"/>

‘भुटानी शरणार्थीलाई नेपाली नागरिकताको ललिपप’

‘भुटानी शरणार्थीलाई नेपाली नागरिकताको ललिपप’

काठमाडौँ : ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन हत्याएर ठगी गर्ने समूह कोही यतिबेला जेलमा छन्। कोही धरौटीमा रिहा भएर अदालतमा तारेख धाइरहेका छन्।

प्रतिवेदनको कार्यदेश नं ६ बुँदामा भुटानी शरणार्थीमा दर्ता भएर पुनर्स्थापना हुन बाँकी र दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत तयार गरेर निजहरूलाई भुटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो देशमा पुनर्वासमा पठाउन सकिने वा नसकिने सम्बन्धमा सुझाव दिन भनिएको थियो।

भुटान फिर्ताको सट्टा तेस्रो देश पठाउने धन्दा चल्यो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै यो प्रकरणमा पक्राउ परे। पन्थी नेतृत्वमा कार्यदल बन्दा गृहमन्त्री थिए रामबहादुर थापा र सचिव प्रेमकुमार राई। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश अमेरिका पठाउने धन्दाको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

नक्कली प्रकरणमा पक्राउ परेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल धरौटी बुझाएर अदालतमा तारेख धाइरहेका छन्। उनको बोली बन्द गरेर भुटानी शरणार्थीहरूलाई नेपाली नागरिकता दिलाउने प्रयास भएको पाइएको छ। यसमा रिजाल नबोली बस्नै सकेनन्। उनले भुटानका राजालाई उन्मुक्ति दिने प्रयास नगर्न अनुरोध गरेका छन्। भुटान फर्कन पाउनु पर्ने मानव अधिकारको सम्मान गरिदिन नेपालसहित विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्।

भुटानी शरणार्थीहरूलाई आवश्यक परिचयपत्र, यात्रा कागजातहरू प्रदान गरेर जीवन सहज बनाइदिन साउथ एशियन्स फर ह्युमन राइट्स (एसएएचआर)ले नेपाल सरकारलाई सिफारिस गरे लगत्तै शरणार्थी अगुवाहरूको यस्तो प्रतिक्रिया आएको हो।

शरणार्थीहरूले एसएएचआरको सिफारिसलाई स्वागत गरेका छन्। शरणार्थीहरूको एकोहोरो रोदनकाबीच बोलिदिएकोमा एसएएचआरका पूर्वसदस्य समेत रहेका भुटानी मानव अधिकारवादी नेता रिजालले खुसी व्यक्त गरेका छन्। ‘बोलिदिने कोही नभए जस्तो अवस्था थियो,शरणार्थीहरूको पीडा बोलिदिएकोमा धन्यवाद दिन्छु,’रिजालले भने,’उसले गरेको सिफारिस अनुसार नेपाल सरकारले तत्काल भुटानसँग वार्ता गरोस्।’

एसएएचआरले नेपाल सरकारलाई दिएको सिफारिसमा लेखिएको छ,’भुटानी शरणार्थी र भुटानको जेलमा बन्दी बनाएका नागरिकको समस्या अध्ययन गर्न, बुझ्न र भुटान सरकारसँग पुनः वार्ता गर्न परराष्ट्र मन्त्रालयमा स्थायी कार्यदल गठन गर्नु।’

भुटानी मानव अधिकारवादी नेता रिजालले एसएएचआरको सिफारिसको एउटा बुँदामा भने असहमति जनाएका छन्। नेपालका शिविरमा जन्मेका शरणार्थी बालबालिकाहरूलाई नागरिकताको अधिकार दिने सम्भावनाको अध्ययन गर्न एसएएचआरले गरेको सिफारिसमा भने अधिकारवादी नेता रिजालले दुख मनाउ गरेका छन्।

यसलाई रिजालले नेपाली नागरिकताको ललिपप देखाएर भुटानी राजालाई उन्मुक्ति दिने प्रयास भनेका छन्। ‘यिनीहरू किन भुटान फर्कन नपाउने भए? त्यसो हो भने जहाँजहाँ यिनीहरूका पुर्खा गइसकेका छन्, त्यही सम्मान, त्यही आधारमा उनीहरू पनि त्यही देशमा जान पाउनु पर्छ,’रिजालले भने,’तर बीच बाटोमा जहाँ हामीले निसाफ पाउनु पर्ने थियो, त्यहाँ मानवताको बर्खिलाप गर्न पाइँदैन।’

नेपालमा शरण लिएका शरणार्थीहरूलाई अप्ठ्यारोमा पारेर, अन्योलमा पारेर, समस्या समाधान तिर नगइदिएर नेपाली नागरिकता दिने कुरा कसैले पनि नगरिदिन रिजालले बिन्ती गरेका छन्। ‘जसलाई आफ्ना बाबाआमा कहाँ जन्मेका थिए भन्नेसम्म थाहा छैन, यी निरीह बोल्नै नसक्ने, कहीँ केही नभएका टुहुरा बालबालिकालाई उनीहरूको भविष्यको अधिकारलाई सुनिश्चित गर्नुको सट्टा उनीहरूको खुट्टा काटेर भुटान राजालाई उन्मुक्ति दिने काम राम्रो हुँदैन,’रिजालले भने,’नेपाली नागरिकता दिए उनीहरूको भुटान फर्कने हक समेत सकिन्छ। हामी नेपाली नागरिकता चाहँदैनौ। हाम्रो यहाँ केही छैन। हामी हाम्रो देश जान्छौँ।’

तेस्रो देश पुर्नवास हुन बाँकी भुटानी शरणार्थीहरू शिविरमा कष्टकर जीवन बिताएर बस्न विवश छन्। उनीहरूको भुटान फर्कने बाटो बन्द गराउने प्रयास स्वरूप यसअघि शिविरको नाम नै परिवर्तन गरेर बस्ती नामकरण गरिसकिएको छ। सुरुमा शिविरको नाम परिवर्तन गर्ने र अन्तिममा नेपाली नागरिकता दिएर भुटान फर्कन पाउने हक खोस्ने कामको शरणार्थीहरूले खबरदारी गरेका हुन्।

नाम परिवर्तनबारेको यो समाचार लिङ्क खोल्नुहोस् : भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको चिन्ता, शिविरको नाम परिवर्तनले त्रसित

भुटानी राजाले कुरा नगरिदिएको, यहाँ लिङ्गरिङ भएर रहिरहेको अवस्थामा साउथ एसिया ह्युमन राइट्सले नेपाली नागरिकता बाहेकका विषयमा चासो देखाउनुलाई भने शरणार्थी अगुवाहरूले आभार व्यक्त गरे। स्वागत गरे।

नेपालको शिविरमा जन्मेका शरणार्थीका सन्तानलाई नेपालको नागरिकता दिने कुरा स्वीकार्य नहुने रिजालले बताए। ‘भुटानले ससम्मान यी मान्छे लैजानु पर्छ भनिदिनुहोस्,यहाँ जन्मेका मान्छेलाई नागरिकता दिनु भन्ने कुरा नगर्दिनुहोस्,’उनले भने,’यो कुरा हामीलाई कदाचित स्वीकार्य छैन। सह्य पनि छैन।’

रिजालले नेपालमा आफूहरू नागरिकता माग्न नआएको बताए। ‘किन नागरिकता लिने? नागरिकता माग्न आएका हौँ र यहाँ? हामी त भुटान फर्कन पाउँछौ, हामी माथि अन्याय अत्याचार भयो भनेर भारत पसेका मान्छे,’उनले भने,’भारत जस्तो शक्ति लगाएर जबरजस्ती नेपालमा खेदेको छ। भारत न्यायका पक्षमा एक शब्द बोल्दैन,त्यसमाथि नेपाली नागरिकता दिने कुरा कहाँबाट आयो?’

नेपाल र भुटानको वार्ता हुँदा हुँदै बीचमै कुनै निष्कर्ष निकाल्न नसक्दा ठुलो सङ्ख्यामा भुटानी शरणार्थीहरू तेस्रो देश पुर्नवास भए। भुटान नै फर्कन्छौँ, भनेर जति नेपालमा बसेका छन्। उनीहरू भुटानकै कारण फर्कन नपाइरहेको अवस्था छ।

भुटानी शरणार्थीहरू अप्ठ्यारो अवस्थामा भएको बेला भुटानका वर्तमान राजा जिग्मे खेसर नामग्याल भने मुखले रामराम बगलीमा छुराको व्यवहार गरिरहेका छन्। उनी मुखले आफू नेपालमा जन्मिएको, नेपाली प्रति माया मोह रहेको बताउँछन्। तर, तिनै राजा काठमाडौँ आएको बेला शिविरमा बसेका आफ्ना नागरिकबारे बेखबर बनिदिन्छन्।

भुटानी मानव अधिकारवादी नेता रिजाल भन्छन्,उनलाई थाहा छ कि नेपाल र भुटानबीच यो कुरा चाहिँ थाँती छ। यो कुरालाई मैले सम्बोधन गर्नुपर्छ, मेरो दायित्व हो। हिजो बाबाको पालामा अन्याय, अत्याचार भयो। यी मान्छेलाई ससम्मान लान्छु, या यी मान्छेको दुख पीडा के छ बुझ्छु भनेर नेपाल सरकारसँग स्वतः कुरा गरिदिनुहुन्छ भन्ने बहुत ठुलो आशा थियो।

तर, रिजालको आशा निराशामा मात्रै परिणत भएन। भुटानी राजा काठमाडौँ उत्रने दिन रिजालको निवास सुरक्षाकर्मीले घेरा हाल्यो। बाहिर निस्किएर कालो झन्डा पो देखाइहाल्छन् कि भनेर रिजालको निवास वरपर सुरक्षाकर्मी परिचालन गरिए। जुन कल्पना रिजालले गरेका थिएनन्। राजालाई भेटेर बिन्ती चढाउने रिजालको सपना सपनामै सीमित बन्यो।

रिजालले आफूहरूको लुटिएको जमिनमा मेगा सिटी बनाउन धनाढ्य खोज्दै हिँड्ने भुटानी राजा जिग्मेको विरोध गरेका छन्। ‘भुटानी शरणार्थीको कुरा ननिकाल्ने, नेपालका केही धनाढ्य मान्छेहरूलाई भेट्ने, ती धनाढ्य मान्छेहरूलाई जहाँबाट निकालिएर भुटानी शरणार्थीहरूले दुख पाएर बसेका छन्, ती मान्छेबाट लुटिएको जमिनमा लगानी गर्न लगाएर नाङ्गो नाच गर्न खोजे,’रिजालले भने,’यो ठुलो अपमान, बेइज्जती र भुटानी शरणार्थीमाथि अन्याय, अत्याचार हो।’

जस-जसको जग्गा जमिन भुटानमा थियो, त्यो जमिन हडपेर भुटानले आज देखादेखी विश्वका अगाडी त्यहाँ रत्यौली खेलिराखेको उनले उल्लेख गरे। भुटान नै जान पाउनु पर्ने सुरुवातदेखिको अडानमा रिजाल अडिग छन्। भुटानी शासकले १० वर्ष जेल राखेर छुटेपछि श्रीसम्पत्ति सबै हडपेर रिजाललाई देश निकाला गर्‍यो। रिजाल तीन दशक भन्दा बढी समयदेखि नेपालको शरणमा छन्। नेपालले शरणार्थी नेताको मान्यता दिएका नेता हुन रिजाल।

तेस्रो देश जसले विश्वमा हस्तक्षेप गरे। भुटानभित्रको समस्या समाधान गरिदिएनन्। नेपालमा शरण लिएका भुटानी शरणार्थीहरूलाई जुन-जुन देशले उठाएर लगेका छन्, उनीहरूले जवाफ दिनुपर्ने माग रिजालले गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.