमका प्रमुख अतिथि बनेका थिए।
कविहरूका कविता र गजल सुनेर काठमाडौँ फर्किएका उनले लगत्तै मिसन अन्त्य लेखेपछि भुटानी शरणार्थी शिविरमा डा. शावले के लेख्नु भएको होला भनेर गाइँगुइँ समेत चलेको सुनाउँछन् बेलडाँगी शरणार्थी शिविरका सचिव सञ्चहाङ राई।
स्ट्याटस आएकै भोलिपल्ट डा. रिजाल दुर्घटनामा परे। कीर्तिपुरको आयुर्वेदिक अस्पताल अगाडिको सडकमा कोइराला थरका प्राध्यापकसँग कुराकानी गर्दै थिए रिजाल। यात्रु बोकेको बा.३ ख. २०२७ नं को बस उनीहरू भए तिरै सोझियो। हानिएर बस आउँदा दुवै जना दौडिए। कोइरालाले ज्यान बचाए। ‘उहाँ(रिजाल) पनि भाग्नु भएको रे, चिप्लेर लड्नु भएछ,’भट्टराईले भने,’एक हात जति मात्रै बसले उहाँलाई हानेछ।’
२३ वैशाखको दिउँसो यात्रु बसले ठक्कर दिँदा रिजाल गम्भीर घाइते भए। उपचारका लागि अस्पताल पुर्याउँदा उनको निधन भयो। विदेशमा रहेका आफन्त आएपछि मात्र उनको अन्त्येष्टि गरिएको छ।
अध्ययन संस्थानका सहायक डिन किशोरचन्द्र दाहालका अनुसार उनी पाँच वर्षदेखि आंशिक प्राध्यापकको रूपमा संस्थानमा कार्यरत थिए। रिजालको निधनबाट नेपालले कृषि विज्ञ गुमाएको संस्थानका प्राध्यापक भट्टराई सुनाउँछन्।
स्वर्गमा एक परदेशी पुस्तक लेखेका रिजाललाई अघिल्लो दिन मात्रै भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानकी युवा संयोजक सिर्जना सापकोटाले घरमै गएर भेटेकी थिइन। ‘फिर्ता गर्ने सर्तमा पुस्तक लिएर आएको थिए,घर पुग्यौ कि पुगेनौ भनेर फोन गर्नु भएको थियो,’उनले भनिन्,’आज यो दिन देख्नुपर्यो।’
रिजालले ६ फागुन २०८० मा सापकोटा उपस्थित विश्व सामाजिक मञ्चको कार्यक्रममा भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल नहुँदा पीडा लिएर बाँच्न विवश हुनु परेको सुनाएका थिए।
सापकोटा उनै रिजाललाई श्रद्धाञ्जली दिनु पर्दा पीडा व्यक्त गरिरहेकी थिइन। बेलडाँगी शरणार्थी शिविरका सचिव सन्चहाङ राई अभिभावक गुमाएको महसुस भएको बताइरहेका थिए। रिजालको शरणार्थी परिचयपत्रमा छाप्रो नं नलेखिएकोबारे सन्चहाङले सोधेका थिए रिजाललाई।
‘कार्ड बनाउनेले लेखेनछ भन्नुहुन्थ्यो डाक्टर शावले,’राईले भने,’मे ३ मा मात्रै भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल सरकारलाई चढाउने निवेदन तयार गर्ने भन्नुभएको थियो। तयार पनि भएको होला। तर, हामीले पाउन सकेनौ।’
रिजालको नेपाल सरकारसँग भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान पहल गरिदिने आग्रहसहितको निवेदन राईको हात परेन। भुटानी शरणार्थी समस्या समाधानका लागि रिजाल गम्भीर थिए। भुटानी शरणार्थीहरुबीच समन्वय गर्दै आएका थिए रिजाल। पुराना शरणार्थी नेताहरूलाई नै संयोजन गर्ने काम गर्थे उनी।
भुटानीको हक हितमा लागेका उनी भुटानले अन्याय अत्याचार गरेर हडपेको जायजेथा फर्काउनु पर्छ भन्नेमा थिए। सही मार्ग देखाउँदै आएका रिजालको निधनले टुहुरो बनाएको महसुस भुटानी शरणार्थीहरूले व्यक्त गरेका छन्।
दोस्रो पुस्ताको नेताका रूपमा उदाउँदै थिए रिजाल। ५२ वर्षको उमेरमै अस्ताएका रिजाल अब सम्झनामा मात्रै रहने गरी बिदा भएका छन्। उनको पार्थिव शरीर खरानी भएको छ। हिन्दु धर्म परम्परा अनुसार पशुपति आर्यघाटमा उनको दाहसंस्कार भयो।
नेपालमा रहेका र तेस्रो देश पुर्नवास भएका भुटानी नागरिक भुटान जान पाउनुपर्ने अडानका रिजालको निधनमा शोक व्यक्त गर्न त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, बागवानीका कर्मचारीहरू, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल, भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याल, बेलडाँगी शरणार्थी शिविरका सचिव राई, युवा अभियन्ता सापकोटा, मानवअधिकारवादी गोपालकृष्ण सिवाकोटी, पत्रकार एवं लेखक कनकमणि दीक्षित,देवेन्द्र भट्टराई लगायतका शुभचिन्तकहरू पशुपति आर्यघाट पुगेका थिए।
भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याल भुटानी समाजले एक होनहार व्यक्तित्व गुमाएको बताउँछन्। ‘उहाँ शरणार्थी भएर पनि कृषि विज्ञ हुनुभयो। एक लेखक, समाजसेवी, स्वदेश प्रेमी हुनुहुन्थ्यो,’पौड्यालले भने,’उहाँको निधनले भुटानी समाजले एक होनहार व्यक्तित्व गुमाएको छ।’
उनको निधनले अधमरो भएको महसुस गरेको भुटानी मानवअधिकारवादी नेता टेकनाथले बताए। ‘भुटान फर्कन पाउनुपर्ने अडानमा दह्रो गरी लागेका थिए’टेकनाथले भने।
तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकहरूले भने रिजालको दुर्घटनाको नाममा हत्या भएको आशङ्का व्यक्त गरेका छन्। भुटानले देश निकालिएका नागरिकको जग्गामा बनाउन लागेको मेगासिटीको रिजालले विरोध गर्दै आएका थिए। कतै यो भुटानी राजाको दुर्घटना गराएर रिजाललाई मार्ने षडयन्त्र अन्तर्गत त थिएन? भुटानीहरूले प्रश्न पनि गरेका छन्। उनी सइकल अभियन्ता समेत थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.