नेपाली र अमेरिकी समलिङ्गी पुरुषको ऐतिहासिक वैवाहिक समारोह

नेपाली र अमेरिकी समलिङ्गी पुरुषको ऐतिहासिक वैवाहिक समारोह

688
SHARES

काठमाडौँ : नेपाली समलिङ्गी पुरुष प्रजित बुढाथोकी र अमेरिकी समलिङ्गी पुरुष जोसेफ फोस्टर एलिसले नेपालको धर्म, संस्कृति एवं परम्परा अनुसार ऐतिहासिक वैवाहिक समारोह गरेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयमा कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका प्रजित र जोसेफले वैवाहिक समारोह गरेका हुन्। विवाहले कानुनी मान्यता पाए पछि दुवैले वैवाहिक समारोह गरेका हुन्।

नेपालको वैवाहिक परम्परा अनुसार नै पण्डित शिवराज रेग्मी र शिव सत्यालले दुबैलाई जग्गेमा बसाले। होमहोमादी गराए। विवाह मण्डप घुमाए। दुवैले एकअर्कालाई माला र टीका लगाइदिए। विधि पुर्‍याएर दुवैलाई आर्सीवाद दिए।

नेपाली समलिङ्गी, तेस्रो लिङ्गी जोडीको यसअघि पुरुष र महिलाको जस्तै विधि पुर्‍याएर वैवाहिक समारोह भए पनि नेपाली र अमेरिकी समलिङ्गी जोडीको यो नै पहिलो औपचारिक वैवाहिक समारोह हो।

अमेरिकी समलिङ्गी पुरुष हुन जोसेफ। कानुनी रूपमा प्रमाणपत्र पाएका जोसेफको चाहना नेपाली परम्परा अनुसार विवाह गर्ने थियो। त्यसको चाँजोपाँजो मिलाइदिए एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले।

पन्तले अभिभावकको भूमिका निभाए। पन्त इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत हुन्। पन्तको पहलमा दक्षिण एसियामा पहिलो र एसियाको दोस्रो समलिङ्गी विवाहले कानुनी मान्यता पाइसकेको छ।

नेपाली समलिङ्गी पुरुषको अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता

पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ (२१ डिसेम्बर,२००७)मा दिएको निर्देशनात्मक आदेश समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गी नागरिकको पहिचान सहितको अधिकारका लागि ऐतिहासिक मानिन्छ। छिमेकी देश भारत सहित अमेरिका, बेलायत सहित पश्चिमा देशहरूमा २०६४ को आदेशलाई नजिरका रूपमा समेत लिने गरिएको छ।

२०६४ कै आदेशलाई नजिरका रूपमा लिएर १२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले १३ मङ्सिर २०८० मा कानुनी रूपमा विवाह दर्ता गरेका थिए।

समलिङ्गी विवाह दर्तासँगै पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले नेपालमा पहिलो पटक इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गरेको थियो। सम्मेलनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका लागि सुरक्षित देश भएको सन्देश प्रवाह गरेको थियो।

इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि प्रजित र जोसेफको जस्तो वैवाहिक समारोह आयोजना हुनुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक नेपालमा सुरक्षित र सम्मानित रहेको सन्देश जाने पन्तले विश्वास गरे। यस्ता वैवाहिक समारोह आयोजनाबाट विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए। पन्तले प्रजित र जोसेफलाई बधाई तथा शुभकामना दिए।

पण्डितद्धयले पहिलो पटक यस्तो विवाह गराएको बताए। ‘विवाह दुई आत्माको मिलन हो, जुन अटुट रहन्छ,’पण्डित शिवराज रेग्मीले भने,’यो ऐतिहासिक विवाह हो,यस्तो विवाह पहिलो पल्ट गराउने अवसर पाए।’

तस्बिरहरु:

समाचार शेयर गर्नुहोस्
688
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.