काठमाडौँ : परापूर्वकालदेखि नै समाजका अनेकौँ कथा लेखिँदै आएका छन्। नेपाली समाजमा पौराणिककालदेखि नै हार्नेका भन्दा धेरै जित्नेका कथा लेखिएका छन्। सामाजिक असन्तुलन, वर्ग सङ्घर्ष, उत्पीडन, गरिब, दलित, सर्वहारा र सल्वार्टन आवाजलाई लेखकले कहीँ न कहीँ उधिनेका छन्। तर तेस्रो लिङ्गीबारे आजसम्म कसैले आवाज उठाएका छैनन्, मसीमा कलम चोबेका छैनन्।
केही लेखक छन् तर उनीहरू पनि सङ्घर्षकै चरणमा। चलचित्र नबनेका होइनन् तर तेस्रो लिङ्गीलाई मनोरञ्जनको साधन मात्रै बनाइयो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे बनेका नेपाली फिल्म पनि औँलामा गन्न सकिने मात्रै छन्। तेस्रो लिङ्गीको वास्तविक धरातल के हो? उनीहरूको समस्याहरू के हुन्? यसबारे खोजी नै भएको छैन।
भूमिका श्रेष्ठले केही वर्ष अघि आत्मकथा ल्याएकी थिइन्। जन्मँदा पुरुष हुर्कँदै बढ्दै जाँदा महिलाको हाउभाउसहित परिपक्व हुँदै गएका तेस्रो लिङ्गीहरूको कथा व्यथा समेट्ने पुस्तक हो भूमिकाको आत्मकता।
यो एउटा किताब मात्रै नभएर तेस्रो लिङ्गी, समलिङ्गीहरूको जीवनको पाना र ऐना पनि हो। नेपालमा तेस्रो लिङ्गीहरूले अहिले पनि अपहेलित र तल्लो दर्जाको व्यवहार खेप्नुपरेको छ।
आफ्नो कथा उजागर गरेर चर्चामा आएकी भूमिकाको परिचय नेपालमा मात्रै सीमित छैन। भूमिका ‘अन्य’ उल्लेख गरेको राहदानी बोकेर विदेश निस्किने पहिलो व्यक्ति पनि हुन्।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार र पहिचान बनाउन धेरै संस्था सङ्घर्षरत छन्। यस क्षेत्रमा आबद्ध धेरैले गौरवकासाथ आफ्नो पहिचान खुलाउन थालेका छन्।
दक्षिण एसियाली मुलुक भन्दा नेपालमा धेरै राम्रा काम भएका छन्। संविधानमा हकअधिकार सुनिश्चित भएको छ। अनेकन् चुनौतीका बाबजुद यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकार स्थापनाको दिशामा धेरै प्रगति भएको छ। समुदायको आन्दोलनले पहिचान र अधिकारको कानुनी हैसियत प्राप्त गरेको छ। पहिचानसहित खुलेर बहस गर्ने मैदान बनेको छ।
बुझ्ने, नबुझ्ने, बुझ्न नचाहने र बुझ पचाउने समाजमा चारथरी मानिस छन्। कुनै पनि व्यक्ति अपवादबाहेक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई बुझ्न चाहँदैनन्। हर्मोनको कमी या बढीले हुने शरीरको बनावटलाई हेरेर पूर्वजन्मको पाप सोच्नु। नचाहिने आक्षेप सहेर बाँच्नु, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको दैनिकी हो।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कति छन्? गणना भएको छैन। केन्द्रीय तथ्याङ्क कार्यालयले २०७८ मा गरेको घरपरिवार गणनामा ‘अन्य’ लैङ्गिक पहिचान भएका नागरिकको सङ्ख्या २९२८ रहेको छ।
तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?
पहिचान खुलाउँदा सामाजिक हेला र भेदभाव भोग्नुपर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू आफूलाई लुकाएरै राख्छन्। सामाजिक तथा यौन जीवनलाई अझै घृणा, तिरस्कार र लाञ्छना लगाइँदा पीडा भोग्नुपरेको छ।
देशको राजधानी सहरमा महिला र पुरुष यौनकर्मीको कमी छैन। तर महिला-पुरुष यौनकर्मी भन्दा धेरै बदनामी तेस्रो लिङ्गीले कमाएका छन्। देशका मुख्य सहरका केन्द्रमा यौन व्यवसायीका रूपमा तेस्रो लिङ्गीको प्रभाव बढ्दो छ। आखिर किन भइरहेको छ यस्तो? शैक्षिक योग्यता छ। काम गर्ने क्षमता छ। तर काम दिन कोही तयार छैनन्।
पारिवारिक अवहेलना सहँदै, सामाजिक तिरस्कार भोग्दै हिँड्नुपरेपछि मानिस विद्रोह गर्छ। विद्रोह गर्न पनि कसै न कसैको साथ चाहिन्छ। हरेक रात आफ्नो शरीर एक दुई हजारमा बेचेर अपमानजनक जिन्दगी जिउने रहर कसलाई हुन्छ र? तेस्रो लिङ्गीहरू भन्छन्, ‘नियति नै यस्तो छ।’
भूमिकाले अन्य लैङ्गिक पहिचानमा लिएको नागरिकता त्यागेर महिलाको नागरिकता लिए पछि अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्युओसी अवार्ड प्रदान गरेको थियो। त्यसयता नेपालमा लिङ्ग परिवर्तन र हर्मोन थेरापीको चर्चा चलेको छ। नेपाल परिवार नियोजन सङ्घले हर्मोन थेरापी क्लिनिक नै सञ्चालन गरेको छ। जसमा ब्लु डायमन्ड सोसाइटीले पहिला तेस्रो लिङ्गीको पहिचानमा चिनिएकालाई नै महिलाको पहिचान पाउनु पर्ने आवाज उठाउन तलबी कर्मचारी नियुक्त गराएको छ।
वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक
यसका लागि नेपालमा रहेको अमेरिका दूतावासले आर्थिक सहयोग गरेको पाइएको छ। यसले तेस्रो लिङ्गीहरूमा पहिचानको नाममा भ्रम सिर्जना गराइदिएको छ। विदेशी सहयोगमा लिङ्ग परिवर्तन नगर्ने र हर्मोन नलिने तेस्रो लिङ्गी नै हुँदैनन् भन्ने गलत अभ्यास लागू गराउन खोजिएको छ। जसको समलिङ्गी, तेस्रो लिङ्गी र अन्तर लिङ्गी व्यक्तिको अधिकारको आवाज उठाउँदै आएका यौनिक तथा लैङ्गिक समुदायले विद्रोह गरेका छन्।
राजनीतिक दलमा जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको नेतृत्वकर्ता भन्नेहरूमा मौलाएको अवसरवादले समुदायमा पैदा भएको विद्रोह विस्फोटको चरणमा पुगेको छ। लिङ्ग परिवर्तन र हर्मोन थेरापीलाई मलजल गर्नेहरू विकृति, विसङ्गति विरुद्ध समुदायले नै सञ्चालन गरेको अभियानबाट तर्सिन थालेका छन्।
संस्थागत विद्रोह नै गरेका समलिङ्गी, तेस्रो लिङ्गी र अन्तर लिङ्गी व्यक्तिहरूले अधिकारका लागि फेरी नयाँ किसिमको सङ्घर्ष सुरु गरेका छन्। ‘पुरुष या महिला जे जन्मे पनि हाम्रो पहिचान समलिङ्गी तेस्रो लिङ्गी नै हो,फेरी पुरुष वा महिलाकै पहिचान लिनुपर्ने जरुरी छैन,’तेस्रो लिङ्गी महिलाको पहिचानमा चिनाउने स्वस्तिमा राईले भनिन्,’तेस्रो लिङ्गीको पहिचान मेटाउन खोज्ने विरुद्ध हाम्रो सङ्घर्ष जारी छ,समलिङ्गी तेस्रो लिङ्गीहरूमाथि हुने हिंसा अन्त्य गर्न सरकारसँग माग गर्छौ।’
सांसदहरूले भने, ‘लिङ्ग परिवर्तन र हर्मोन बन्द गर्नुहोस्, मुद्दा साझा बनाउनुहोस्’
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले सरकारी, गैरसरकारी सबै निकायलाई हिंसा अन्त्य गर्न दबाब बढाएका छन्। हिंसा अन्त्यको माग गर्नेहरूलाई सरकारी निकायले भने बेवास्ता गरेको पाइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मङ्गलवार सरोकारवालाहरूसँग गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वतयारी छलफलमा विवादित संस्थाका नेतृत्वकर्तालाई मात्रै बोलाएको पाइएको छ।
पूर्वतयारी छलफलले लैङ्गिक हिंसा विरुद्धको अभियानका लागि पाँच वटा नारा छानेको मन्त्रालयको महिला सशक्तीकरण महाशाखा, लैङ्गिक हिंसा निवारण शाखाकी प्रमुख महिला विकास अधिकृत ममता विष्टले जानकारी दिइन। ‘शुभारम्भमा र्याली गर्ने कि भन्ने कुरा भएको छ,’उनले भनिन्,’अभियान सञ्चालन कसरी गर्ने, के के गर्ने भनेर छलफल भएको हो।’
उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको तर्फबाट ब्लु डायमन्ड र मितिनी नेपालका प्रतिनिधि छलफलमा सहभागी भएको बताइन। यी संस्थाविरुद्ध अख्तियारमा उजुरी परेको र छानबिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नै गरिरहेकोबारे भने जानकारी नभएको उनले बताइन।
नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म हुने लैङ्गिक हिंसा विरुद्धको दिवसमा मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितताको उजुरी पछि छानबिन गर्न २८ जेठ २०८१ मा लेखि पठाएका संस्थाहरूकै प्रतिनिधिलाई मात्र बोलाएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका नाममा ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ र मितिनी नेपालका प्रतिनिधिलाई मात्रै छलफल सहभागी गरेको मन्त्रालयले उनीहरू विरुद्ध अख्तियारमा परेको उजुरीमाथि छानबिन गर्ने जिम्मेवारी पाएको छ। पिंकी विरुद्ध त जलविद्युत कम्पनीको शेयर बिक्री गरेर रकम असुलेको समेत आरोप छ।
ती संस्थालाई कार्यक्रमको हिसाबले बोलाइएको उनले बताइन। ‘ब्लु डायमन्डलाई त बोलाए जस्तो लाग्दैन, आफैँ आए जस्तो लाग्छ,’उनले भनिन्,’प्रशासनको कुरा मलाई थाहा भएन,बोलाए पनि हामीले कार्यक्रमका हिसाबले मात्र बोलाएका हौँ।’
सम्बन्धित समाचार :
ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी
पिंकीको नगद उठाउने काइदा, शेयर बिक्री गर्ने कम्पनी गायब
स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.