"/>

क्रान्तिकारी इन्द्रेणी जोडीको दसैँ : टीका र आर्सीवाद साटासाट

क्रान्तिकारी इन्द्रेणी जोडीको दसैँ : टीका र आर्सीवाद साटासाट

काठमाडौँ : क्रान्तिकारी इन्द्रेणी जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डे तथा प्रजित बुढाथोकी र जोसेफ फोष्टर एलिसले बडादसैँको टिका लगाएर आर्सीवाद साटासाट गरेका छन्।

माया र सुरेन्द्र दक्षिण एसियामै पहिलो पटक इन्द्रेणी विवाह दर्ता गर्ने बाटो खुलाएका जोडी हुन्। प्रजित र जोसेफ नेपाली र विदेशी समलिङ्गी पुरुषको वैदिक र कानुनी रूपमा विवाह दर्ता गर्ने पछिल्लो क्रान्तिकारी जोडी हुन्।

दुवै जोडीले एकअर्कामा बडादसैँको टिका र जमरा लगाएर आर्सीवाद साटासाट गरेको तस्बिर एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले सार्वजनिक गरेका छन्। पन्तले सामाजिक सञ्जाल फेसबुकमा यी क्रान्तिकारी इन्द्रेणी जोडीहरूलाई साक्षी दिन पाउनु भाग्यशाली भएको उल्लेख गरेका छन्।

नेपाली र अमेरिकी समलिङ्गी पुरुषको ऐतिहासिक वैवाहिक समारोह

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तको पहलमा इन्द्रेणी विवाह वैदिक र कानुनी रूपमा दर्ता हुन थालेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका लागि नेपाल सुरक्षित र सम्मानित रहेको सन्देश माया र सुरेन्द्र तथा प्रजित र जोसेफको जोडीले प्रवाह गरेको देखिएको छ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले पहिलो पटक इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। नेपालले पिंक टुरिजमबाट विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावनाबारे सम्मेलनमा गहन छलफल भएको थियो।

सम्मेलनमा गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको विश्व अवलोकन र अर्थतन्त्र–जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा दुई खर्ब ११ अर्ब डलरको रहेको जानकारी दिएकी थिइन।

अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग रहेको बताउँदै उनले तीन वटा देशमा कोभिडको समयमा चार ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको सुनाएकी थिइन।

सरकारले पनि चालु आर्थिक वर्षको बजेटमा नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम घोषणा गरेको छ।

विवाह दर्ताका लागि छुट्टै डेस्क

संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले विवाह दर्ताका लागि अदालत जानु नपर्ने व्यवस्था गर्न माग गरेका छन्। पन्तले विवाह दर्ताका लागि विकल्प पनि दिएका छन्।

उनले विवाह दर्ताका लागि छुट्टै डेस्क स्थापना गर्न भनेका छन्। ‘पर्यटन बोर्डमा छुट्टै डेस्क स्थापना गरेर विवाह दर्तालाई सहजीकरण गर्न सकिन्छ,प्रजित र जोसेफको वैवाहिक कार्यक्रममा पन्तले भने,’अदालतमा अरू नै मुद्दाको चाप धेरै हुनाले विवाह दर्ताका लागि छुट्टै डेस्कको आवश्यकता देखिन्छ।’

भिडियो :

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.