भुटानी शरणार्थीलाई ज्यान जोगाउनै कठिन, दाउरा खोज्न जाँदा मृत्यु

भुटानी शरणार्थीलाई ज्यान जोगाउनै कठिन, दाउरा खोज्न जाँदा मृत्यु

झापा : दमक बेलडाँगी भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा हात्तीले आक्रमण गर्दा तामाङको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जानकारी दिएको छ।

दाउरा खोज्न जङ्गल गएका सेक्टर नं २ को हट नम्बर २५२ का तामाङ मङ्गलवार साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिइन। तामाङको शव जङ्गलबाट निकालेर मुचुल्का उठाउने काम भइरहेको उनले बताए।

राईका अनुसार तामाङको परिवार शिविरमै रहेका छन्। प्रमाणीकरण भएकाहरू तेस्रो देश पुर्नवास भए पनि नभएकाहरू र पछि आएकाहरू शिविरमा बसेका छन्। उनीहरूलाई कतैबाट सहयोग भने छैन।

नेपाल सरकार र नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले तेस्रो देश पुनर्स्थापना अघिसम्म शिविरमा खाना पकाउन गुइँठा दिने गरेका थिए।

तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम बन्द भए पछि शरणार्थीहरूले कुनै सहयोग पाउँदैनन्। ‘नेपाल सरकार र यूएनएचसीआरको अहिले कुनै सहयोग छैन,खाना पकाउने दाउरा खोज्न शिविर नजिकै रहेको जङ्गलमा जान्छन्,’डिभिजन वन कार्यालय झापाका प्रमुख राईले पहिचानसँग भने,‘जङ्गलमा दाउरा लिन गएका तामाङको हात्तीले आक्रमण गर्दा मृत्यु भयो।’

हरेक वर्ष हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने गरेको छ। प्रमुख राई का अनुसार गत वर्ष हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको थियो। गत वर्ष ६ जना नेपाली, एक जना भुटानी शरणार्थी र एक जना भारतीय नागरिकको हात्तीको आक्रमणबाट मृत्यु भएको राईले बताए।

हात्तीको आक्रमणबाट मृत्यु भएका विदेशी नागरिकले राहत पाउँदैनन्। नेपाली नागरिकको मृत्यु भए १० लाख रुपैयाँ राहत दिने गरिएको उनले बताए। ‘भुटानी शरणार्थीलाई राहत दिने व्यवस्था छैन,’उनले भने,‘गत वर्ष मृत्यु भएका एक जना भुटानी र एक जना भारतीयले पनि राहत पाएनन्।’

उनका अनुसार शिविरमा बसोबास गर्ने भुटानी शरणार्थीको सङ्ख्या ८ हजार हाराहारीमा छ। सबैतिरबाट राहत बन्द भए पछि उनीहरूलाई बिहान बेलुकाको छाक टार्न समेत धौधौ परिरहेको छ।

हात्तीले समेत दुख दिने गरेको छ। ‘शिविर जङ्गल छेउमै छ,अहिले धान खान भारतबाट समेत हात्ती आएका छन्,’उनले भने,‘कुन बेला आक्रमण गर्छ पत्तो नै हुँदैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading