प्रधानमन्त्री पानीजहाजको रटानमा, मन्त्रीहरू भाषणबाजीमा व्यस्त

प्रधानमन्त्री पानीजहाजको रटानमा, मन्त्रीहरू भाषणबाजीमा व्यस्त

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरू भाषणबाजीमा व्यस्त बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दिनमा कम्तीमा दुई/तीन वटा कार्यक्रममा सहभागी भएर भाषण दिइरहेका छन्। अधिकांश मन्त्रीहरू पनि प्रधानमन्त्री ओलीकै पथमा भाषणबाजीमा मस्त बनेका छन्।

संविधान संशोधनमा भ्रम नफैलाउन आग्रह गरेका प्रधानमन्त्री ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्ने कुरा सुनाएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आव २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन्।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे।

पानीजहाजबाट सीमापारदेखि सामानहरू ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरू पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाई थियो। ‘पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ। ठुला भन्सार पनि खोलौँ। सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने,‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुपर्छ हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्छ। त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ। पूर्व पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौँमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरू पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए।

उनले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनाहरू स्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे। मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको माग अनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै उनले मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढी भन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए।

उनले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरूले ढुक्कका साथ अघि बढ्न सक्ने उल्लेख गरे।

यसअघि प्रधानमन्त्री ओलीले ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित एमालेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा संविधान संशोधन गर्नुहुँदैन भन्ने भ्रम नफैलाउन प्रतिपक्षी दललाई आग्रह गरेका थिए। ओलीले एमालेभित्र गुटबन्दी सैह्य नहुने चेतावनी पनि दिएका थिए।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे। व्यवस्था परिवर्तनपछि अहिले अवस्था परिवर्तनका लागि सरकारले काम गरिरहेको उनले सुनाए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन्।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहेकाले शिक्षकको भूमिका के रहने भन्ने मापदण्ड ऐनले नै तोक्ने बताइन।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने काठको ठेकीमा मदानी घुमाएर मही पारेका छन्। शनिवार काठमाडौँको दरबारमार्गस्थित ओरियन्ट क्याफेमा कृषि उपज मेलाको अवलोकन गरेका उनले ठेकीमा मदानी घुमाएर मही पारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

प्रधानमन्त्री ओली अघिल्लो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्तै भाषणबाजीमा व्यस्त देखेपछि सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काममा ध्यान दिन आग्रह गरेका छन्।

काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी सङ्घको प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरूले भाषण गर्नेभन्दा कामलाई प्राथमिकतामा राख्नु पर्ने सुझाए।

उनले अहिलेको सरकारसँग नागरिकका धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षा सम्बोधन गर्न आग्रह गरे। उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्मा ल्याएर पारित गर्नुपर्ने बताए। नक्कली भुटानी शरणार्थीदेखि गिरिबन्धु टिस्टेट प्रकरणमा वर्तमान सरकारले पनि छानबिन अघि बढाउनुपर्ने महामन्त्री शर्माको माग छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.