रविको विवादित छविले खिइँदै रास्वपा, उम्मेदवार नै नपाउने अवस्थामा

रविको विवादित छविले खिइँदै रास्वपा, उम्मेदवार नै नपाउने अवस्थामा

काठमाडौं : स्थानीय तहको रिक्त ४४ पदमा १२१ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्दा स्वतन्त्र नामको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने उम्मेदवार नै नपाउने अवस्थामा पुगेको छ। पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाले जम्मा २७ स्थानमा मात्र उम्मेदवारी दिएको छ।

आफूलाई अबको वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्ने मान्छे नै भेट्टाउन सकेन। रास्वपाले बागमती प्रदेशमा ७ मध्ये ४ पदका लागि मात्रै उम्मेदवारी दर्ता गराएको छ। लुम्बिनी प्रदेशका ६ पदका लागि हुन लागेको चुनावमा रास्वपाले दुई स्थानमा उम्मेदवार नै पाएन।

रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा छन्। यही बेला राज्यसत्तामा रहेका दलहरूको हथकण्डाले आफूहरूले प्रयास गरेभन्दा थोरै स्थानमा उम्मेदवारी दिनुपर्ने अवस्था सृजना भएको रास्वपाका नेताहरू बताउँछन्।

रास्वपाको उपनिर्वाचन समितिका संयोजक गणेश पराजुलीले ठुला दलको धाकधम्की र दादागिरीका कारण उपनिर्वाचन हुने सबै क्षेत्रमा उम्मेदवारी दिन नसकेको तर्क गरे।

तर, रास्वपाको आरोपप्रति सत्तारुढ दलका नेताहरूले भने आपत्ति जनाएका छन्। काँग्रेस सहमहामन्त्री एवं स्थानीय तह उपनिर्वाचन संयोजन समितिका सदस्य भीष्मराज आङदम्बेले मान्छे नै नभएर उम्मेदवारी दिनै मुस्किल भइरहेको पार्टीले अन्य दलहरूमाथि आरोप लगाउनु दुर्भाग्यपूर्ण भएको बताए।

मेयरमा पहिलो पटक तेस्रो लिङ्गीको उम्मेदवारी दर्ता, भ्रष्टाचार अन्त्य गर्ने घोषणा

रास्वपाले सबै ठाउँमा उम्मेदवारी नदिनुलाई उम्मेदवारको अभाव मात्रै नभई पार्टी सभापति लामिछानेको विवादित छविसँग पनि जोडेर हेरिएको छ। विगतमै पटक–पटक विवादमा मुछिएका लामिछाने अहिले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा छन्।

राजनीतिक विश्लेषकहरूले भने रास्वपा कुनै राजनीतिक प्रतिबद्धता दिएर, समाजको कुनै समस्या समाधान गरेर वा कुनै ऐतिहासिक परिघटनाबाट जन्मेको पार्टी नभएकाले पनि खिइँदै गएको टिप्पणी गरेका छन्।

२ उम्मेदवारविरुद्ध उजुरी

स्थानीय तह उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिने समय सकिएको छ। आइतबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो।

तोकिएको समयमा रुकुमपूर्वको सानोभेरी गाउँपालिका वडा नम्बर ५ का दुई जना उम्मेदवार दक्षिराम बस्नेत र मोतीराम खत्री विरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उजुरीमाथि छानबिन गरेर पर्सी मङ्सिर ५ गते अन्तिम नामावली प्रकाशन गर्ने जानकारी दिए।

मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले चुनाव नलड्ने भएमा नाम फिर्ता लिन सक्ने उनले बताए। दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बेलुकी बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। आयोगले मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू गणना स्थलसम्म ढुवानी गर्न निर्देशन दिएको छ।

स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था सम्बन्धी ७ बुँदे निर्देशन जारी गर्दै आयोगले आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो।

आयोगले मङ्सिर १३ गतेदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरेको छ। उपनिर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोगले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न आयोगले भनेको छ।

मतदानको दिन सम्बन्धित स्थानीय तहसँग जोडिएका राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपर्युक्त व्यवस्था मिलाउन र मतदाताहरूलाई सहज आवतजावत हुने गरी यातायात सञ्चालन गर्न आयोगले भनेको छ। मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत विभिन्न ४४ पदका लागि चार सय १० जनाको मनोनयन पत्र दर्ता भएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.