भुटानी शरणार्थीले गुहारे अन्तर्राष्ट्रिय समुदाय, मागे सहयोग

भुटानी शरणार्थीले गुहारे अन्तर्राष्ट्रिय समुदाय, मागे सहयोग

काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले ६ हजार भन्दा बढी भुटानी शरणार्थीको सपना चकनाचुर पारिदिएको छ। १ लाख १३ हजार जना भुटानी शरणार्थीलाई तेस्रो देश पुर्नवास गराए पनि बाँकी रहेका शरणार्थीको अवस्था दयनीय बनेको छ।

शिविरको टहरोका लागि दाउरा खोज्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यानै गुमाउनु परेको छ। खानेपानी, शिक्षा, स्वास्थ्यमा चासो दिने निकाय निदाएका छन्। कारण नेपाल सरकारले खोलेको नक्कली भुटानी शरणार्थी प्रकरणको फायल।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक कार्यको फायल खोलेर सरकारले आफ्नालाई जोगाएको आरोप लागेको छ। नक्कली प्रकरणमा नाम मुछिएकाहरूसँग प्रहरीले बयान समेत लिन सकेको छैन।

दोस्रो चरणको अनुशन्धानबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी चुपचाप छ। पहिलो चरण भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण तेस्रो न्यायाधीशको इजलासबाट धरौटी बुझाएर रिहा भएका छन्। नक्कली प्रकरणका कारण झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीको भने यही कारण परिचयपत्र नवीकरण हुन सकेको छैन।

शिविरका सचिव सन्चहाङ राईले गल्ती गरेको भए जेल हाल्न नेपाल सरकारलाई चुनौती नै दिएका छन्। ‘नक्कलीका नाममा सक्कलीलाई पीडा दिने काम कहिलेसम्म?’उनले प्रश्न गरेका छन्। विश्व सामाजिक मञ्चको सम्मेलनमा साउथ एसिया ह्युमन राइट्सले गरेको कार्यक्रममा राईले भने,‘भुटानमा राजबन्दीलाई जेल अवधि थपेर पीडा दिइएको छ,यता नेपालमा परिचयपत्र नवीकरण नगरि दुख दिइएको छ।’

सरकारले नक्कली भुटानी शरणार्थीको फायल खोले पछि भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ परे। उनले नै सक्कलीका नाममा नक्कली बनाएर रकम असुल्ने काममा नेपालका उच्चपदस्थहरू लागेको प्रहरीलाई सूचना दिएका थिए।

रिजाल ९ महिना जेल परे। उच्च अदालत पाटनको आदेशमा रिजाल धरौटीमा रिहा भएका छन्। पूर्वगृहमन्त्री एवं सत्तारुढ नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण तेस्रो न्यायाधीशको इजलासबाट धरौटी बुझाएर रिहा भए।

पूर्वगृहमन्त्री रामबहादुर थापा र हाल अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त प्रेम राईको कार्यकालमा बनेको प्रतिवेदनका कारण त्यसपछिका मन्त्री र सचिव पक्राउ परे। तर, उनीहरूमाथि अनुसन्धान सोझिएन।

सरकारले फायल खोल्ने र आफ्नालाई जोगाउने काम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप नै लगाएका छन्। ‘आफ्नालाई जोगाउने नाममा फायल खोल्ने काम नगर्नुहोस्,फायल खोल्ने नै हो भने रास्वपाबाट सुरु गर्नुहोस्,’संसद्मा लामिछानेले भने,‘सरकारको नियतमा शङ्का भयो।’

नेपालमा रहेका भुटानी शरणार्थीहरूले पनि सरकारको नियतमा शङ्का गरेका छन्। सन् २०१६ मै तेस्रो देश पुर्नवास कार्यक्रम बन्द गरेको युएनएचसीआरले शिविरमा रहेका शरणार्थीको अवस्थामा चासो नै दिएको छैन। ‘तेस्रो देश पुर्नवास गराएपछि सबै समस्या समाधान भयो भनिएको छ,’शिविरका सचिव राईले भने,‘एक जना रहेसम्म छोड्दैनौ भनेको युएनएचसीआरले अहिले फर्केर हेरेको छैन।’

भुटानमा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकलाई सरकारले लखेटे पछि भारत हुँदै नेपालको शरण लिएर बसेका छन्। हाल नेपाल सरकारले पनि बस्नलाई माटो बाहेक केही नदिएको गुनासो शरणार्थीहरूले गरेका छन्।

तीन दशक भुटानको चेमगाङ जेलमा बिताएर केही महिना अघि मात्रै नेपालको शिविरमा आइपुगेका मधुकर मङ्गरको तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकले रकम सङ्कलन गरेर बस्ने बासको प्रबन्ध गरिदिएका थिए।

नेपाल सरकारले मात्रै चासो दिएर भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्या समाधान हुने छाटकाट नदेखिएको नेपाली भाषा साहित्य भुटानका पूर्वअध्यक्ष, पत्रकार, लेखक भक्त घिमिरेले बताए। उनी २० वर्षको उमेरमा भुटानबाट लखेटिएका हुन्।

नेपालको शरणार्थी शिविर हुँदै घिमिरे हाल अमेरिकामा छन्। तर, उनका आफन्त अहिले पनि भुटानमा छन्। आफन्त भेट्न पाएका छैनन् उनले। शरणार्थी समस्या भारत सरकारले नचाहेसम्म समाधान नहुने बताउँछन् उनी।

भुटान सरकारले जनता खुसी रहेको भ्रम छरेको छ। तेस्रो देश पुर्नवास भएका नागरिकलाई समेत भुटान प्रवेश गर्न दिएको छैन। नेपालको शरणार्थी शिविरबाट आफन्त भेट्न भुटान पुगेका दुई जनालाई जेलमा हालेको जानकारी पाएको भुटानी शरणार्थीको अध्ययन गर्दै आएका पत्रकार देवेन्द्र भट्टराईले बताए।

राष्ट्रसङ्घ महासचिवको भ्रमण : भुटानी शरणार्थी मुद्दामा मौन

चार वर्ष अघि भुटानको चेमगाङ जेलको भित्तामा लेखिएको अक्षर सहितको फोटो टेकनाथ रिजालको प्यासेन्जरमा आए पछि रिजालसँगै जेल परेकाहरू रिहा नभएको पत्ता लागेको भट्टराईले बताए। ‘भुटानको जेलबाट आएको तस्बिरमा रिजालले लेखेको मन्त्र थिए,रिजाल जेल पर्दा जेलको भित्ताको लेखेको गायत्री मन्त्र थियो, त्यो तस्बिर प्राप्त भए पछि प्रजातन्त्रको माग गर्नेहरू रिहा भएका छैनन् भन्ने पत्ता लाग्यो,’भट्टराईले भने,‘नेदरल्याण्ड्समा रहेका भुटानी राजबन्दी रिहाइ अभियानका संयोजक राम कार्कीले यसको पुष्टि गर्नुभयो।’

रिजाललाई तस्बिर पठाउने मधुकर मङ्गर रिहा भएर नेपालको शरणार्थी शिविरमा छन्। शिविरमा रहेका शरणार्थीले आफन्त भेट्न जाने अवस्था छैन। तेस्रो देश पुर्नवास भएका आफन्तलाई भेट्न जान नेपाल सरकारले दिने यात्रा अनुमतिपत्र पनि जारी भएको छैन।

भुटानी अध्येता डा. गोविन्द रिजालले भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल नहुँदा पीडा लिएर बाँच्न विवश हुनु परेको बताए। उनले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे।

भुटानको जेलमा परेकाहरूको जेल अवधि थपिने गरेको छ। आजीवन कारावासको सजाय सुनाउने र ४३ वर्षसम्म जेलमा राख्ने गरिएको छ। जेलमा परेकालाई भेट्न जान पाउँदैनन्। भेट्न जानेलाई समेत जेल कोच्ने गरिएको छ। भुटानका राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले भुटानको जेलबाट रिहा गर्नको लागि सहयोग खोज्न सन् २०१९ मा आफूले पत्र पाएको उल्लेख गरेका छन्।

कार्कीको प्रस्तुतीकरण गर्दै अभियानकी युवा संयोजक सिर्जना सापकोटाले विभिन्न राजनीतिक कारणले भुटानमा दशकौँदेखि जेल सजाय भोग्दै आएका नागरिकको मानव अधिकारमा अन्तर्राष्ट्रिय समुदाय बोलिदिनु पर्ने बताइन।

कार्कीले भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर बन्न भनेका छन्। ‘भुटानी राजालाई आममाफी दिन लगाउने र परिवारसँग पुनर्मिलन गराउन आग्रह गर्न चाहन्छु,’कार्कीले भने,‘आममाफी दिने अधिकार भुटानी राजालाई मात्रै छ, मानवीय सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक छ।’

भुटानी शरणार्थी नेता बलराम पौड्यालले समस्याको बिट मार्न बाँकी रहेको बताए। भुटानी शरणार्थीको समस्या राजनीतिक भएको बताउँदै उनले राजनीतिक समाधान हुनुपर्ने बताए। उनले भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानमा दबाब दिन टाक्सफोर्स बनाउन सुझाव पनि दिए।

पत्रकार कनकमणि दीक्षित, मानवअधिकारवादी गोपालकृष्ण सिवाकोटीले भुटानी शरणार्थी समस्या समाधान हुनुपर्नेमा जोड दिएका थिए।

संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणको मात्रै जवाफ दिए। सक्कली भुटानी शरणार्थीको अवस्थाबारे एक जना पनि सांसदले बोलेनन्। नक्कली शरणार्थीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यो प्रकरणलाई नेपालको इतिहासमै ठुलो प्रकरण भनेका छन्। उनले यो प्रकरणमा आफूलाई बधाई आउनु पर्नेमा कुनै न कुनै तर्कले राजनीतिक करण गर्न खोजिएको सुनाए।

उनले कुर्सी हल्लिने डर भए छानबिन नै नहुने बताए। ‘कुर्सी हल्लिने डर छैन। सरकार जाला कि भन्ने डर विल्कुलै छैन,’संसद्मा प्रधानमन्त्री प्रचण्डले भने,‘कुर्सी हल्लिने डर भए छानबिन नै हुने थिएन। अहिले यो अदालतमा विचाराधीन छ।’

सम्बन्धित समाचार

युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु

भुटानका प्रधानमन्त्रीलाई ह्युमन राइट्स वाचको पत्र : राजनीतिक बन्दीहरूलाई रिहा गर्नु

भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु

भुटानका नवनिर्वाचित प्रधानमन्त्रीसँग देश निकालिएका नागरिकलाई स्वदेश फर्काउन अपिल

भुटानको लोकतन्त्र नक्कली, चुनाव नाटक मञ्चन मात्रै

भुटानी शरणार्थी : सर्वोच्चले मगायो उच्चको आदेश, कार्कीले गरे राजासँग अपिल

भुटानी शरणार्थी : दीर्घकालीन समाधानमा दबाब

परिवारले जुटाएको धरौटीमा रिहा भए रिजाल, दिए सबैलाई धन्यवाद

भुटानी शरणार्थी : प्रधानमन्त्रीको कुरा नक्कली, पीडामा सक्कली

भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको चिन्ता, शिविरको नाम परिवर्तनले त्रसित

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading