सुदीपलाई उभ्याएर भूमिकाले भनिन्,तपाईँहरूको दिमाग खलबलिन्छ

सुदीपलाई उभ्याएर भूमिकाले भनिन्,तपाईँहरूको दिमाग खलबलिन्छ

अधिकारका नाममा भिख नमाग्न उद्यमीले दिए सुझाव

काठमाडौं : जन्मँदा छोरी हुन सुदीप। हुर्कँदै जाँदा उनलाई पुरुष बन्न मन लाग्यो। समाजले तोकिदिएको मूल्य मान्यता भन्दा पृथक् उनी पुरुष बने। मकवानपुरमा जन्मेका उनले विगत दुई दशकदेखि समलिङ्गी, तेस्रो लिङ्गीको वकालत गर्दै आए। आफ्नोबारे बुझाउँदै पनि आए। उनी आफ्नो समुदायको हक अधिकारका लागि भनेर स्थापना भएको नील हिरा समाजमा झन्डै दुई दशकदेखि नै कार्यरत छन्।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले परिवार नियोजन सङ्घमा गरेको चालु आर्थिक वर्षको अन्तिम कार्यक्रममा भने सुदीपले परिचय मात्रै दिए। आफ्नोबारेमा विस्तृत केही खुलाउन चाहेनन्। सधैँ एउटै कुरा उनलाई सुनाउन मन लागेन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमको ब्यानरमा सुदीप कार्यपत्र प्रस्तोता सरकारी अधिकारी गोपाल कँडेल र पुरुष, अन्य हुँदै महिला लैङ्गिक पहिचानमा नागरिकता लिने भूमिका श्रेष्ठको भने नाम लिइरहने पात्र बने।

कँडेलले धेरै कुरा सुदीपसँग सोधेर थाहा पाएको र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको फ्रेण्ड्स हेटौडाको कार्यालयसम्म पुगेको सुनाए। युवा परिषद् समितिको ११ सदस्यीय सदस्यमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुदीप गौतमले गरेको जानकारी पनि उनले गराए। ‘यसअघि यो समुदायबाट फ्रेण्ड्स हेटौडाका सुरज थापाको प्रतिनिधित्व थियो,’उनले भने,’पाँच पुरुष, पाँच महिला र एक जना यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व रहेको समितिमा अहिले सुदीप गौतमलाई राखेका छौँ।’

सुदीप तेस्रो लिङ्गी पुरुषको पहिचानमा आफूलाई चिनाउँदै आएका थिए। भूमिकाले भने उनलाई ट्रान्स मेन भनेर उभ्याइन। सुदीप अहिले युनिटी फर चेन्ज संस्थाका अध्यक्ष छन्। काम नील हिरा समाजमा गर्छन्।

भूमिका र सुदीप अहिले पनि नील हिरा समाजको परियोजनामा कार्यरत छन्। उनले सुदीपलाई उठाउँदै भनिन्, उहाँलाई देख्दा तपाईँहरूको दिमाग खलबलिन्छ। भूमिकाले सुदिपलाई उठाएर ट्रान्स मेनको बारेमा बुझाइन।

भूमिकाले सन् २०१८ सम्म सुदिपलाई तेस्रो लिङ्गी पुरुष भनेर यसैगरी उभ्याउने गर्थिन। अहिले सुदीप आफैँ ट्रान्स मेन भनेर चिनाउँछन्। यो अङ्ग्रेजी शब्द बुझाउँदा भूमिकाले दिमाग खलबलिने बताएकी हुन्। सांसदहरू रञ्जु झा र सुशीला श्रेष्ठको पुरुष महिला बन्ने र महिला पुरुष बन्ने हर्मोनल थेरापी र लिङ्ग परिवर्तन गर्ने काम बन्द गर्न सरकारलाई गराएको ध्यानाकर्षणलाई भूमिकाले छलफलको विषय बनाउने प्रयत्न गरिन्।

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद

सङ्घीय सरकारको गृह मन्त्रालयका प्रतिनिधिलाई उनले आफ्नो माग सुनाइन, हर्मोन लिन र सेक्सचेन्ज (यौन अङ्ग प्रत्यारोपण) गर्न पाउनुपर्छ। किनकि उनी शल्यक्रिया गरेर महिला बनेकी हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट महिलाको नागरिकता लिन सफल भूमिका अरूले पनि हर्मोन लिन र सेक्सचेन्ज गर्न पाउनु पर्ने वकालत गर्न थालेकी छन्।

नेपाली काँग्रेसले १२ औँ महाधिवेशनमा भूमिकालाई तेस्रो लिङ्गी भनेरै प्रतिनिधि बनाएको थियो। काँग्रेसबाट समानुपातिक कोटामा संसद् प्रवेश गर्ने उनको पहल भने हालसम्म सार्थक बन्न सकेको छैन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेर धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा भूमिकाले लिङ्ग परिवर्तन गरेर महिलाको नागरिकता लिएकी हुन्। भूमिका जस्ता लिङ्ग परिवर्तन गर्नेहरूले नागरिकता लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पछि निर्णयका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा फायल पुग्ने गरेको छ। मन्त्रिपरिषद्ले निर्णय गरेर नागरिकता दिए पनि सार्वजनिक भने गरिएको छैन।

१६ पुस २०६९ मा पहिलो पटक सेक्सचेन्ज गरेकालाई मन्त्रिपरिषद्को निर्णयबाट परिवर्तित लैङ्गिक पहिचानमा नागरिकता दिन थालिएको हो। त्यही दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अन्य लैङ्गिक पहिचानमा नागरिकता दिने परिपत्र जारी भएको हो। त्यही परिपत्र पछि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी, दुईलिंगीले अन्य लैङ्गिक पहिचानमा नागरिकता पाउन थालेका हुन।

चालु वर्षको असारमा मात्रै जिल्ला प्रशासन कार्यालय रुपन्देही र दाङले अन्य लैङ्गिक पहिचानमा नागरिकता जारी गरेको छ। रुपन्देहीका सुभाष आले (जोया) र दाङका बलिभद्र चौधरीले अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएका हुन्। अन्यमा नागरिकता लिन हर्मोनल थेरापी र सेक्सचेन्ज गर्नुपर्दैन। सेक्सचेन्ज गरेकाहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्छन् भन्ने व्याख्या पनि छैन। उनीहरूका लागि छुट्टै व्यवस्था छ।

महिलाको नागरिकता लिनु अघि भूमिकाले अन्यको राहदानी लिएर पहिलो विदेश यात्रा समेत गरेको सुनाइन। नेपालमा अन्यको राहदानी लिने तेस्रो लिङ्गी मोनिका शाही हुन्। नील हिरा समाजमा आबद्ध मोनिकाले पहिलो विदेश यात्रा गर्ने चाहना व्यक्त गरे पनि समाजको नेतृत्वले भूमिकालाई अवसर दियो। समाजको नेतृत्वले आफूमाथि गद्दारी गरेको आरोप लगाउँदा मोनिका कामबाटै निकालिइन।

भूमिका समाजको अभियन्ताको रूपमा परिचित बनेकी छन्। तर, उनले तेस्रो लिङ्गी पहिचानलाई भने त्यागेकी छन्। उनी आफूलाई अहिले पारलिंगी अर्थात् ट्रान्स वुमन बताउँछिन् र पारलिंगीहरुलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रकै व्यक्ति भएको दाबी पनि सुनाउँछिन्।

सरकारले सेक्सचेन्ज गरेर पारलिंगी पहिचान गराउनेहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकभित्र पर्ने कुनै व्यवस्था गरेको छैन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पहिचान र अधिकारका लागि सङ्घर्ष गर्दै आएका अभियन्ताहरूले पनि हर्मोन थेरापी र यौन अङ्ग प्रत्यारोपणलाई अप्राकृतिक भनिरहेका छन्।

तर, भूमिका आफूले गरेको भएर आफूजस्ता अरू पनि बटुलेर समूह निर्माण गर्न गम्भीर स्वास्थ्य समस्या निम्तिएर मृत्यु समेत भएका घटनालाई लुकाउँदै आएकी छन्। भूमिकाको यो अभियानलाई नील हिरा समाजको नेतृत्वले भने फुल सपोर्ट गरेको देखिएको छ।

दिमाग खलबलिने अभिव्यक्ति

समाजमा कार्यरत सुदीप केही महिना अघि मात्रै अस्पताल भर्ना भए। उनले पुरुष देखिनका लागि हर्मोन प्रयोग गरे। हर्मोनको खराबीले उनलाई बेलाबेला जटिल स्वास्थ्य समस्या निम्तने गरेको छ। अहिले कस्तो छ? भन्ने पहिचानको प्रश्नमा सुदीपले भने,अहिले ठिक छ। केही दिन अघि मात्रै अस्पताल भर्ना भएको थिए, अहिले समस्या छैन।

हर्मोन लिने बानी परे पछि टुट्नेवित्तिकै जटिल खालका स्वास्थ्य समस्या देखा पर्ने भुक्तभोगीहरू बताउँछन्। भूमिकाले सुदिपलाई उभ्याए पनि हर्मोन थेरापी र सेक्सचेन्जका कारण स्वास्थ्यमा आएका समस्याबारे केही खुलाउन भनिन्। बस, उभ्याइन र भनिन्,उहाँलाई देख्दा तपाईँहरूको दिमाग खलबलिन्छ।

छलफलमा अरू कसैले भूमिकाको माग सुने मात्रै। प्रतिक्रिया जनाएनन्। सुदिपलाई नील हिरा समाजले कार्यक्रमहरूलाई देखाउने पात्र मात्र बनाइरहेको छ। उनी जस्तै समुदायका अधिकांश सदस्यलाई देखाउने, उभ्याउने र उनीहरूको पीडा बेचेर आफ्नो दुनो सोझ्याउने काममा नील हिरा समाजको नेतृत्वले सफलता पाइरहेको छ।

सुदीप नबोल्नुको अहिलेको कारण भने अर्को पनि हुन सक्ने देखिएको छ। नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले विवेकशील इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेकाहरूको नागरिकता सङ्कलनमा खटाएका कारण पनि सुदीप थप तनावमा परेका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट २०७४ सालमा शेयर बापत भनेर लिएको रकमबारे प्रश्न उठाउँदा पिंकीले अहिलेसम्म कुनै जवाफ दिएकी छैनन्।

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप

समाचारमा आए पनि उनले आफू निष्कलङ्क रहेको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। तर, समुदायबाट रकम उठाएर शेयरमा गरेको लगानीबारे केही जानकारी दिएकी छैनन्। त्यसमा आफ्नो नाम पनि जोडिएपछि सुदिपलाई बोल्न मनै लागेको छैन। कार्यक्रम सकिएपछि लिइएको सामूहिक तस्बिर समेत सामाजिक सञ्जालमा पोस्ट नगरिदिन उनले आग्रह नै गर्नुपर्ने बाध्यता पर्‍यो।

चार जिल्लामा सम्पर्क कार्यालय

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय हेर्ने गरी ललितपुर, काभ्रे, धादिङ र हेटौडामा सम्पर्क कार्यालय सञ्चालनका लागि बजेट विनियोजन भएको जानकारी गराए।

कँडेलले चालु आर्थिक वर्ष नुवाकोटका पालिकासँगको कार्यक्रममा नील हिरा समाज र फ्रेण्ड्स हेटौडालाई बोलाए पनि कोही पनि उपस्थित नभएको बताए। ‘नुवाकोटको पालिकासँग छलफल गर्‍यो,समुदायका कोही आउनु भएन,’उनले भने,’नुवाकोटमा पनि कोही खुलेर आउनु भएको पाएनौ।’

संविधानसभामा यो समुदायको प्रतिनिधित्वले नेतृत्वदायी भूमिका खेलेका कारण संविधानमा अधिकार सुनिश्चित भएको उनले बताए। ‘२४ वर्ष अगाडि संस्था स्थापना गर्नु क्रान्ति थियो। संविधानसभामा यो समुदायको प्रतिनिधित्व थियो,उनले भने, नेतृत्व दायी भूमिका खेल्नु भयो।’

नील हिरा समाजको स्थापना गरेका सुनिलबाबु पन्तले पहिलो संविधानसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व गरेका थिए। पन्तले एसियाकै पहिलो सभासद्को नाम लेखाएका छन्।

नेपालको संविधानलाई विश्वकै उत्कृष्ट मानिएको छ। तर, संविधान अनुसार एउटा पनि कानुन भने बनेको छैन। बागमती प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सम्बन्धी छुट्टै नीति बनाएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेर प्रमाणीकरणका लागि पठाएको छ। केही शब्दहरूमा स्पष्ट हुन नसकेकाले प्रमाणीकरण नभएको सामाजिक विकास महाशाखा प्रमुख कँडेलले बताए।

उनले महिला, पुरुष र अन्यको पहिचान भएको बताए। जन्मका हिसाबले समान हुन्। ‘लैङ्गिक अल्पसङ्ख्यक हुन्छन् भन्ने बहसको विषय छ,’उनले भने,’मानसिक समस्या होइन भन्ने पहिचान भएको छ। महिला, पुरुष र अन्यको पहिचान भएको छ। सङ्ख्या २९२८ छ।’

उनले अझै सचेतना एवं अभिमुखीकरणको आवश्यकता रहेको बताए। सामाजिक विकास मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि विनियोजन भएको बजेट नील हिरा समाजसँगको सहकार्यमा कार्यक्रम गर्दा सकिने गरेको बताएको छ।

सामाजिक विकास मन्त्रालयले चालु वर्ष सिन्धुलीमा कार्यक्रम गर्न नील हिरा समाज एक्लैलाई जिम्मा दिएको कँडेलले बताए। सिन्धुलीका स्थानीय तहले भरखरै बजेट सार्वजनिक गर्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि कुनै कार्यक्रम राखेको भने पाइएको छैन।

अवसर जति सबै एकै व्यक्तिलाई दिँदा सरकारका कार्यक्रम समेत देखावटी मात्र भएको सहभागीहरूले बताए। गैरसरकारी संस्थाहरूले जस्तै सरकारका कार्यक्रम पनि व्यक्ति केन्द्रित बनेको उनीहरूको गुनासो थियो।

सन् २०१७ मा मिस्टर गे नेपालको उपाधि पाएका एवं हाल मायाको पहिचान नेपालमा कार्यरत मनिन्द्रसिंह दनुवारले १० वटा तालिम एक जनालाई दिएर नतिजा खोज्ने काम नगर्न सामाजिक विकास मन्त्रालयलाई सुझाव दिए।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नाममा केही सीमित व्यक्तिलाई मात्र सहभागी गराएर योजना कार्यान्वयनको मापन हुन नसक्ने बताए। ‘१० वटा तालिम दिनुहुन्छ,तर सहभागी भने एउटै व्यक्ति हुन्छ,’उनले प्रश्न गरे,’अनि कसरी सफल र असफलको मापन गर्नुहुन्छ?’

मायाको पहिचान नेपालका सचिव समेत रहेका दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको आदेश अनुसार विवाहको कानुन बनाउन पहल भइरहेको बताए।

माया गुरुङ्ग र सुरेन्द्रले १३ मङ्सिर २०८० मा सुनिलबाबु पन्तको पहलमा सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयबाट कानुनी रूपमा विवाह दर्ताको पहिलो प्रमाण पत्र पाएका हुन्।

नागरिकता ऐन २०६३ संशोधन गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले अन्य लैङ्गिक पहिचानको नागरिकता पाउने व्यवस्था भैसकेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा वैवाहिक समानताको कानुन निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले पहिलो पटक कार्यक्रममा सहभागी गराएको मायाको पहिचान नेपालको पहलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गृह मन्त्रालयको निर्णय अनुसार ७५३ वटा स्थानीय तहका सबै वडा कार्यालयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र जारी गरे पछि सरकारलाई कानुनमा संशोधन या नयाँ कानुन निर्माण गर्नुपर्ने दबाब परेको छ।

सामाजिक विकास मन्त्रालयले पनि चालु वर्षको अन्तिम कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि खुलेका संस्थाहरूलाई संयुक्त रूपमा सहभागी गराएर सुझाव लिएको हो। कार्यक्रममा सुनिता लामा अध्यक्ष रहेको मायाको संसारले पनि पहिलो पटक सेक्स वर्करको आवाज उठाउँदै आएको आफ्नो संस्थाको माग पनि सम्बोधन गर्नुपर्ने बताइन।

मौरी पालक व्यवसायी सरिता भट्टराई श्रेष्ठले तेस्रो लिङ्गी र महिलाले भोग्ने पीडा समान रहेको बताइन। उनले अधिकारका नाममा भिख नमाग्न सुझाव दिइन।

उनले तेस्रो लिङ्गीलाई उद्योग खोल्न आग्रह गरिन्। उनले अन्तरजातीय विवाह गर्दा महिला भएकै कारण विभेद भोग्नु परेको सुनाइन। ‘विभेद भयो, अधिकार चाहियो भनेर भिख मागेर हुँदैन,’उनले भनिन्,’भिख मागेर नबस्नुहोस्। तालिम दिन्छु। दक्ष हुनुहोस्। सरकार र समाज आफैँ खोज्दै आउँछ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.